परनिर्भरताको पराकाष्ठा



शिवरात्रिका अवसरमा पशुपति परिसरमा फूलमालाकै द्वार, मालाकै त्रिशूल र मालाकै शिवलिंग बनाएर झिलिमिली बत्तीले झकिझकाउ बनाइएको थियो । फूल र मालाको सजावट देखेर दंग परेका दर्शनार्थी फोटो खिच्न लिप्त देखिन्थे । शिवरात्रि पर्वलाई लक्षित गर्दै रंगरोगन, बिजुली बत्ती तथा फूलमालाको विशेष सिँगारले पशुपति क्षेत्र शोभायमान देखिन्थ्यो । झिलीमिली बत्ती चीनबाट र फूलमाला भारतबाट झिकाएर पशुपति क्षेत्र सिँगारिएको थियो । फूलमालाको सजावटले पशुपति परिसर झकिझकाउ देखिए पनि भारतबाट भित्र्याइएका ती सयपत्रीलगायतका रंगीविरंगी फूलको सौन्दर्यले फूलमा समेत हाम्रो चरम परनिर्भताको सपाट चित्र उतारिरहेको थियो । फूल उत्पादनमा समेत हामी आत्मनिर्भर हुन नसकेकोमा आम नेपाली दर्शनार्थीलाई हीनताबोध भइरहेको थियो । शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि पुग्नेहरुले त्यहाँको फूलमालाको भव्य सजावटबाट मुग्ध हुँदै फोटो खिचेर फेसबुकभरि पोस्ट गरे । केही दिन त पशुपति क्षेत्रको साजसज्जासहितको दर्शनार्थीका फोटाहरुले सामाजिक सञ्जाल रंगिए । पशुपति क्षेत्रको विशेष सजावट देखेर हाम्रो आराध्यदेव पशुपतिनाथप्रति गर्व गर्दै पशुपति विकास कोषलाई धन्यवाद दिनेको जमात पनि ठूलै देखियो । तर पशुपति क्षेत्र सिँगार्न फूलसमेत भारतबाटै भित्र्याउनुपर्ने नेपालको परालम्बनको पराकाष्ठाले जोसुकै नेपालीको मन कुँडिनु स्वाभाविक हो । शिवरात्रिमा सयपत्रीलगायतका फूल र मालाकै लागि नेपालको अर्बौं रकम बाहिरिएको तीतो यथार्थसँगै नेपालको पुष्प व्यवसायको धराशयी अवस्थाले समृद्धिको गुड्डी हाँक्ने सरकारलाई गिज्याइरहेको हुनुपर्ने हो । मारवाडी समाजको भद्दा विज्ञापनसहित माला र बत्तीले सिँगारिएको पशुपति क्षेत्रको मनोरम दृश्यले दर्शनार्थीलाई खुसी बनाए पनि फूलमा समेत आत्मनिर्भर बन्न नसकेकोमा सरकारको कृषि नीतिप्रति नागरिकको आक्रोश बढेको भान भयो । हाम्रो पशुपतिनाथमा भारतकै पुजारी, भारतकै फूलमाला र भारतकै नांगा साधुसन्तहरुको बोलवालाले कहिलेसम्म आधिपत्य जमाइरहने ?

