अहिलेका प्रमसँग केको अपेक्षा गर्नु ?



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनेबित्तिकै वित्तीय संस्थाबाट पैसा निकाल्नेको संख्या बढेको छ । माओवादीले युद्धकालमा गरेको कर्तुत सम्झेर बैंकमा जनताको लाइन लागेको हो । माओवादी पहिल्यैदेखि पैसा लिन माहिर छ । कसैसँग ऋण लियो भने त्यो फिर्ता दिनुहुन्न भन्ने सिद्धान्त माओवादीको छ ।

त्यस्तै, जग्गाधनीहरुको जग्गा खोस्नेलगायतका काम गरेर माओवादीले जनतालाई धेरै दुःख दिएको छ । माओवादीलाई उसै त जनताले विश्वास गर्दैनथे, झन् उसकै सरकार बनेपछि सर्वसाधारणहरु वित्तीय संस्थामा दौडधूप गरिरहेका छन् । भोलि माओवादीले बैंकबाट पैसा निकाल्न दिँदैन भन्ने मनसाय जनतामा देखिसकेको छ । त्यही पैसाले सरकारी खर्च परिपूर्ति गर्न सक्छन् भनेर जनताले बुझिसकेका छन् ।

नेपाली कांग्रेसको सरकार हुँदैदेखि आर्थिक संकट थियो । यता, आर्थिक तरलता क्रमिक रुपमा बढेको थियो । बैंकले एक लाख रुपैयाँको चेक साट्न सक्ने अवस्था छैन । दैनिक २५ हजार रुपियाँ लिएर जानुस् भनेर बैंकका कर्मचारीहरु सुझाव दिन्छन् । बैंकले २५ हजार रुपियाँ दिन नसक्ने भनेर सूचना निकाल्ने तयारी थालेको सर्वसाधारणहरु बताउँछन् ।

विदेशीले नेपाल सरकारलाई ऋण र अनुदान दिएन भने तलबभत्ता, पेन्सन र विभिन्न भत्ता दिन नसक्ने अवस्था आएको बताइन्छ । अर्थ मन्त्रालयको ढुकुटी रित्तिसकेको छ । २०३१ सालको हालतमा नेपाल पुगेको छ । राजस्व उठ्न छोडिसकेको छ । तर, त्यतिखेर खर्च त कम थियो । उहिलेको अवस्थामा राजस्व उठिरहेको छ । सरकारी खर्च दिनैपिच्छे बढिरहेको छ । अनि सरकारले कसरी धान्छ ? नेपालको अर्थतन्त्र निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले टाट पल्टाए भनेर उनीमाथि हिलो छ्याप्ने काम भयो ।

प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवामाथि आरोप लगाएर सत्ता आफ्नो कब्जामा लिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले पदमा आउनुअघि अर्थतन्त्रका बारेमा ठुल्ठूला भाषण छोड्दै हिँडेका थिए । देश सबै डुबिसक्यो, बैंकमा पैसा छैन, उद्योगीहरु ब्याजमा फसे, देश ऋणमा चुर्लुम्मै भयो भन्दै भाषण गर्दै हिँड्ने मान्छे अहिले अर्थतन्त्रकै गुनगान गाउन थालेका छन् । अर्थमन्त्री सम्हाल्नेबित्तिकै पौडेलले देशको अर्थतन्त्र ठीकठाक छ भन्दै हिँड्दै गरेका छन् ।

देशभरका उद्योग व्यवसायीलाई एमालेले सडकमा उता¥यो । देउवा सरकारको विरोध गर्ने रणनीतिमा ओली सफल भए । शेयर लगानीकर्ता सबै एमालेका कार्यकर्ता हुन् । शेयरमा लगानी नगर, यो सरकारलाई हटाउनुपर्छ भन्ने एमाले नै हो । एमालेका गभर्नर महाप्रसाद अधिकारीले देउवा सरकारलाई असफल पार्न निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई समेत सहयोग गरेनन् । उनी पनि एमालेका खुङ्खार कार्यकर्ता हुन् ।

