पर्यापर्यटनबाट नगरलाई समृद्ध बनाउँछौं



खेटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ शुभाकर पौडेल । प्रस्तुत छ, पालिका केन्द्रित भएर जिल्ला सम्वाददाता रामधन राईले उहाँसँग गरेका कुराकानीको सम्पादित अंश 

विकास निर्माण र सेवा प्रवाहलाई कसरी अगाडि बढाइरहनुभएको छ ?

नगरपालिकाले योजनाबद्ध ढंगले विकास निर्माण र सेवा प्रवाहको कार्य गर्दै आएको छ । नगरसभाले स्वीकृत गरेको वार्षिक नगर विकास योजनाहरु कार्यान्वयन गर्न वार्षिक कार्य सञ्चालन तालिका निर्माण गरिएको छ । सोही तालिकालाई अनुसार गर्दै विकास निर्माण कार्यहरु गरिँदै आएका छौं । नयाँ योजनाहरुको तर्जुमा र विकासका लागि केन्द्रीय निकायले लागू गरेका ऐन नियम, कार्यविधि तथा स्थानीय विधि र पद्धतिलाई पालना गर्दै तोकिएका सर्त समेतको अभ्यासबाट नगरलाई सभ्य र समृद्ध बनाउने गन्तव्यतर्फ नगर अगाडि बढिरहेको छ ।

बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको ?

नगरको आवधिक योजना अनुसार वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण हुने र यसरी निर्माण भएको योजना कार्यक्रम सञ्चालन गर्न वार्षिक कार्यतालिका बनाइएको छ । यसै कार्यतालिकालाई पालन गरेर तोकिएको समयमा अपेक्षित गुणस्तर कायम हुने गरी नगर तथा वडास्तरका आयोजना कार्यान्वन गर्दै लगिएको छ ।

नगरपालिकालाई समृद्ध र नमुनायोग्य बनाउन विशेष के कार्यक्रम ल्याउनुभएको छ ?

जादुमय शैलीमा नगरलाई समृद्ध र नमुनायोग्य बनाउन सकिँदैन । जसका लागि दीर्घकालीन सोचसहितको योजना र कार्यक्रम चाहिन्छ । दीर्घकालीन सोचलाई आवधिक योजना र वार्षिक कार्यक्रमले योगदान गर्दै जाने हो । नगरको दीर्घकालीन सोच सभ्य र समृद्ध नगर बनाउने छ । यसका लागि क्षेत्रगत नीति र कार्यक्रममा समेत संगति मिल्नुपर्छ । नगरले विभिन विषयका विज्ञहरुलाई समेटेर थिंक ट्यांक निर्माण गरेको छ । लगानी उत्पादन रोजगारीका क्षेत्रलाई प्राथमिकता राखी यिनै क्षेत्रको माध्यमबाट नगरलाई सभ्य र समृद्ध बनाउँछौं ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कतिको संवेदनशील भएको पाउनुभएको छ ?

विधि र पद्धतिलाई आत्मसात गर्दै उच्च जनअपेक्षालाई सम्बोधन गर्न जनप्रतिनिधिहरु संवेदनशील हुनुहुन्छ । विकास र सेवा प्रवाहमा पनि उहाँहरू चिन्तित नै देखिनुहुन्छ ।

प्रशासनिक नेतृत्वको हैसियतले जनप्रतिनिधिसँग कसरी सहकार्य गरिरहनुभएको छ ?

नगरपालिका भौतिक स्रोत, मानवीय साधन र प्रविधिलाई समेत संयोजन गर्दै काम गरिरहेका छौं । नागरिक सन्तुष्टिलाई केन्द्रमा राखेर संयुक्तरूपमा काम गरिरहेका छौं । नगरको कार्यसम्पादनलाई अझ प्रभावकारी तुल्याउन नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृत र शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरी सम्पादित कार्यहरुको मासिक प्रतिवेदन लिने, सम्पादित कार्यहरुको निरन्तर मूल्यांकन गरी देखिएका कमी–कमजोरी सुधार गर्न गरेका छौं ।

विकास निर्माणमा जनसहभागिता कतिको पाउनुभएको छ ?

प्रचलित कानुनले निषेध गरेका बाहेकका १ करोडसम्मका आयोजना कार्यक्रम प्रायः उपभोक्ता समितिमार्फत नै गरेका छौं । उपभोक्ता समितिबाट निर्माण हुने योजनामा उपभोक्ता समिति गठनदेखि आयोजनाको मर्मत सम्भार गर्ने चरणसम्म उनीहरुको सहभागिता अनिर्वाय हुन्छ । अनुशिक्षण, सचेतना जस्ता कार्यक्रममा जनसहभागिता हुने गरेको छ ।

तपाईंको स्थानीय तहमा बेरुजु र सार्वजनिक खरिदको अवस्था के कस्तो छ ?