आखिर कहिलेसम्म हामी फूलमा समेत परालम्बी भइराख्ने ? पुष्प व्यवसायमा युवा आकर्षण बढाउन सरकार किन क्रियाशील छैन ? वर्तमान सरकारले पुष्प व्यवसाय अँगाल्न विशेषतः महिलाहरुलाई प्रोत्साहित गर्ने गरी संसद्बाटै सम्बोधन गरी सहुलियत ऋण तथा अनुदानको व्यवस्था गर्न सके केही वर्षमै फूलमा आत्मनिर्भरता बढाउन सकिन्थ्यो । कृषि व्यवसायअन्तर्गत अत्यन्त सहज र सरल व्यवसाय मानिने पुष्प व्यवसाय अन्य बाली उत्पादनका तुलनामा चाँडै प्रतिफल पाउने सजिलो र भर पर्दो व्यवसाय भएकाले यसमा महिलालाई आकर्षित गर्न सके महिलाको आर्थिक अवस्थामा सुधार हुने र फूलमा राष्ट्रको आत्मनिर्भरता पनि बढ्ने भई दोहोरो लाभ लिन सकिन्थ्यो । थोरै लगानी, थोरै मिहिनेत र थोरै समयमै धेरै आम्दानी लिन सकिने पुष्प व्यवसायमा युवालाई आकर्षण गर्ने नीति सरकारले संसद्मा तत्काल सम्बोधन गर्नुपर्छ । भारतको अर्थतन्त्रलाई बलियो बनाइदिन हामीले हरेक उपभोग्य वस्तुसँगै फूलसमेत आयात गरेर नेपालको कस्तो छवि विश्वसामु प्रस्तुत गरिरहेका छौँ ? नेपालजस्तो कृषिउपजका लागि मलिलो माटो र हावापानी भएको भूमिमा किसानहरु फूल उत्पादनमा किन आकर्षित छैनन् भनेर सरकार गम्भीर हुनुपर्ने होइन र ? हाम्रो पशुपतिनाथको सजावटमा हामै्र मुलुकमा उत्पादित फूलमाला तथा झिलिमिली बत्तीहरुको प्रयोग गर्न हामी कहिले सक्षम बन्ने ? युवा निर्यात र हरसामान आयात गर्ने परालम्बी मुलुकका निकम्मा नागरिक भएर हामी कहिलेसम्म रहिरहने ? अब हामी किन फूलमा आत्मनिर्भर नबन्ने ? बर्सेनि भारतबाटै फूल ल्याएर पशुपति क्षेत्र सिँगारिएको दृश्यले बर्सेनि पशुपतिको दर्शन गर्न पुग्ने राष्ट्रपतिको मन किन चिमोटिँदैन ? हाम्रो पशुपतिनाथको सजावट हामै्र मुलुकमा उत्पादित फूल तथा बत्तीहरुबाट हुनुपर्ने सोचाइ तिनमा किन आउँदैन ? कमिसन र नजरानाका लागि हामी सधैँ फूलमा समेत कहिलेसम्म विदेशीको भरमा रहिरहने ?

हामी हरेक धर्म–संस्कार र पर्वमेलाका नाउँमा विदेशी सामग्री प्रयोगप्रति किन यति विघ्न आशक्त भइरहेका छाँै ? देशको अर्थतन्त्र धराशायी बनाउने गरी हरेक सामान विदेशबाटै भित्र्याउन सरकार किन यसरी हौसिरहेको छ ? शिवरात्रिमा पशुपतिनाथ परिसर सजाउन भारत र चीनबाट भित्रिने करोडौँ रुपियाँका फूल तथा झिलिमिली माला–बत्ती अनि तीजमा भारत–पाकिस्तानबाट भित्रिने अर्बौंका चुरापोतेले नेपालको आर्थिक क्षेत्रलाई धराशायी बनाउने काम गरेको छ । यस्ता विषयमा सरकारको गम्भीर ध्यानाकर्षण खोइ ? विदेशी फूल, माला र बत्तीमा करोडौँ रुपियाँ खर्चने सरकारले पुष्प व्यवसायलाई प्रोत्साहन गरी उत्पादित फूल आफैँले खरिद गरेर किसानको मूल्य समयमै चुक्ता गर्ने काम गर्न किन सक्दैन ? जनयुद्धकालमा बम र बारुद बनाउन सिकाउने माओवादीले हाल फेरि सरकारको नेतृत्व सम्हाल्ने अवसर पाउँदाचाहिँ जनतालाई झिलिमिली माला–बत्ती बनाउन किन प्रोत्साहित गरी त्यसका लागि वातावरण निर्माण गर्ने रणनीति किन अपनाउँदैन ? फूलमा समेत भारतकै भर पर्ने नेपाल र नेपालीलाई भारतबाट आएका जोगीहरुले समेत शिवरात्रि मेलामा हेपेर बोलेको देखियो । हरेक कुरामा भारतकै भर पर्नुपर्ने नेपालीले भारतीयलाई नहेप्न साधुसन्तहरुले त धम्की नै पनि दिए । तिनले पशुपति विकास कोषविरुद्ध नारा लगाउँदै र नेपालीलाई हिर्काउँदै लखेटेको पनि देखियो । केही समयको हुलदंगाको घटना हेर्दा शिवरात्रिमा पशुपतिनाथ दर्शनका नाउँमा आएका साधुसन्तहरुमार्फत राजनीति घुसाएर देशमा आतंक सिर्जना हुने हो कि भन्ने आशंकासमेत पैदा भएको थियो । नेपालका धर्म, संस्कार र पर्वका अवसरमा प्रयोग हुने हरेक सामानहरु भारतबाट आयात गरी नेपाली अर्थतन्त्र धराशायी बनाउने र भारतीयले मौका छोपी हेप्ने, होच्याउने विडम्बनाप्रति सरकार कहिले गम्भीर हुने ?

