काभ्रेमा खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि 



– ५० रुपैयाँको मैदा ८४ रुपैयाँ
– ५ सय रुपैयाँको जिरा ८ सय 

काभ्रे । 

निर्वाचन सकिएको एक महिना नपुग्दै खाद्यान्नमा अचाक्ली मूल्य वृद्धि भएको छ । छिमेकी देश भारतले खाद्यान्न अन्र्तगत चामल र कनिकामा लगाएको करलाई देखाउँदै नेपालका उद्योगी व्यवसायीहरूले नेपालमै उत्पादन हुने खाद्यान्नको समेत मूल्य वृद्धि गरेका छन् । मूल्य वृद्धिले भान्सा महँगो हुँदा सर्वसाधारण मारमा परेका छन् ।

सर्वसाधारणका लागि दैनिक भान्सामा प्रयोग हुने चामल, तेल, मसला तथा गेडागुडीहरूको मूल्य आकासिएको हो । ‘कार्तिक महिनामा जिराको मूल्य प्रति केजी ५ सय थियो, अहिले मूल्य वृद्धिका कारण ८ सय पुगेको छ’–व्यवसायी राजन खत्रीले भन्नुभयो–‘सर्वसाधारणले बढेको मूल्यमा सामान खरिद गर्न सक्ने अवस्था नै छैन ।’ राजन खत्रीका अनुसार जिरा लगायत मैदा, आँटा, तेल लगायतका खाद्यान्नमा मूल्य वृद्धि भएको छ । चामल प्रति केजी १० रुपैयाँ बढेको छ ।

एक केजी चामलमा १० रुपैयाँ वृद्धि हुँदा तल्लो वर्गका व्यक्तिहरूलाई त संकट छ नै अन्य वर्गका व्यक्तिहरूको पनि आम्दानी घट्दै गएकाले थप मारमा पर्न थालेको बताएका छन् । हरेक खालका चामलको मूल्य आकासिएको छ । त्यस्तै ५० केजी मैदाको २ हजार ५ सयबाट ४ हजार २ सय पुगेको छ ।

५० रुपैयाँ केजीमा पाउने मैदा ८४ रुपैयाँ पुगेको छ । मैदा महँगो हुँदा रेस्टुरेन्टहरूले मम र चाउमिनको मूल्य वृद्धि गराउने तयारी गरेका छन् । मैदाजन्य उद्योगहरू पनि मूल्य वृद्धिका कारण संकटमा छन् । आँटामा प्रति केजी १० रुपैयाँ बढेको छ । ७५ रुपैयाँ केजीको आँटा ८५ रुपैयाँ पुगेको छ ।

भटमास तेल बक्सामा ३ सय रुपैयाँ बढेको छ । २ हजार १ सय रुपैयाँ रहेको भटमास तेल २ हजार ४ सय पुगेको छ । तोरी तेल बक्सामा ४ सय ५० बढेको छ । २ हजार रुपैयाँबाट २ हजार ४ सय ५० पुगेको छ । मरिच प्रति केजी २ सय रुपैयाँले बढेको छ । १ हजार २ सय रुपैयाँको मरिच १ हजार ४ सय पुगेको छ ।

चिउरामा पनि मूल्य वृद्धि भएको छ । दाल, केराउ, चना, बोडी, राजमा सिमी लगायतका खाद्यान्नहरुमा मूल्य वृद्धि भएको छ । उद्योग वाणिज्य संघ र सरोकारवालाहरूले मूल्य वृद्धि नियन्त्रणमा ध्यान दिएका छैनन् । नयाँ सरकार गठन भएसँगै बढेको मूल्य वृद्धिले नागरिकहरू झन् मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्