संघ, प्रदेश तथा स्थानीय तहका प्रचलित कानुनको पालना गर्दै आर्थिक कारोबार गर्दै आएका छौं । सार्वजनिक खरिद ऐनको परिपालना गरी मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा निर्माणकार्य गरिँदै आएका छौं । ऐन, नियमको परिपालना गर्दै आर्थिक कारोबार गर्दा पनि बेरुजु हुने गर्छ । असूलउपर गर्नुपर्ने, नियमित गर्नुपर्ने, पेस्की लगायतका बेरुजु छ ।

बेरुजु घटाउन के गर्नुभएको छ ?

बेरुजुको किसिम अनुसार कार्यालयले आवश्यक कागजात प्रमाण संकलन गरी सम्परीक्षण गरेर बेरुजु न्यूनीकरण गर्ने प्रयास गरेका छौं ।

बेरुजु घटाउने अभ्यासमा कतिको सफल हुनु भएको छ ?

बेरुजु शून्य बनाउने कार्य कठिन छ तर असम्भव छैन । विगतमा भन्दा बेरुजु घटाउने कार्यमा अहिले सफल भएका छौं । तथापि, शून्य बनाउने सफलता भने मिलेको छैन ।

पालिकामा मुख्य समस्या के छ ?

मुख्यतः नगरपालिकासँग आफ्नो आन्तरिक आयस्रोत न्यून छ । जनशक्ति पनि पर्याप्त छैन ।

स्थानीय तहले प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कसरी स्थापित गरिरहेको छ ?

सहकारीता, सहअस्तित्व, समन्वय र पारस्पारिक सहयोगको आधारमा प्रचलित विधि, पद्धति र अभ्यासलाई आत्मसात गर्दै संघ र प्रदेश सरकारसँग अन्तरसम्बन्ध स्थापित भइरहेको छ ।

संघीय शासन सफलताका लागि स्थानीय तहको भूमिका कस्तो हुनुपर्दछ ?

संघीयता कार्यान्वयन गर्ने महत्वपूर्ण अंग स्थानीय तह हो । संघ र प्रदेशसँग समन्वय सहकार्य गर्दै सहअस्तित्वलाई समेत स्वीकार गरी आफ्ना अधिकार क्षेत्रभित्रका कार्य सफलतापूर्वक सम्पादन गर्न सक्दा संघीय शासन प्रणालीलाई सहयोग पुग्छ । जनताको नजिक रहेर सेवा दिने स्थानीय तहहरुको कार्यसम्पादन अपेक्षित भएन भने व्यवस्थाप्रति दोष देखाउने काम नागरिक तहबाट हुन्छ । सार्वभौमसत्ता सम्पन्न नागरिकलाई सन्तुष्ट पार्ने गरी प्रत्येक स्थानीय तहले सेवा दिन सक्दा नै संघीय शासन प्रणाली सफल रूपमा सञ्चालन भएको मान्न सकिन्छ । हामीले सोही अनुरूप काम गरिरहेका छौं ।

तपाईंको स्थानीय तहलाई देशभरमा चिनाउन विशेष के योजना ल्याउनुभएको छ ?

हाम्रो पहिचान धार्मिक स्थल हलेसी हो । हाम्रो नगरपालिका हलेसीसँग जोडिएको छ र करिव एक घण्टाको यात्रामा हलेसीदेखि दिक्तेल पुग्न सकिन्छ । हलेसीको नजिकै यस नगरपालिकाको वडा नं १४ बुइपामा १ सय फिटभन्दा अग्लो यलम्बरको मूर्ति स्थापित हुँदै छ । हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने यस मूर्तिले नगरपालिकालाई चिनाउने काम गर्नेछ । त्यसै गरी, दिक्तेलको कालिका भगवती मन्दिर क्षेत्रलाई नगरपालिकाले फूलैफूलको पहाड बनाउन गुरुयोजना तयार गरी आगामी वर्षदेखि कार्यान्वयन गर्दै छ । त्यसको अलवा नगरपालिकाभित्रका सबै वडा बस्तीहरुलाई फूलैफूलले सजाउने नीति तय गरेका छौं । आगामी वर्ष जिल्लाभित्रका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्वका स्थानहरुलाई समेटी चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम बनाएका छौं । कालिका भगवती, यलम्बर पार्क तथा भुलभुले क्षेत्रलाई पर्यापर्यटनको माध्यमबाट एक–आपसमा जोडर नगरपालिकालाई चिनाउने काम गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्