आदर-सम्मानको वास्तविक हकदार को ?



वि.सं. २०३१ तिरको कुरा हो । घुम्दैफिर्दै छिमेकी जिल्लाको सदरमुकाम पुगेको थिएँ । त्यहाँ हाइस्कुलमा पढाउने काम पाएँ । एक मिलनसार युवा साथीकोमा पेइङ गेस्ट भएर बस्ने व्यवस्था पनि मिल्यो । सडकका दुईतिर लहरै उभिएका घरहरुमा बजारसँगै अफिसहरु । घरका लहर सकिएपछि वन–बुट्यान, मैदान । एउटा सानो टुँडीखेल पनि । साँझ–बिहान युवाहरुसँग गफ गर्दै घुमघाम गर्न बडो रमाइलो । विद्यार्थीहरु त्यत्तिकै फरासिला । बडो मोहक थियो बसाइ ।

सदरमुकाम भएर पनि बजारको पैmलावट त्यति थिएन । सानो र प्रायः सुतिरहेजस्तो लाग्ने बजारबीच एक प्रसिद्ध पसल थियो, कालीमाईको पसल । पसल्नी साँच्चिकै कालीमाई थिइन् । तिनलाई विभिन्न अड्डाका हाकिमहरु पनि कालीमाई भन्थे । कतिले सडकबाटै नमस्कार साहुनी भन्दै हात पनि जोड्थे । चिया–नास्ता खान त्यत्तिको पसल बजारमा अर्को थिएन । कति कर्मचारीहरु कालीमाईका पसलमा बिहान–बेलुका खाना पनि खान्थे, दानापानी पसलसँगै कपडालगायत किराना सामानको पसल पनि थियो । कालीमाई प्रायः त्यस पसलमा सामान बेच्नमा व्यस्त देखिन्थिन् । कालीमाईका पसलको चहलपहल नै सदरमुकामको खास चहलपहल थियो । पहाडको टाउकामाथि परम्परागत शैलीका घरहरुमा कार्यालयहरु सञ्चालित रहेका कामचलाउ पाराको सदरमुकाम नवागन्तुकका लागि त्यति आकर्षक त थिएन र पनि मिलनसार युवाहरुका कारण समय बिताउन नसकिने काँटाको पनि थिएन । त्यहाँको मुख्य आकर्षण बजारका बीच सबैभन्दा अग्लो ठाउँमा सञ्चालित हाइस्कुल थियो ।

एकपटक स्थानीय एकजना बूढा मान्छेले चारैतिर हेरेर मसँग सुटुक्क भने, ‘यहाँ पसल गरेर कमाउनुभन्दा पहिले बाटोको छेउमा ल्वाङ, सुपारी, चुरोट, सुर्ती पुष्टकारी इत्यादिको नाङ्लो पसल राखेर बस्थी । सबैले काली भन्थे । हँसिली र फरासिली थिई । रिसाउँदैनथी । पछि कउल भाडामा लिएर चियापसल राखी । अहिले उसको पसल बजारभरिको अब्बल पसल । सबैले चिन्ने कालीमाई भई । अब उसलाई काली कल्ले भन्ने ? मेहनेत गर्न सके धन, मान सबै कमाइने रहेछ । मानिसलाई मान–सम्मानको सच्चा हकदार बनाउने त मेहनत र इमानदारी नै रहेछ । मैले त मानेँ बाबै ! पहिले–पहिले म यसलाई ए काली ! भन्थेँ । अहिले त म पनि नानीमैयाँ भन्छु, हा हा हा !’ बूढा मुक्तकण्ठले हाँसेका थिए ।

मान–सम्मानको सच्चा हकदारका सन्दर्भमा घोत्लिँदा अहिले यहाँनिर दाङका किस्न चौधरीका जीवनवृत्तको सम्झना आएको छ । उहाँको परिवार पनि गाउँका अरु गरिब चौधरी परिवारजस्तै साहूका घरमा पुस्तौँदेखि कमैया रहिआएको परिवार थियो । ०५८ तिर नेपाली कांग्रेसको नेतृत्वमा बनेकोे साहू–महाजनहरुको सरकारले दाङलगायत विभिन्न भेगका साहूहरुलाई कमलरी–कमैयाहरुप्रतिको तमाम दायित्वबाट सित्तैमा मुक्त गरिदियो र प्रचारमा यसैलाई कमैया मुक्ति नाम दियो । कथित यस मुक्तिमा पुस्तौँ सेवा गरिआएका कमलरी, कमैयाहरुले मालिक साहूहरुबाट सुको पनि अंश भाग अथवा मोहियानी हक पाएनन् । कमैयाहरुका भाँचिएका ढाडहरुमा छारकाप्रो लगाउन सरकारले जङ्गल र जङ्गलछेउछाउका सरकारी जगा ३ र ५ कठ्ठाका दरले वितरण ग¥यो । साहू–महाजनहरुका धन जोगाउने क्रममा मुलुकको महत्वपूर्ण जङ्गल फाँडेर वितरण गर्न पनि सरकार पछि परेन ।

