आरकेडी होल्डिङ्गस पनि आइपीयोमा जाने



पर्वत।

आरकेडी होल्डिङ्गस कम्पनी लिमिटेडले पनि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्बसाधरणका लागि आइपीओ जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीको पुँजी वृद्धि गर्ने तथा स्थानीयवासी तथा सर्वसाधारणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी गर्ने छ । यस बाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार सेयर जारी गर्ने भएको छ । कम्पनीले दुई वर्ष भित्रमा नै आइपिओ जारी गर्न साधारणसभाले स्थापनाकाल देखि रियल स्टेट र पर्यटन पूर्वाधारमा लगानी गर्दै आएको कम्पनीको अधिकृत पुँजी २ अर्ब रहेको छ भने जारी पुँजी १ अर्ब ५० करोड रहेको छ ।

कम्पनीमा संस्थापक शेयर पुँजी ७८ प्रतिशत रहेको छ । आरकेडी  होल्डिङ्ग अन्तर्गत बन्दीपुर एण्ड टुरिजम लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबलकार र पाँचतारे होटल, स्काईवाक, बन्जी, जीपलाईन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ भने पञ्चासे केबलकार एण्ड टुरिजम लिमिटेड मार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीय स्थल पञ्चासेमा र बुढीमा छिम्केश्वरी केबलकार लिमिटेड मार्फत तनहुँको छिम्मेश्वरीमा केबलकार निर्माणको प्रक्रिया अगाडी बढाएको छ । यसैगरी बिजबजार लिमिटेड,  टुरिजम इन्भेस्टमेन्ट फण्ड लिमिटेड, लर्ड बुद्ध टुरिजम गार्डेन लगायतका कम्पनी होल्डिङ्ग अन्तर्गत सञ्चालित छन् ।

आरकेडी होल्डिङ्गस् अन्तर्गतकै कम्पनी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले आइपिओ निष्कासन गर्न एसबिआई मर्चेन्ट्स कम्पनी सँग सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्