युएसएआइडीका पावरद्वारा ७ अर्ब रुपियाँभन्दा बढी रकमको सहयोग गर्ने घोषणा



काठमाडौँ। 

नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले ५ करोड ८५ लाख अमेरिकी डलर अर्थात् साढे ७ अर्ब रुपियाँभन्दा बढी रकमको सहयोग गर्ने भएको छ ।

नेपालको दुई दिने भ्रमणको क्रममा मंगलबार बिहान काठमाडौँ आइपुगेका युएसएआइडीका प्रशासक समान्था पावरले ललितपुरमा आयोजित एक समारोहमा उक्त सहयोगको घोषणा गर्नुभएको हो । उहाँले उक्त रकम स्रोतको उपलब्धतामा निर्भर हुने जिकिर गर्दै घोषणा रकममध्येको ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश भएको बताउनुभयो ।

उहाँले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै नेपाललाई संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर आएको जिकिर गर्दै यस कार्यमा अमेरिकाको साझेदारी रहने बताउनुभयो । उहाँले आज घोषित सहयोगमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जबाफदेही तवरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरणका लागि २ करोड डलरसम्म समावेश गरिएको जानकारी पनि दिनुभयो ।

त्यस्तै सामुदायिक अवश्यक्ता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम छुट्याइएको पनि उहाँले बताउनुभयो । उहाँले संचार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासहरूलाई सहयोग गर्न एएसएआइडीले संचार माध्यमहरूसँग पनि साझेदारी गर्ने बताउनुभयो ।

कायक्रममा युएसएआइडीका प्रशासक समान्था पावरले स्थानीय निर्वाचन तथा कानुनी शासनलाई मजबुत बनाउन र मानव बेचबिखनविरुद्ध लड्न युएसएआइडीले नेपाललाई गर्दै आएको सहयोग जारी राख्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्