अहिले जनार्दन शर्मा हट्नेबित्तिकै गभर्नर मौन भएका छन् । एमालेका पौडेल आउनेबित्तिकै उनी उद्योगीहरुको माग सम्बोधन गर्नतिर लागेका छन् । उद्योगीका आन्दोलन शुरु भएको त लामो समय भइसकेको छ । तर, त्यतिखेर गभर्नरले किन हल गरेनन् ? यहाँ त सत्ताको खेल भयो । देउवा सरकारलाई हटाउन र शर्मालाई असफल पार्न गभर्नरको पनि ठूलो हात रहेछ भन्ने स्पष्ट भइसकेको छ । अहिले उद्योग व्यवसायीहरु प्रचण्ड र ओलीलाई भ-याङ बनाएर बैंक डुबाउँदै छन् । अर्थमन्त्री पौडेलसँग आफ्नो नानाथरी कुरा राखेर यिनीहरुले बैंक डुबाउने षड्यन्त्र रचेका छन् ।

उद्योग व्यवसायीहरु बैंकबाट लिएको ऋण तिर्ने अवधि दुई वर्ष बढाइदिनुप-यो, पुरानो ऋण नवीकरण गरिदिनुप¥यो भनिरहेका छन् । विगत १८ महिनादेखि उद्योग व्यवसायीहरुले किस्ता तिरेका छैनन् । न ब्याज तिर्छन्, न सावाँ नै बुझाउँछन् । बैंकबाट लिएको ऋण उद्योगमा लगानी नगरीकन विदेशमा लगानी गरेका छन् । कतिपयले विदेशी बैंकमा राखेका छन् त कतिले विदेशमै उद्योग सञ्चालन गरेका छन् । यो विषय सरकारलाई पनि छर्लङ्ग थाहा छ । यता, उद्योग व्यवसायीले बैंकबाट ऋण लिँदा राखेको धितोको मूल्य निरन्तर ओरालो लागिरहेको छ ।

दुई करोडको धितो घटेर आधामा आएको छ । तर, बैंकबाट एक करोड कर्जा लिएको दुई करोडमा पुगिसकेको छ । अर्थमन्त्री पौडेल, प्रधानमन्त्री दाहाल, गभर्नर अधिकारी र ओलीले बैंक सखाप नै पारेर छाड्ने भए । ऋणीसँग लिनुपर्ने दुई करोड भए पनि धितो बेच्दा जम्मा एक करोड आउँछ । बैंक त सीधै डुब्यो । बैंकलाई डुबाउने प्रचण्ड सरकारको रणनीति सर्वसाधारणले बुझिसकेका छन् । आफ्नो पैसा निकाल्नेको संख्या बैंकमा ह्वात्तै बढ्नुको प्रमुख कारण यही भएको बुझिन्छ ।

एकातिर राजस्व पनि नउठ्ने अर्कोतिर जनताले बैंकमा लगेर पैसा पनि राख्दैनन् । विदेशीले पनि ऋण दिँदैन । अब यो सरकारले कसरी आफ्नो खर्च धान्छ ? प्रचण्डले आफ्नो जायजेथो बेचेर सरकारी खर्च धान्दैनन् होला ? अब विकासका काम कसरी अघि बढ्छन् ? अर्थमन्त्री पौडेलले आर्थिक पत्रकारहरुलाई मन्त्रालयमा बोलाएर आफूलाई सहयोग गर्न आग्रह गरे । अर्थको विरोधमा नलेखिदिन उनले सम्पूर्ण पत्रकारका टोलीलाई भनेका छन् । बिग्रेको अर्थतन्त्रलाई ठीकठाक छ भनेर लेख्नुस् भन्न मिल्छ ?

