फिडेमास्टर सुजेन्द्रको निधन



काठमाडौं । नेपाल बुद्धिचाल संघका पूर्व उपाध्यक्ष ,मखन चेस क्लबका संस्थापक अध्यक्ष, मिलन सार व्यक्तित्व राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठको ५६ बर्षको उमेरमा शुक्रबार दुखद निधन भएको छ । बुद्धिचाल खेल विकासको निरन्तर क्रियाशील व्यक्तित्व श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पिडित थियो ।

लामो समयसम्म बुद्धिचाल खेलाडी रहेर उहाँले नेपालको प्रतिनिधित्व गरि इटालीमा ३७ औं ओलम्पियाड, जर्मनीमा ३८ औं ओलम्पियाड र नर्वेमा ४० औं ओलम्पियाडमा सहभागी रहेका थिए । त्यसैगरी श्रीलंकामा सम्पन्न भएको एशियन जोनल ३.२ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरि फिडे मास्टर टाइटल हात पारे भने बंगलादेशमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट १० भित्र रहेर पुरस्कार हात पार्न सफल भए।

लेबनान, युएई र इन्डोनेसियामा सम्पन्न एशियन सिटिजमा नेपाली टिमको प्रतिनिधित्व गरे भने न्युजिल्यान्डमा भेट्रान चेस च्याम्पियनसिप , अमेरिकामा मार्सल चेस च्याम्पियनसिपमा पनि सहभागी भएका थिए । उहाँले नेपालको बुद्धिचाल खेल इतिहासमा पहिलो पटक रेटिङ प्रतियोगिता सुरुवात गरेका थिए।

प्रतिक्रिया दिनुहोस्