खरको छानोमुक्त बनाउन ४५ परिवारलाई जस्तापाता



हेटौंडा ।

वडा कार्यालयको सेवा लिनसमेत ३ घण्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाका स्थानीयले घरघरमै स्थानीय तहको सेवा प्राप्त गरेका छन् ।

एकीकृत घुम्ती शिविरमार्फत् पालिकाले सबै किसिमका सेवा घरमै पाएपछि दंग परेका छन् । पालिकाले विभिन्न वडाहरु लक्षित गरी फागुन २९ गतेदेखि सुरु गरेको एकीकृत घुम्ती शिविरमा करिब ६ हजार स्थानीयले विभिन्न किसिमका सेवा लिएका छन् ।

आमनागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले पालिकाले घरघरमै पुगी घुम्ती शिविर गरेको हो । घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत्रुपमा भुक्तानीसम्म सेवा पाएपछि स्थानीय खुसी छन् ।

‘सेवा लिने सबैको अधिकार–घरघरमा स्थानीय सरकार’ भन्ने नारासाथ गाउँपालिकाले फागुन २९ गते ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवा सुरु गरेको थियो । विभिन्न वडालाई केन्द्रित गरी ४ स्थानमा पालिकाले एकीकृत शिविरमार्फत सबै प्रकारका सेवा दिएको थियो । बिहीबार राक्सिराङ–१ र २ नम्बर वडालाई केन्द्रित गरी १ नम्बर वडाको दुंगुमा एकीकृत शिविर गरिएको थियो ।

शिविरमा एमबिबिएस डाक्टरसहित स्वास्थ्य सेवा र नि:शुल्क औषधि वितरण, पशुका औषधि वितरण, विभिन्न किसिमका औषधि नि:शुल्क वितरण गरिएको थियो । सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्ध औषधिसमेत नि:शुल्क उपलब्ध गराइएको थियो । छुट्टाछुट्टै शिविरमा करिब २ हजार जनाले स्वास्थ्य जा“च सेवाका साथ नि:शुल्क औषधि प्राप्त गरेका थिए ।

स्वास्थ्य सेवाअन्तर्गत गर्भवती जाँच भिडियो एक्सरे, क्षयरोगको खकार जा“च, परिवार नियोजनको अस्थायी साधन आइयुसीडी र इम्प्लान्ट लगाइएको थियो । आयुर्वेद सेवातर्फ करिब ७ सय ५० जनाको जाँच तथा औषधि वितरण गरिएको पालिकाले जनाएको छ ।

पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोली गाउँमा सेवा दिन पुगेको थियो । ज्येष्ठ नागरिक, अशक्त तथा हिड्न नसक्ने बिरामीको घरमा पुगेर स्वास्थ्य जाँच र नि:शुल्क औषधिसमेत व्यवस्था गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । शिविर अवधिभर करिब ५० जना अशक्त नागरिकको घरमा पुगी उपचार गर्नुका साथै नि:शुल्क औषधि वितरण गरिएको थियो ।

खरको छानोमुक्त अभियानअन्तर्गत ४५ परिवारलाई घरमा पुगेर जस्तापाता हस्तान्तरण गरिएको एकीकृत शिविरमा व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र, गरिब घरपरिवार परिचयपत्र वितरण गरिएको थियो । शिविर अवधिभर १० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो भने करिब ४ सय जनालाई गरिब घरपरिवार परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

विउविजनतर्फ १ हजार जनाले सेवा दिएका छन् भने पशुपक्षीतर्फ करिब १ हजार ३ सय जनाले सेवा लिएको जनाइएको छ । १७ कृषक समूहलाई हाते ट्याक्टर वितरण गरिएको छ । पालिकाले बिजुली नपुगेका ठाउ“मा ६० भन्दा बढी परिवारलाई सोलार सेट घरमै पुर्‍याइदिएको छ ।

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारी घरमै पुगेर पोषिलो आहार तथा उपयोगी सामग्री हस्तान्तरण गर्नुभएको थियो । शिविर अवधिभर करिब ६० ज्येष्ठ नागरिकलाई सम्मान तथा पोषिलो आहार वितरण गरिएको पालिका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो ।

सम्पन्न योजनाको स्थलगत अनुगमन गरी भुक्तानी दिने कार्यअन्तर्गत ६ उपभोक्ता समितिलाई स्थलगत्रुपमा भुक्तानी दिइएको पालिका योजना तथा अनुगमन शाखा अधिकृत चुननारायण श्रेष्ठले बताउनुभयो । आगामी वर्ष प्रत्येक वडा तथा टोलमा पुगी एकीकृत शिविर सञ्चालन गर्ने गरी योजना बनाइएको पालिका अध्यक्ष मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्