एक सिजनपछि बर्नलेको बढुवा



लन्डन, (एजेन्सी) । रेलिगेसनमा परेको एक सिजनपछि नै बर्नले इंग्लिस प्रिमियर लिगमा बढुवा हुन सफल भएको छ ।

च्याम्पियनसिपमा मिडल्सब्रगलाई २–१ ले पराजित गर्दै बर्नले सात म्याच खेल्न अगावै प्रिमियर लिगमा बढुवा हुन सफल भएको हो । बर्नले गत सिजन १८औं स्थानमा रहँदै रेलिगेसनमा परेको थियो । रिभरसाइड स्टेडियम मिडल्सब्रगमा शुक्रबार राति भएको खेलमा बर्नलेको जितमा एस्ले बार्नेस र कोनर रोबर्ट्सले गोल गरे । घरेलु टोली मिडल्सब्रगका चुवा अकपोमले एक गोल फर्काए ।

खेलको १२औं मिनेटमा एस्ले बार्नेसको गोलबाट बर्नलेले १–० को अग्रता लिन सफल भएको थियो । उनले जोश ब्राउनहिलको पासलाई सदुपयोग गरेका थिए । ४८औं मिनेटमा चुवाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६६औं मिनेटमा कोनर रोबर्ट्सले नाथन टेलाको पासमा गोल गर्दै बर्नलेको जित पक्का गर्दै टोलीलाई प्रिमियर लिगमा बढुवा गराए ।

यस जितले शीर्षस्थानमा रहेको बर्नलेको ३९ खेलबाट सात अंक पुगेको छ । अब बर्नले आफ्नो सबै सात खेलमा पराजित भएपनि तेस्रो स्थानमा रहेको लुटनले भेट्ने छैन । लुटनको ४० खेलबाट ६८ अंक छ । बर्नलेसँगको हारसँगै मिडल्सब्रगको शीर्ष डिभिजनमा बढुवा हुने सम्भावना न्युन बनेको छ । दोस्रो हार बेहोरेको मिडल्सब्रग ४० खेलबाट ६७ अंक जोडेर चौथो स्थानमा रहेको छ । अब एक टोली शीर्ष डिभिजनमा बढुवा हुनेछ ।

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका बेल्जियन पुर्व डिफेन्डर भिन्सेन्ट कोम्पनीले आफ्नो प्रशिक्षणमा बर्नलेलाई प्रिमियर लिगमा पुनः बढुवा गराउन सफल भए । बेल्जियन क्लब एन्डरलेक्टबाट प्रशिक्षण करिअर सुरु गरेका ३६ वर्षीय कोम्पनी सन् २०२२ मा बर्नलेको मुख्य प्रशिक्षक बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्