लमजुङका तीन क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व पाउन सकेन



लमजुङ । 

पश्चिम लमजुङको मध्य नेपाल नगरपालिकाका तिन वटा क्याम्पसले अझै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व पाउन सकेको छैन ।
यही चैत ५ गतेको लागि चुनाव तोकिएको क्याम्पसहरुमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियुको चुनाव अनिश्चित बनेको छ ।

मध्य नेपाल नगरपालिका अन्तर्गतका तिन वटा क्याम्पसमा मध्य नेपाल नगरपालिका ६, भोर्लेटारमा रहेको ईशानेश्वर क्याम्पसको नेतृत्वमा एमाले भातृसंगठन अनेरास्ववियुको नेतृत्व, वडा नं. ४, दुइपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पसको नेतृत्वमा काँग्रेस भातृसंगठन नेविसंघको नेतृत्व र वडा नं. ३, सोतीपसलस्थित मङ्गला क्याम्पसको नेतृत्वमा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा स्ववियु गठन गर्ने सहमति भएको थियो ।

चैत ५ गते हुने भनिएको निर्वाचन रोक्नका लागि अघिल्लो दिन नै पत्र लेखेकोमा विद्यार्थीबीच सहमति नजुट्दा स्ववियु गठन प्रक्रिया नै अन्यौल बनेको हो ।

ईशानेश्वर, पुष्पलता र मङ्गला क्याम्पस मध्ये मंगल क्याम्पसमा समस्या देखिएको छ । विद्यार्थी संगठनबीच मंगलमा सभापतिमा नेविसंघ, उपसभापतिमा अनेरास्ववियु क्रान्तिकारी, सचिवमा नेविसंघ र सहसचिवमा अनेरास्ववियुबीच सहमति भइसकेको अवस्थामा राजनीतिक दलबीचको सहमतिले सभापति अनेरास्ववियु क्रान्तिकारीको भागमा परेपछि विवाद बढेको हो ।

राजनीतिक दल र विद्यार्थी संगठनले सहमति गर्ने भनिएता पनि हालसम्म सहमति हुन सकेको छैन । उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकजना मात्रै विद्यार्थी रहेको र यसअघि नै सहमति भइसकेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व स्विकार्न नेविसंघका विद्यार्थी तयार नभएको निर्वाचन अधिकृत उदय कँडेलले जानकारी दिनु भयो ।े नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले मनोनयन दर्ता भने सँगै गरेको र अनेरास्ववियुले एकल गरेका थिए ।

संगठन दर्ता भएपनि सहमति गर्ने भनेपछि नोमिनेशन नै दर्ता नभएको पुष्पलता क्याम्पसका निर्वाचन अधिकृत टीकाराम अधिकारीले बताउनु भयो । बाहिरै सहमति गर्ने भनेर भनेकोमा अहिलेसम्म कुनै सहमति लिएर नआउँदा निर्वाचन प्रक्रिया नै अनिश्चित बनेको उहाँले बताउनु भयो । विद्यार्थीहरु सहमति गरेर फर्कन्छु भनेर गएका कारण उम्मेदवारी दर्खास्त नै नहालेको तर विद्यार्थी भने सहमति लिएर नफर्केको उहाँले बताउनुभयो ।

त्यसतै ईशानेश्वर क्याम्पसमा सहमति गरिएको भनिए पनि विद्यार्थीले यसको ठोस निर्णय दिन नसकेको ईशानेश्वर क्याम्पसका निर्वाचन अधिकृत प्रदीपराज घिमिरेले बताउनु भयो ।  मतदान गर्ने बेलामा सहमति गर्छु भनेपछि मतदान कार्य स्थगित गरेकोमा अहिलेसम्मसहमति लिएर कोही पनि नआएको उहाँको भनाई छ । अनेरास्ववियु क्रान्तिकारी मध्य नेपाल नगरपालिका अध्यष सुरेश लामिछानेले राजनीतिक दलबीचको सहमतिलाई नेविसंघले नमान्दा समस्या आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्