डराउने पोखरीमा रोशीको पिपलटारबाट ‘लिफ्टिङ्ग’ खानेपानी


काभ्रे। 

साविक डराउने पोखरी गाविस हालको नमोबुद्ध नगरपालिका वडा नम्बर ८ स्थित काशी खण्ड बृहत् खानेपानी आयोजना मार्फत १ हजार ५ सय घर धुरीलाई खानेपानी उपलब्ध गराइने छ । वडा नम्बर ८ डराउने पोखरीका अलावा, वडा नम्बर ७ र ९ का उपभोक्ताहरु पनि यो आयोजनाबाट लाभान्वित हुनेछन् ।

‘उपभोक्ताहरुकै पहलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना मार्फत  नागरिकहरुको हितका लागि सञ्चालन गरिएको हो’– काशी खण्ड बृहत खानेपानी आयोजनाका अध्यक्ष मनोज अधिकारीले भन्नुभयो–‘२६ करोड कुल लागतको आयोजना उच्चकोटी अमर नव आदर्श जेभी कम्पनी मार्फत १८ करोड ४७ लाख रुपैयाँमा सम्झौता भएको छ ।’

दुई वर्ष अवधिमा सम्पन्न हुने गरी सम्झौता भएको आयोजनाको प्रारम्भिक कार्य सुरु भए पनि औपचारिक शिलान्यास नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामाले आईतबार गर्नु भएको छ । २०७९ मसिंर ९ गते सम्झौता गरी मसिंर २२ गतेबाट कार्य प्रारम्भ गरेको उच्चकोटी अमर नव आदर्श जेभी कम्पनीले २०८१ मसिंर २३ गतेसम्म सम्पन्न गर्नेछ ।

नगरपालिका प्रमुख कुन्साङ लामाले समयमै आयोजना निर्माण सम्पन्न गरी नागरिकहरुलाई खानेपानी समस्या समाधान गर्न अनुरोध गर्नु भयो । नगरपालिकाले सुरु गरेको एक घर एक धारा अभियान कार्यक्रमलाई उक्त आयोजनाले पूर्णता दिन सहयोग पुग्ने बताउँदै नगर प्रमुख लामाले दाप्चा क्षेत्रमा सञ्चालन भएका अन्य आयोजनाहरु पनि समयमै सम्पन्न हुने बताउनु भयो ।

नमोबुद्ध नगरपालिकाको पिपलटार रोशीबाट लिफ्टिङ्ग मार्फत डराउने पोखरीस्थित तल्लो हटिया नजिकै कालीकुवा माथि डाँडोमा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ । सोही ट्याङ्कीबाट खानेपानी वितरण हुनेछ ।उक्त ट्याङ्कीको शिलान्यास नगर प्रमुख लामाले गर्नु भएको थियो ।

शिलान्यास कार्यक्रममा उपप्रमुख रत्न लामा, वडा अध्यक्ष शेरबहादुर तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख अतुलेशकुमार कर्ण, इन्जिनियर सुरेश सत्याल, समितिका बेलबहादुर श्रेष्ठ, रामेश्वर अधिकारी, स्थानीय समाजसेवीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, निर्माण ब्यवसायीहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

पिपलटारबाट साढे ६ किमी दुरीको लिफ्टिङ्गमा जिआई पाईप प्रयोग हुनेछ । खोलाको किनारमा समवेल निर्माण हुनेछ । २० मिटर गहिरो समवेलबाट २ मिटर नजिकै फिल्टरका लागि ९ लाख लिटर अट्ने ट्याङ्की निर्माण हुनेछ । सेग्मेन्टेसन प्लान्ट निर्माण हुनेछ । २५/२५ हजार क्षमताका ४ वटा ट्याङ्क निर्माण हुनेछन् । साना ठुला गरी सोही आयोजनामा ११ वटा ट्याङ्की निर्माण हुने आयोजनाका संयोजक सुबास श्रेष्ठले बताउनुभयो ।

‘आयोजनामा ३४ किमी लम्बाईमा एचडिपी पाईप विछ्याईन्छ भने साढे ६ किमी लम्बाईमा जिआई पाईप विछ्याउँदै ११ वटा ट्याङ्की निर्माण गरिन्छ’– उच्चकोटी अमर नवआर्दश जेभीका संचालक सुजन श्रेष्ठले भन्नुभयो–‘आयोजना समय अगावै सम्पन्न गर्ने गरी दैनिक २ सय जना कामदार कृयाशिल छन् । फरक फरक क्षेत्रमा अलग अलग जिम्मेवारीमा कामदारहरु लगाए पनि समयमै विनियोजित बजेट उपलब्ध नहुँदा आयोजना सम्पन्न गर्न कठिन नहुने चिन्ता थपिएको छ ।’

चालु वर्षका लागि उक्त आयोजनाका लागि ७ करोड भुक्तानी गर्नु पर्ने भए पनि रकम अभाव भएको भन्दै सरकारले भुक्तानी गरेको छैन । शुरुमा प्राप्त १० प्रतिशत रकमले २५ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । दाप्चा क्षेत्रमा सुरु भएको वडा नम्बर ७ को २४ करोडको लिफ्टिङ्ग आयोजना रकम अभावकै कारण रोकिएको छ भने वडा नम्बर १० मा सञ्चालन भइरहेको ३० करोडको ग्राविटी आयोजनाको निर्माण कार्य प्रारम्भ भएको छ । आयोजना सम्पन्न गर्न सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको वडा अध्यक्ष शेरबहादुर तामाङले बताउनु भयो ।

 

 

 

 

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।