यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद र जरिवाना

२७ विद्यार्थीलाई जनही १० हजारका दरले क्षतिपूर्तिको फैसला



काभ्रे। 

महाभारत गाउँपालिका वडा नम्बर ३ सिद्धेश्वर माविमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टले छात्रा विद्यार्थीहरुलाई अश्लील सामग्री देखाएको अभियोगमा परेको मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत काभ्रेपलाञ्चोकले शिक्षक विष्टलाई १ वर्ष ३ महिना कैद सहित १५ हजार जरिवानाको फैसला सुनाएको छ भने ४ सय रुपैयाँ पीडित राहतकोषमा जम्मा गर्न भनेको छ ।

त्यस्तै पीडित भनिएका बालबालिकाहरुलाई जनही १० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको छ । कक्षा ८ मा अध्ययनरत २७ जना छात्रा छात्रहरुलाई आफ्नो मोबाइलबाट यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको हो ।

यस अघि धरौटीमा रिहा भएका विष्ट कसुर सजाएँ निर्धारण भएसँगै फरार छन् । कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षक विष्टले आफ्नो मोबाइलमा भएका अश्लील श्रब्यदृश्य सामाग्री कक्षा कोठा भित्रै देखाएका थिए ।

२०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठसँग सम्बन्धित सामाग्री देखाएको बयान दिएका थिए । बाल यौन दुर्व्यवहार अभियोगमा उनलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले उक्त सजाएँ निर्धारण गरेको हो ।

जिल्लामा केही दिन भूमिमाता विद्यालयका शिक्षकले पनि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यौनजन्य गतिविधि गरेको भन्दै विद्यालयमा उजुरी परे पछि शिक्षक श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका जनप्रतिनिधि, अभिभावकहरुले कागज गरेर शिक्षकलाई माफी दिएका छन् ।

प्रहरीले मिलापत्रको कागज, बालबालिकाहरुले विद्यालयमा शिक्षिकासँग शिक्षकले गरेको दुर्व्यवहारका बारेमा गरेको मौखिक उजुरीको अडियोका बारेमा छानबिन गरिरहेको बताएको छ । पछिल्लो समय विद्यालयहरुमा बालबालिकाहरुमाथि शिक्षकहरुले यौनजन्य व्यवहार गरेका घटनाहरु बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्