पशुपति विकास कोषले शिवरात्रि पर्वको अवसरमा करिब १५ लाखले पशुपतिनाथको दर्शन गरेको जनाएको छ । यसबाट झन्डै १५ लाख भेटी उठेको पनि कोषले बताएको छ । पशुपति क्षेत्र विकास कोषले भक्तजनहरुको व्यवस्थापनमा कुनै कमी नरहेको जनाए पनि लाइनमा बस्नेहरु पालो नआएर आत्तिएका देखिन्थे । पशुपतिनाथप्रति आस्था राखेर स्वदेश वा विदेशबाट आउने जोसुकै तीर्थथात्रीहरुलाई सम्मान र सुविधाका साथ बेग्लाबेग्लै लाइनमा राखेर सहजै दर्शन गराउने व्यवस्था पशुपति विकास कोषले अझै गर्न सकेको देखिएन ।

भक्तजनलाई चारै ढोकाबाट बढीमा एक घन्टा लाइनमा बसेर दर्शन गर्ने व्यवस्था पशुपतिक्षेत्र विकास कोषले मिलाउन नसकेकोमा दर्शनार्थी रुष्ट देखिन्थे । दर्शनका लागि राम्रो व्यवस्थापन गर्न सकेको भए यसले पशुपतिको आम्दानी र विकास कोषको ख्यातिमा वृद्धि हुन्थ्यो । टाढाबाट आएका विदेशी दर्शनार्थीलाई दर्शनका लागि कसरी सहज बनाउने भन्ने कुरामा पशुपति विकास कोषले विशेष ध्यान दिनुपथ्र्यो । पशुपति मन्दिर दर्शनका लागि बाहिर तीन र भित्र पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति विकास कोषले जनाए पनि पाँच–छ घन्टा लाइनमा बसेर पनि दर्शन गर्न निकै कठिन भएको गुनासो दर्शनार्थीहरुबाट आइरहेको थियो ।

पशुपतिनाथप्रति अति आस्थाभक्ति राखेर दर्शनका लागि आउने विशेषतः भारतीय लगायत अन्य विदेशी तीर्थयात्रीहरुलाई राम्रोसँग लाइनमा राखेर दशर्न गराउनुपथ्र्यो । लामो बाटो तय गरी विशेष आस्थाका साथ पशुपतिनाथको दर्शनार्थ आइपुग्ने भारतीय लगायत जोसुकैलाई बेग्लै लाइनको व्यवस्था गरेर छुट्टै एक ढोकाबाट सहजरुपमा दर्शनको व्यवस्था मिलाउन सकेको भए तिनमा हाम्रो देश र पशुपति दर्शनप्रति आस्था, सद्भाव अझै बढ्न सक्थ्यो । विश्वभरका हिन्दूको आस्थाकोे केन्द्र पशुपतिनाथको दर्शनका लागि मरिहत्ते गर्ने भारतीयहरुलाई शिवरात्रिका अवसरमा दर्शन गर्न र बसोबासको राम्रो व्यवस्था गर्न नसकेको भन्दै साधुसन्तहरु रुष्ट देखिन्थे । शिवरात्रिका अवसरमा भारतबाट मात्र पाँच हजार साधुसन्त पशुपतिमा आएका कोषले जनाएको छ । पशुपति विकास कोषले रु .आठ देखि १० लाखसम्म साधुसन्तलाई दक्षिणाका लागि छुट्याएको जनाएको थियो । भारतीय साधुसन्तलाई दक्षिणा दिएर बिदाइ गर्ने परम्परा पुरानै भए पनि भारतका कुन मन्दिरमा पुगेका नेपाली साधुसन्तलाई दक्षिणासहितको सम्मान मिल्ने गर्छ त ? भनेर नेपाल सरकारले पनि नियाल्नुपर्ने हो । साधुको भेषमा पसेर धार्मिक क्षेत्रमा राजनीति घुसाउने अवसर नबनोस् शिवरात्रि पर्व भन्नेमा पनि अब पशुपति विकास कोष चनाखो हुनुपर्छ । फूलमालाका नाउँमा भारतमै हाम्रो पैसा जाने, मुख्य पुजारीका नाउँमा भारतमै ठूलै रकम जाने र साधुसन्तका नाउँमा समेत भारतमै पैसा जाने भएपछि नेपाली धर्म र पर्वप्रति नेपालीले गर्व गर्ने आधार के ? पशुपतिमा आफ्नै देशको मुख्य पुजारीको व्यवस्थासमेत गर्न सक्दैन सरकारले ? के हाम्रो पशुपति क्षेत्रको सजावट हाम्रै मुलुकमा उत्पादिन फूलमालाले गर्न सकिँदैन र ?

