वनपाखामा लालीगुराँस फुलेपछि पर्यटकको चहलपहल (तस्बिरसहित)



 म्याग्दी ।

लालीगुराँस भन्नाले हरिया र खस्रा पात हुने तथा गुलाफी रङको झुप्पा फूल फुल्ने एक वृक्षलाई चिनिन्छ । अर्को अर्थमा नेपालको राष्ट्रिय फूल भनेर पनि लालीगुराँसलाई चिन्ने गरिएको छ । यति बेला लेकाली वन क्षेत्रमा गुराँस फुलेको छ । वसन्त ऋतुको आगमनसँगै वनपाखामा लालीगुराँस फुल्न सुरु गरेको हो


लेकाली क्षेत्रको वनजङ्गल क्षेत्रमा गुराँस फुलेसँगै वनपाखा र पहाडहरु रङ्गिएका छन् । वनैभरी राताम्य गुराँस फुलेपछि लेकाली क्षेत्रलाई अहिले जवानी चढेको छ । हरेक समयको फागुनदेखि जेठ महिनासम्म वनजङ्गल क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने गर्दछ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीको वनपाखामा पनि लालीगुराँस फुलेको छ ।

म्याग्दीको अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाको वन क्षेत्रमा गुराँस फुलेको स्थानीयवासीले बताएका छन् । यता बेनी नगरपालिकाको पनि माथिल्लो क्षेत्रको वनजङ्गलमा गुराँस फुलेको छ । लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढ्दै गएको छ । वनपाखामा गुराँस फुल्न थालेसँगै पर्यटकहरुको समेत चहलपहल बढेको छ । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँसहरु पाइने पहिचान भए पनि म्याग्दीको घोडेपानी क्षेत्रमा विभिन्न ८ प्रजातिका गुराँसहरु फुल्ने गरेको अनुमान छ ।

नेपालको राष्ट्रिय फुल लालीगुराँससहित म्याग्दीमा १० प्रकारका गुराँसहरु पाइन्छन् । म्याग्दीका वनमा रातो, सेतो, गुलाफी र कलेजी रङका गुराँसहरु फुल्ने गर्दछ । गण्डकी प्रदेशमा गुराँसको राजधानी भनेर म्याग्दीको घोडेपानी–पुनहिल र राम्चे क्षेत्रलाई चिनिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल र राम्चेमा गुराँसले ठूलो क्षेत्र ओगटेको छ । म्याग्दी जिल्लामा अहिले कुल ३ सय १३ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइने गरेका छन् ।

नेपालमा सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल भनेर संखुवासभा, ताप्लेजुङ र तेह्रथुम जिल्लाको सङ्गमस्थलमा पर्ने तिनजुरे–मिल्के–जलजले (टिएमजे) संरक्षित क्षेत्रलाई मानिएको छ । वसन्त ऋतुमा मनै लोभ्याउने गरी ढकमक्कै फुल्ने लालीगुराँसको साथैमा टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु पुग्ने गर्दछन् । वनपाखामा फुलेको लालीगुराँसलाई पृष्ठभूमीमा पारेर मोबाइलमा सेल्फी खिचेर रमाउन पाइने भएपछि पर्यटकहरुको आकर्षण बढेको हो । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाएर पोष्ट गर्न पाइने भएपछि पर्यटकीय क्षेत्रमा पर्यटकहरुको आकर्षण बढेको छ ।

 

डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फुल फुल्ने विरुवाहरु चाँडै फुल्ने गरेको बताउनुभयो । यस पटक हिउँदको समयमा वर्षा र हिमपात नहुँदा विगतको तुलनामा गुराँस कम फुलेको स्थानीयको अनुमान छ । गुराँस फुलेपछि अहिले म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य पुनहिल–घोडेपानी र महरेडाँडा क्षेत्रमा दैनिकजसो आन्तरिक र बाह्य पर्यटकहरु आउने गरेको इलाका प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्