तीन दाजुभाइ, भाउजू–बुहारी, आमा–बा लगायत ११–१२ जना सदस्य रहेको किस्न चौधरीका परिवारले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ०१, गाभरमा सिंचाइ सुविधा नभएको जङ्गलछेउको ३ कठ्ठा सुक्खा जग्गा पाएको थियो ।

संयुक्त परिवारका, धेरथोर पढेगुनेका कान्छा छोरा किस्न । बाबा क्यान्सरले बित्नुभयो । किस्नले परिवार चलाउने क्रममा विभिन्न श्रमसाध्य कामका साथै पत्रकारिता पनि गर्नुभयो । समय घिस्रँदै थियो । यसै ताका एकाध गाउँठाउँमा त्यहाँका निवासीहरुले आफ्नै पहलमा होमस्टेका प्रयास शुरु गरेको खबर चर्चामा आयो । किस्न चौधरी पनि मन बनाउँदै हुनुहुन्थ्यो । ०६७ तिर नेपाल सरकारले नीतिगत व्यवस्थापन र एकरुपता प्रवद्र्धन गर्ने भन्दै होमस्टे सञ्चालन र व्यवस्थापन कार्यविधि ल्यायो र यस क्षेत्रमा हात हाल्यो । जनतामा पनि थप जागरण आयो । यसै बीच सरकारले होमस्टे सञ्चालन व्यवस्थापनसम्बन्धी सातदिने तालिम पनि चलायो ।

किस्न चौधरीले मेहनतका साथ तालिम लिनुभयो । ५ जना छिमेकी घरपरिवार मिलेर होमस्टे दर्ता पनि गर्नुभयो । अरुले चलाएनन् । किस्नले आफ्नै फुसका छाप्रेघरका पालीमा दुई–तीनजना पाहुना सुताएर होमस्टे शुरु गर्नुभयो । मेहनतको काम विशेष चर्चामा आयो । छिमेकमा एक घर थएिपछि दुई घर भए । हुँदै जाँदा गाभरका २७ घरमा सामूहिक होमस्टे चल्यो । अहिले त्यहाँ ३ सयजना पाहुनाहरु स्वस्थ गाँसबासको सुविधा लिन सक्छन् । किस्न चौधरी त्यहाँका सामुदायिक होमस्टेका अध्यक्ष हुनुहुन्छ । होमस्टे महासङ्घका महासचिव हुनुहुन्छ । यस अभियानबाट गाउँको आर्थिक स्तर बढेको छ । सम्पर्क, समन्वय र सहकार्यको क्रियाशील संस्कृति निर्माण भएको छ । जिज्ञासाले तानिएर यदाकदा कथित भीआईपी, भीभीआईपीहरु पनि पाहुना बन्न पुग्छन् । पुगेका छन् । अहिले गाउँमा सामुदायिक भवन बनेको छ । कोसेली घर बनेको छ । बाटो पनि विकसित भएको छ । अलिक वर्षअघिका किस्ने चौधरी अहिले सम्मानित कृष्णप्रसाद चौधरी बन्नुभएको छ । जनजनमा उहाँको चर्चा छ । मनमनमा उहाँप्रतिको सम्मान छ । काम गर्न चाहने युवाहरुका लागि उहाँ राम्रो पाठ र प्रेरणा बन्नुभएको छ ।

बूढापाकाहरु भन्छन्– मेहनत र इमानबाट कमाएको नाम दिगो हुन्छ । यस्ता प्रेरणादायी व्यक्तित्वलाई दिइने सम्मानमा श्रद्धा हुन्छ । आफ्नै मेहनतमा उभिएका गोडा र आफ्नै परिश्रमले दह्रा बनेका हातहरु नै मान–सम्मानका सच्चा हकदारहरु हुन् । प्रहरी प्रशासनका बलमा ‘बाटो छोड्,’ ‘सलाम गर्’ भनी–भनी लिइने÷दिइने सम्मान के सम्मान ?

