एसईईमा १ हजार ६ सय परीक्षार्थी थपिए



काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) दिनेको संख्या गत वर्षको भन्दा १ हजार ६ सय २२ ले बढेको भए तापनि चारवटा प्रदेशमा भने विद्यार्थी संख्या घटेको छ । ती चारवटा प्रदेशमा प्रदेश–१, वागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

गत वर्ष प्रदेश–१ मा ८८ हजार ३२ जना परीक्षार्थी थिए । यो वर्ष करिब ३ हजार विद्यार्थी घटेका छन् । प्रदेश–१ मा यो वर्ष ८५ हजार ७ सय ४३ जना सहभागी हँुदैछन् । वागमतीमा परीक्षार्थीको संख्या १ लाख १० हजारबाट घटेर १ लाख ६ हजार ९ सय ५९ पुगेको छ ।

गण्डकीमा गत वर्ष ४७ हजार ३ सय ४५ जनाले परीक्षा दिएकोमा यो परीक्षार्थीको संख्या घटेर ४६ हजार ७ सय ३७ मा झरेको छ । सुदूरपश्चिममा ५९ हजारबाट घटेर ५८ हजार ९ सय ७ झरेको छ ।

मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा भने विद्यार्थी संख्या बढेको छ । मधेशमा करिब ३ हजार, कर्णालीमा करिब २ हजार ५ सय र लुम्बिनीमा २ हजार ५ सय वृद्धि भएको छ । मधेश प्रदेशमा गतवर्ष ८१ हजार ७ सय ४३ जनाले परीक्षा दिएकोमा यो वर्ष परीक्षार्थीको संख्या ८४ हजार ७२ पुगेको छ । कर्णालीमा ३८ हजार ९ सय ११ बाट बढेर ४१ हजार ३ सय २९ र लुम्बिनीमा ८९ हजार ६ सय ४५ बाट वृद्धि भएर ४१ हजार ३ सय २९ पुगेको छ ।

२०७८ सालमा ५ लाख १४ हजार ९ सय ५५ जनाले परीक्षा दिएका थिए । तीमध्ये २ लाख ६० हजार ६ सय ६४ छात्र र २ लाख ५५ हजार ९ सय १३ छात्रा रहेका थिए ।

एसईई परीक्षामा वागमती प्रदेशको काठमाडौं जिल्लाबाट सबैभन्दा बढी साधारण र प्राविधिक समेत गरी ३६ हजार २ सय ४१ जना सहभागी हँुदैछन् । सबैभन्दा कम परीक्षार्थी मनाङमा छन् । मनाङबाट ५३ परीक्षार्थीले सहभागिता जनाउँदैछन् । मुस्ताङमा २ सय २४, रसुवामा ६ सय ६६ , डोल्पामा ७ सय ३९ जनाले परीक्षा दिँदैछन् । एसईई परीक्षा चैत १७ देखि २९ सम्म सञ्चालन हुँदैछ ।

परीक्षामा रूपन्देहीमा २० हजार ६७, कैलाली १९ हजार १७, मोरङमा १८ हजार ४ सय ८१, धनुषामा १२ हजार ९ सय २, महोत्तरीमा १० हजार १३, सर्लाही ११ हजार ६ सय १६, ललितपुर १० हजार २ सय ६९, भक्तपुरमा ६ हजार २ सय २३ र कास्कीमा ११ हजार १ सय १६ विद्यार्थीले सहभागिता जनाउँदैछन् ।

यो वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थीले पनि परीक्षा दिँदैछन् । यो वर्ष ५० जना दृष्टिविहीन परीक्षार्थीले परीक्षा दिनेछन् ।

परीक्षामा करिब २ हजार १ सय परीक्षा केन्द्र कायम गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साधारणतर्फ ६ वटा अनिवार्य, संस्कृततर्फ ६ र प्रथम ऐच्छिकतर्फ २४ र ऐच्छिक द्वितीयतर्फ २३ गरी ४७ ऐच्छिक विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजेबाट सञ्चालन हुनेछ ।

पनिकाले करिब १० दिनदेखि प्रश्नपत्र छपाइ जारी राखेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मुद्रणालयमा प्रश्नपत्र छपाइ र प्याकिङ भइरहेको छ । प्रश्नपत्र छपाइ गर्न तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ । जनक शिक्षाले फागुन मसान्तसम्म प्रश्नपत्र छपाइ र ढुवानी गरिसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्