कोसी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता नलिने



काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा (माओवादी केन्द्र)ले तत्काल फिर्ता नलिने भएको छ ।

केन्द्रमा १० दलीय सत्ता गठबन्धनले मन्त्रिपरिषद्को पूर्णता नदिएसम्म कोसी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र बहादुर आङ्बो बताउँछन् ।

केन्द्र सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि मात्रै सरकारबाट बाहिरिने निष्कर्षमा पुग्ने आङ्बोले बताए । केन्द्रमा अहिलेसम्म सत्ता समीकरणको रणनीतिक मोडालिटी तयार नभएकोले मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने आङ्बोको भनाइ छ ।

प्रदेश सरकार आफैमा स्वायत्त भएकोले केन्द्रको हस्तक्षेपकारी भूमिकाप्रति मुख्यमन्त्री कार्कीले असन्तुष्टि जनाए । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको वर्षौँ भएको बताउँदै कार्कीले प्रदेशका राजनीतिक दलले स्वतस्फूर्त निर्णय लिन पाउनुपर्ने बताउँछन् । प्रदेश सरकारको निर्णयप्रति केन्द्रले हस्तक्षेप गर्नु उपयुक्त नभएको उनको टिप्पणी छ । यद्यपि सरकार सञ्चालनमा माओवादी केन्द्र लगायतका दलले पूर्वसहमति पालना गर्नुपर्ने कार्कीकाे तर्क छ ।

कोसीमा ९३ प्रदेशसभा सदस्य छन् । दुवै पक्षसँग स्पष्ट बहुमत नभएकोले तत्काल माओवादी केन्द्रले सरकारबाट हात झिक्न नमानेको हुन सक्ने राजनीतिक वृत्तमा चर्चा छ ।

माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले केन्द्रको निर्देशन बेगर सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने बताउँदै आएका छन् । एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोसी प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुई जना मन्त्री सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्