वीर गणेशमान सिंह बक्सिङमा बागमती र एपीएफ च्याम्पियन



काठमाडौं । बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेका छन् ।

बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको प्रतियोगितामा बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा समावेश पुरुषतर्फ एपीएफ, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाल प्रहरी र लुम्बिनीले पनि समान १–१ स्वर्ण जिते ।

बागमती रजतका आधारमा पहिलो भएको हो । एपीएफले स्वर्ण बाहेक २ रजत र १ कांस्य जितेको थियो । महिलामा पनि ६ वटै स्पर्धामा भिडन्त भएकोमा एपीएफले ३ स्वर्ण, १ रजत र १ कांस्य जित्दै टिम च्याम्पियनको ट्रफी चुम्यो । बागमतीले २ स्वर्ण तथा प्रहरीले १ स्वर्ण हात पारे ।

वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रविन थापा उत्कृष्ट खेलाडी घोषित भए । महिलामा आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा दुई ‘बाउट’ जितेर नेपाली बक्सिङमा इतिहास रचेकी अन्जनी तेली उत्कृष्ट खेलाडी चुनिइन् । बागमतीकाद्वयले उत्कृष्ट भएवापत समान २५–२५ हजार नगद पुरस्कार पाए । रविन र अन्जनी आ–आफ्नो स्पर्धाका स्वर्ण विजेता हुन् ।

प्रतियोगिताको अन्तिम दिन १२ वटै स्वर्णको छिनोफानो भएकोमा पुरुष ५१ केजी तौलसमूह फाइनलमा रविन थापाले फाइनलमा एपीएफका आश तामाङलाई पराजित गरे । ५७ केजीमा कोशीका सुरेन्द्र राई पहिलो भए । उनले फाइनलमा बागमतीका शुलभ मालीलाई हराए । ६३.५ केजीमा साग स्वर्णधारी प्रहरीका भूपेन्द्र थापा पहिलो भए । उनले फाइनलमा एपीएफका सोनाम सार्कीलाई पाखा लगाए ।

७१ केजी फाइनलमा सुदूरपश्चिमका भरत चन्दले कोशीका प्रशान्त दाहालमाथि जित रच्दै शीर्ष स्थानमा रहे । ८० केजीमा लुम्बिनीका हेमराज रावलले बाजी मारे । उनले फाइनलमा बागमतीका मनोज तामाङको चुनौती पन्छाए । ९२ केजी फाइनलमा एपीएफका रविन नेपालले बागमतीका उमङ महर्जनलाई हराउदै स्वर्ण चुमे ।

महिला ५० केजीमा एएसबीसी यु–२२ बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास कायम गरेकी बागमतीकी सुष्मा तामाङ पहिलो भइन् । सुष्माले फाइनलमा मधेश प्रदेशकी अस्मिता दुवाललाई निराश पारिन् । ५४ केजीमा बागमतीकी एन्जनी तेलीले फाइनलमा एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै पहिलो बनिन् । ५७ केजीमा प्रहरीकी निशा तामाङले स्वर्ण जित्न बागमतीकी पेमा शेर्पालाई पाखा लगाइन् । ६० केजीमा एपीएफकी संगिता सुनुवारले पहिलो स्थान कब्जा गरिन् । संगिताले फाइनलमा बागमतीकी हेमा राईलाई पाखा लगाइन् ।

महिला ६६ केजीमा एपीएफकी विनिता थापा मगर तथा ७५ केजीमा एपीएफकी सरस्वती राना मगरले पहिलो स्थान हात पारे । विनिताले बागमतीकी निश्मा गुरुङ तथा सरस्वतीले कोशीकी त्रिशा जबेगुलाई फाइनलमा पन्छाए । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७.५–७.५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, आयोजक गणेशमान सिंह स्पोर्ट्स समितिका संयोजक सन्जिव तुलाधर, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले गरे ।

नेपाल बक्सिङ संघको प्राविधिक सहयोगमा भएको पाँचदिने प्रतियोगितामा पुरुष÷महिलामा समान ५४–५४ गरी १ सय ८ खेलाडीले सहभागिता जनाएको आयोजक समितिका सदस्य राजन खत्रीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्