इन्जिनियरिङ लाइसेन्सको पहिलो परीक्षा-विदेशमा पढेर परीक्षा दिएकाहरूको उत्तीर्ण प्रतिशत निकै कम



– ७१ प्रतिशत अयोग्य, ११ जनाको परीक्षा रद्ध
– विदेशमा पढेर परीक्षा दिएका ३ सय ७८ मध्ये ५८ जना मात्र उत्तीर्ण

काठमाडौं । इन्जिनिरिङ काउन्सिलले सञ्चालन गरेको इन्जिनियरिङ व्यवसाय दर्ता परीक्षामा विदेशमा पढेर आएका विद्यार्थीको अवस्था कमजोर देखिएको छ । विशेषगरी भारतलगायत विदेशी मुलुकमा स्नातकसम्म अधययन पूरा गरेका धेरै विद्यार्थी काउन्सिलले सञ्चालन गरेको परीक्षामा अनुत्तीर्ण भएका छन् ।

विदेशमा अध्ययन गरी फर्केका ३ सय ७८ मध्ये ५८ जना अर्थात् १५ दशमलव ३ प्रतिशत मात्र काउन्सिलको परीक्षामा उत्तीर्ण भएका छन् । काउन्सिलले पहिलोपटक चैत १२ र १३ गते लिएको परीक्षामा ७१ प्रतिशतभन्दा बढी अनुत्तीर्ण भएका थिए । १ हजार ९ सय ८१ जनाले उक्त परीक्षा दिएकोमा ५ सय ६५ जना मात्र उत्तीर्ण भएका थिए । परीक्षाका लागि २ हजार ६ जनाले आवेदन दिएकामा झण्डै ५० प्रतिशतले मात्र परीक्षा दिएका थिए । परीक्षामा सहभागीमध्ये ११ जनाले परीक्षाको रोलनम्बर लेख्न छुटाएका कारण उनीहरूको परीक्षा रद्ध गरिएको थियो ।

सय पूर्णाङ्कको परीक्षामा ५० प्रतिशत ल्याए मात्र उत्तीर्ण हुने प्रावधान थियो । परीक्षामा त्रिभुवन विश्वविद्यालयका सय जनाले परीक्षा दिएकोमा ४६ जना अर्थात् ४६ प्रतिशत उत्तीर्ण भएका थिए । त्यसै गरी पूर्वाञ्चल विश्वविद्यालयका ४ सय ७१ जनाले परीक्षा दिएका थिए जसमा १ सय ४१ जना अर्थात् २९ दशमलव ९, पोखरा विश्वविद्यालयका १ हजार १३ परीक्षार्थीमध्ये ३ सय ११ जना अर्थात् ३० दशमलव १ र काठमाडौं विश्वविद्यालयबाट २ जनाले परीक्षा दिएकोका १ जना अर्थात् ५० प्रतिशत उत्तीर्ण भएका थिए । त्यस्तै, मध्यपश्चिम विश्वविद्यालयका ४१ जनाले परीक्षा दिएकोमा ७ जना अर्थात् १७ प्रतिशत उत्तीर्ण भएका छन् । सुदूरपश्चिमबाट भने १ जनाले मात्र परीक्षा दिएका थिए र उनी उत्तीर्ण पनि भए ।

इन्जिनियरिङ परिषद् ऐन २०५५ को पहिलो संशोधन २०७९ ले गरेको व्यवस्थाअनुसार परिषद्ले पहिलोपटक अनुमतिपत्रको लागि परीक्षा सञ्चालन गरेको हो । तथ्याङ्कअनुसार नेपालमा इन्जिनियरिङ विषय पढाइ हुने ६० भन्दा बढी कलेजबाट वर्षेनी ९ हजार विद्यार्थीले इन्जिनियरिङ विषयमा उच्च शिक्षा हासिल गर्नेगरेका छन् । परिषद्का अनुसार अहिलेसम्म शैक्षिक प्रमाणपत्रका आधारमा करिब ७७ हजारले लाइसेन्स लिइसकेका छन् ।

२९ जेठ २०७६ मा दर्ता भएको उक्त विधेयक राष्ट्रिय सभाबाट सोही वर्ष पुस १४ गते पारित भएर फेरि प्रतिनिधिसभामा फर्केको थियो । राष्ट्रिय सभाबाट पारित भएको ३० महिनापछि यसै वर्षको साउन ४ गते प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको थियो । ऐन आएको ८ महिनापछि परिषद्ले परीक्षा सञ्चालन गरेको हो ।

इन्जिनियर सुरज गौतमले लाइसेन्स लिन परीक्षा लिने व्यवस्था महत्वपूर्ण भएको तर परीक्षामा अनुत्तीर्ण परीक्षार्थीको संख्या ह्वात्तै बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । यति धेरै संख्यामा अनुत्तीर्ण के कारणले भए भन्ने विषयमा खोजबिन जरुरी रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘कलेजको पढाइ कमजोर भएर हो वा अन्य के कारणले विदेशका इन्जिनियरिङ कलेजमा अध्ययन गरेर अनुमतिपत्र लिन परीक्षा दिएका विद्यार्थी अनुत्तीर्ण भएका हुन्, सो विषयमा अध्ययन अनुसन्धान गर्नुुपर्छ ।’

यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराइरहेको थियो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषद्ले परीक्षामा उत्तीर्ण भएकालाई मात्र लाइन्सेन्स उपलब्ध गराउने उद्देश्यबमोजिम परीक्षा सञ्चालन गरेको हो । परीक्षा उत्तीर्ण भएर लाइसेन्स प्राप्त इन्जिनियरले मात्र पेसा सञ्चालन गर्न पाउने भएपछि नेपालका इन्जिनियरको विदेशमा समेत महत्व बढ्नसक्ने इन्जिनियर गौतमको भनाइ छ ।

हाल परीक्षामा सहभागी भएका विद्यार्थीले स्नातकसम्मको अध्ययन पूरा गरिसकेका छन् । काउन्सिलले सिभिल, आर्किटेक्ट, कम्प्युटर, इलेन्ट्रोनिक्स, इलेक्ट्रिकललगायतका विधामा परीक्षा लिएको थियो । काउन्सिलले इन्जिनियरिङमा ४० विधा भए पनि पहिलो चरणमा २२ विधाको मात्र परीक्षा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्