फेवा महोत्सवले होटलको अकुपेन्सी बढाउने आशा 



कास्की । 

नयाँ वर्षका अवसरमा पोखराको लेक साइडमा आयोजना हुने १८ औँ फेवा नववर्ष महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समितिले काम थालेको छ । यसका लागि समिति अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ ।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेक साइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको छ । लेक साइडका विभिन्न स्ट्रिट अन्तर्गत होटलहरु समेट्ने गरी एरिया संयोजक तोकेर काम अगाडि बढाइएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवका संयोजक समेतका रहेका सुवेदीले सल्लाहकारसहितको बैठकले उपसमितिका संयोजक र एरिया संयोजकहरु तोक्ने काम सम्पन्न गरेको बताए ।

कार्यक्रममा बोल्दै सुवेदीले अहिले होटलहरुमा ८० देखि ९० प्रतिशत अकुपेन्सी हुनुपर्नेमा पर्यटकीय सिजनमा नै आएर १५ देखि २० प्रतशित मात्र अकुपेन्सी हुँदा होटलललाई संचालन खर्च धान्न पनि मुस्किल परेको बताए । गत माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनाका कारण पनि पर्यटनमा नकारात्मक असर परेको उनले स्मरण गराए ।

कार्यक्रममा होटल संघ नेपालका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष भरतराज पराजुलीले पर्यटन प्रवर्द्धन र संस्कृतिको संरक्षण नै महोत्सवको मूल उद्देश्य भएको बताए । यतीको जहाज दुर्घटनाले पर्यटनमा नकारात्मक असर परेको बताउँदै उनले सिजनको वेला होटलको अकुपेन्सी २० प्रतिशत हुनु दुःखद पक्ष भएको भनाई राखे ।

संघका सल्लाहकार विश्वशंकर पालिखेले महोत्सवमा नयाँपन दिन सके यसले सफलता प्राप्त गर्ने बताउँदै चिनिया संस्कृति सम्बन्धी कार्यक्रमलाई पनि महोत्सवमा समेट्न सुझाव राखे । अर्का सल्लाहकार गोविन्दराज पहारीले पर्यटन क्षेत्र संवेदनशिल उद्योग भएको बताउँदै यसलाई जोगाउन सकारात्मक पक्षहरुको उजागर गर्नुपर्ने सुझाव राखे । सल्लाहकार लक्ष्मीवहादुर भट्टराईले सुत्ने वेला बैंकले साँवा र ब्याजको ताकेता गर्दा व्यवसायी अप्ठ्यारोमा परेको दुःखेसो पोखे ।

कोभिड-१९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव आयोजना गरिएको हो । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै खाना, संस्कृति र संगीतको पक्षलाई महोत्सवले मुख्य जोड दिने छ । फेवा तालको संरक्षणमा समेत महोत्सवले सन्देश प्रवाह गर्ने संघको विश्वास छ ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका उपसंयोजक दीपक श्रेष्ठ, महासचिव राजेन्द्र ढकाल र निवर्तमान अध्यक्ष विकल तुलाचनले पनि भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्