हुन त धर्मलाई अफिम मान्ने कम्युनिस्ट नेतृत्वको सरकारले पशुपतिनाथको मेलापर्व र यसको साजसज्जाको विषयलाई महत्व नदेला । आफू नेतृत्वमा रहँदा सबै ठीकठाक देख्ने कम्युनिस्ट सिद्धान्तका शासकलाई पशुपतिनाथमा विदेशीको हस्तक्षेप, मनोमानी र परनिर्भता उति चासोको विषय नबन्ला पनि । मन्दिर सिँगार्न फूलसमेत भारतबाटै झिकाउनुपर्ने हाम्रो चरम परनिर्भरताप्रति उनलाई चासो र चिन्तन गर्ने फुर्सद के होला र ? तर देशभक्त नागरिकलाई शिवरात्रिमा पशुपति परिसरमा देखिएको भारतीयको हस्तक्षेप र मन्दिर परिसरको सजावटमा देखिएको फूलमालालगायतका सामग्रीको परनिर्भरताले नेपाली स्वाभिमानमा नै धक्का लागेको अनुभूति हुनुपर्ने हो ।

पशुपतिमा भारतीयलाई मूल पुजारी बनाउनुको विभेदजन्य व्यवहार आम नेपाली दर्शनार्थीले भोग्दै आएका छन् । भारतीयलाई सहजै दर्शनको व्यवस्था गरी पशुपति मन्दिरभित्रैको चन्दन टीका लगाइदिने र अन्यलाई वास्तै नगर्ने व्यवहार पुजारीहरुको छ । टाढा–टाढाबाट आएका सामान्य दर्शनार्थीले लाख विन्ती गरी पशुपतिनाथभित्रको चन्दन माग्दा नदिने पुजारीहरुले भारतीय देख्नेबित्तिकै तिनका हातमा प्रसाद, चन्दन र माला थमाइहाल्ने विभेदजन्य प्रवृत्ति नेपालीले कहिलेसम्म मुकदर्शक भएर हेरिरहने ? नेपाली भक्तजनमाथि भारतीय पुजारीहरुले गर्ने विभेद र बदमासीविरुद्ध किन कोही बोल्दैन ? हाम्रो पशुपतिनाथमा विदेशीको मनोमानी र बलमिच्याइँ किन र कहिलेसम्म ? पशुपति क्षेत्रलाई विश्वकै सनातन हिन्दू तीर्थयात्रीको विशिष्ट गन्तव्य तथा पुष्यभूमि र साधनाभूमिका रुपमा विकास गर्नुपर्छ । धर्मको रक्षा र सम्पदाको संरक्षण गरी पाशुपत क्षेत्रलाई अन्तर्राष्ट्रिय तीर्थस्थलकै रुपमा विकास गर्ने गुरुयोजनाको आवश्यक छ । विश्वभरका करोडौँ हिन्दू धर्मावलम्बीहरुको असिम आस्था र आकर्षणको केन्द्र पशुपतिनाथको धार्मिक तथा पुरातात्विक महत्व जोगिने गरी भौतिक निर्माण तथा साजसज्जाका कार्यहरु गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्