हाम्रा एकजना गुरु हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सम्मानलाई सभ्यता, शिष्टता ठान्छौँ भने हामी कृष्ण चौधरीहरुलाई सम्मान गरौँ । श्रमिकहरुलाई सम्मान गराँै । किसानहरुलाई सम्मान गरौँ । समाजलाई जीवन्त राख्नमा तिनैको योगदान छ । ट्राफिक प्रहरीहरुलाई सम्मान गरौँ । तिनले धेरैको जीवन दुर्घटित हुनबाट जोगाइदिएका छन् । कार्यालयका परिचरहरुलाई सम्मान गरौँ । नमस्कार गरौँ । यी कार्यालय चुस्त–दुरुस्त राखेका तिनैले हुन् । सडक गल्लीमा छेउ लागेर बसेका नाङ्ले पसलेलाई सम्मान गरौँ । सडक, गल्लीका कुनाकप्चेरामा डराउँदै–डराउँदै बसेर मकै पोल्दै बेचिरहेका दिदीबहिनी र आमाहरुलाई सम्मान गरौँ । ताजा तरकारी बोकेर घरघर, ढोकाढोकामा बेच्न पुग्नेहरुलाई सम्मान गरौँ । तिनले गरिब घरपरिवारका सुविधाविहीन अनेकन बालबालिकाहरुलाई दानापानी जुटाएर जीवन दिएका छन् । भविष्य दिएका छन् । दिनदिनै सडक बढार्ने महिला–पुरुषहरुलाई सम्मान गरौँ । बिहानबिहानै घरघर पुगेर फोहोर उठाउने कर्मठ हातहरुलाई सम्मान गरौँ । ढल सफा गर्ने सफाइकर्मीहरुलाई सम्मान गरौँ । तिनैले त नगरवासीहरुको स्वास्थ्य जोगाइदिएका छन् । अस्पतालमा डक्टरहरुलाई त स्वार्थको परवस भएर पनि सम्मान गर्छौं । हामी त्यहाँ निरन्तर तत्परताका साथ बिरामीका ओछ्यान–ओछ्यानमा पुगेर तिनका दिसापिसाब कोपरामा थाप्ने, फोहोर लागेका अङ्ग प्रत्यङ्ग धोइपखाली गरिदिने, लुगा बिस्तरा सफा गरिदिने दाजुुभाइ, दिदीबहिनी र काकाकाकीलाई पनि त्यत्तिकै सम्मान गरौँ । आदरपूर्वक नमस्कार गरौँ । तिनका काम सघाऊँ । सक्छाँै यसो गर्न ? शहरका मेरुदण्ड भनेका यिनै श्रमिकहरु हुन् । यिनकै मेहनतका बलमा शहरले शहर हुन पाएको छ । यी साँच्चिकै आरदरयोग्य मान्यजनहरुका मेहनतको पारख र सम्मान गर्न सक्दैनौँ भने हाम्रो सभ्यता र शिष्टताको पहिचान के हो ? परिभाषा के हो ? सापेक्ष्यता के हो ? मन ध्यान लगाएर सोचौँ । यति पनि गर्न सक्दैनौँ भने हामी सभ्यता र शिष्टताको धाक दिनका निमित्त सफा परिधानले चिटिक्क पारेर सजाएको बीभत्स फोहोरको धोक्रा हौँ । बुख्याँचा हौँ । समाजको सांस्कृतिक व्यवधान मात्र हौँ । मानवीय होइनौँ । गरिब जनताका रगत–पसिना पिएर रातापीरा बनेका शोषक, सामन्त, भ्रष्ट राजनेता, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति र नौरङ्गे हाकिमहरुलाई झुकेर सम्मान गर्ने अनि संसारको निर्माण, पुनर्निर्माण सेवामा जुटेका श्रमिकहरुलाई चाहिँ हेप्ने, होच्याउने, अपमान गर्ने हामी बुद्धिविवेकसहितको सभ्य, शिष्ट र सुसंस्कृत मानव होइनौँ । श्रम र सिर्जनाका विरुद्ध क्रियाशील भ्रष्टहरु र विध्वंशकहरुका परोक्ष सहयोगी हौँ । यस अर्थमा हामी पनि दण्डनीय अपराधी हौँ ! बुझ्यौ ? हामी आफ्नो घरपरिवारमै हेरौँ, घरपरिवारमा साँच्चिकै मान–सम्मानको हकदार को ? दिनरात घरपरिवारको सेवामा समर्पित रहने महिला कि तिनैमाथि हैकम जमाउने पुरुष ? देखी–जानी बुझेका छौ ? के बुझेका छौ ?’
गुरुका अगाडि विनम्रताको टाउको हाल्लाउँछु र ‘बुझेको छु गुरु !’ भन्छु । कति बुझेको छु ? मलाई नै थाहा छैन । मेरो व्यवहार हेरेर अरुले थाहा पाउने कुरा हो यो ।

प्रतिक्रिया दिनुहोस्