मुख्यमन्त्री शाहलाई विश्वासको मत लिन हतारो : एमालेले मत नदिने, माओवादी केन्द्रको आनाकानी

माओवादी केन्द्र र कांग्रेसको बैठक बस्दै



धनगढी । सुदूरपश्चिममा प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहलाई नेकपा (एमाले)ले विश्वासको मत नदिने निर्णय गरेको छ ।

गत माघ २६ मा नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस संसदीय दलका नेता समेत रहेका कमल शाहलाई एमालेले विश्वासको मत नदिने निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

माघ २६ मा नियुक्त भएका मुख्यमन्त्री शाहले आज (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

तर सत्ता?ढ गठबन्धनकै प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले पावर सेयरिङमा लिखित सहमती माग गर्दै विश्वासको मत दिन आनाकानी गरेपछि शाह समस्यामा परेका छन् ।

माओवादी केन्द्रले मुख्यमन्त्रीमा आलोपालो र मन्त्रालय भागबन्डामा लिखित सहमती नभएको अवस्थामा विश्वासको मत दिन नसकिने बताउदै आएको छ । यस्तै उन्मुक्तिले पनि भागवण्डामा उचित व्यवस्थापनको माग अघि सारेको छ ।

माओवादी केन्द्र र कांग्रेसको बैठक बस्दै

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि सुदूरपश्चिममा माओवादी केन्द्र र कांग्रेसले संसदीय दलको बैठक बोलाएका छन् । अहिले केहीबरेमा संसदीय दलको कार्यालयमा कांग्रेसको बैठक बस्ने जनाइएको छ । यस्तै माओवादी केन्द्रले पनि ११ बजे दलको कार्यालयमा बैठक बोलाएको छ ।

हिजो पनि माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको थियो । त्यसमा ठोस कुनै निर्णय भएको थिएन । आज विश्वासको मत दिने या नदिने भन्ने बिषयमा निर्णय हुने माओवादी स्रोतको दाबी छ । कांग्रेसले पनि पछिल्लो अवस्थाबारे सांसदहरूलाई जानकारी दिन र विश्वासको मत पाउने आधार तयार गर्न दलको बैठक बोलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्