एक वर्षमा २२७ जना सुत्केरीले पाए पोषण भत्ता



लमजुङ। 

लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले एक वर्षको अवाधीमा दुई सय २७ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागु हुने गरी ल्याएको सुत्केरी महिलालाई पोषण भत्ता वितरण कार्यक्रम अन्तर्गत गत वर्ष दुई सय २७ जनालाई पोषण खर्च वितरण गरेको हो ।

अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलाहरुलाई बढी मात्रामा सन्तुलित भोजन तथा पोषणयुक्त खानको आवश्यक पर्ने हुँदा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको बेसीशहर नगरपालिकाले जनाएको छ । सुत्केरी अवस्थामा महिलाहरुका लागि पौष्टिक आहारको महत्त्व बारे सचेतना जनाउने उद्देश्य सहित ल्याइएको यस कार्यक्रम अन्तर्गत नगरपालिकाले बेसीशहर नगरपालिकामा स्थायी बसोबास गर्ने सुत्केरी महिलालाई तिन हजार रुपैयाँ भत्ता वितरण गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखा मार्फत वडा–वडाको स्वास्थ्य संस्थासँग समन्वयमा सुत्केरी महिलाको विवरण सङ्कलन गरी ६÷६ महिनामा भत्ता वितरण गर्ने गरेको बेसीशहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सिङ बोहोराले बताउनुभयो ।

गत आर्थिक वर्षमा सबै भन्दा धेरै वडा नं। ११ का ३८ जना सुत्केरी महिलालाई भत्ता वितरण गरिएको थियो । त्यसैगरी वडा नं। १ मा १८ जना, वडा नं। २ मा २९, वडा नंं। ३ मा ३२ जना, वठा नंं ४ र ५ मा पाँच÷पाँच जना, वडा नं। ६ मा २६ जना, वडा नं। ७ मा १८, वडा नं। ८ मा ९ जना र वडा नं। १० मा ३५ जना सुत्केरी महिलाहरुलाई तिन हजारका दरले पोषण भत्ता वितरण भएको स्वास्थ्य शाखा प्रमुख बोहोराले बताउनु भयो ।
उहाँका अनुसार चालु आर्थिक वर्षको साउन देखि हाल सम्म ७९ जना सुत्केरीको विवरण सङ्कलन भएको छ । उनीहरूलाई पनि पोषण खर्च उपलब्ध गराइनेछ  । महिला सुत्केरी भए पछि सबै कागजपत्र वडामा बुझाउने र वडाका सिफारिसमा नगरपालिका स्वास्थ्य शाखामार्फत भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्