उनको पद टिकाउनका लागि पत्रकारले नै झुट लेखिदिनुपर्ने ? उनको कुर्सी र जागिर जोगाउने काम पत्रकारको हो ? देशको अर्थतन्त्र श्रीलंकाको बाटोमा हिँड्दा पनि अर्थमन्त्री पौडेलले जथाभावी लेख्न लगाउने ? अनि पत्रकारको कलम किन्न खोज्ने ? पत्रकार स्वतन्त्र हुन्, उनीहरुले जनतालाई देशको अवस्थाबारे सत्यतथ्य जानकारी गराउनुपर्छ । तर, सत्ता टिकाउनका लागि जे गर्न मिल्छ भन्ने कुरा पौडेलको भनाइबाट बुझियो । यसअघि पनि उनी एमाले सरकारबाट अर्थमन्त्री थिए ।

त्यतिखेर पनि घरजग्गा, शेयर, गाडीमा पूरै मन्दी आइसकेको थियो । बैंकहरु त्यति बेला नै टाट पल्टिसकेका थिए । विदेशी ऋण सबैैभन्दा बढी केपी सरकारले लिएको थियो । राजस्वमा मन्दी र बैंकमा तरलता देखिन थालिसकेको थियो । त्यतिखेर बैंकले १२ देखि १३ प्रतिशत ब्याज दिन्छौं भन्दा पनि सर्वसाधारणले पत्याएका थिएनन् । देशको अर्थतन्त्र टाट पल्टाउने को ? दुई–दुईचोटि लकडाउन गर्ने ? आफू सत्ता चलाउन नसक्ने अनि अरुलाई दोष दिने ?

विदेशी भ्रमण वर्ष मनाउने भनेको पनि त्यत्तिकै बित्यो । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र प्रचण्ड एमाले सरकारलाई हटाउनुपर्छ भन्दै नाटकी आवाज उठाउँथे । पद नपाएपछि मात्र यिनीहरु देउवाको शरणमा जान्थे । अहिले प्रचण्डले त्यही देउवालाई धोका दिए । देउवाकै आडमा ३२ सीट जितेका प्रचण्डले केपी र रवि लामिछानेजस्ता राष्ट्रिय फटाहालाई ल्याएर सरकार कति दिन चल्छ ? प्रचण्डको सरकारलाई न विदेशीले विश्वास गर्छन्, न सर्वसाधारणले ।

हिजो दाउरा–सुरुवाल लाउनेलाई चटचट काट्ने त प्रचण्ड नै हुन् । राष्ट्रिय पोशाक लगाउनेहरु शोषकी हुन्, सामान्ती हुन् भनेर युद्धका बेला नारा घन्काउने माओवादी नै होइन ? तर, आज तिनै प्रचण्डले दउरा–सुरुवाल लगाएका छन् । सबैभन्दा ठूलो शोषकी त उनी रहेछन् भनेर प्रस्ट भइसकेको छ । राष्ट्रिय पोशाक लगाएकाले कतिले ज्यान खेर फाल्नुप¥यो । अब प्रचण्डलाई के सजाय दिने ? किनकि उनले पनि दउरा–सुरुवाल लगाए । यस्ता विश्वासघातीलाई कुन मुखले प्रधानमन्त्री भन्ने ? यस्ता व्यक्ति नेपाली जनताको अभिभावक बन्न सक्छन् ?

यस्ता व्यक्ति देशको प्रधानमन्त्री बन्नु देशको लागि दुर्भाग्यको कुरा हो । हिजोको दिनमा जति भारत र राजाको विरोध गरे । माओवादीले १७ हजार नेपाली जनताको ज्यान लिएका छन् । जसले भारतको त्यत्रो विरोध गरे उनले नै प्रधानमन्त्री भएपछि पहिलो अन्तर्वार्ता भारतीय च्यानललाई दिए । आफ्नो पहिलो भ्रमण भारतबाट हुने ठोकुवासमेत गरेका छन् । भारतको विरोध र चीनको सपोर्ट लिएर जनयुद्ध शुरु गरेर प्रचण्डले २०६५ सालमा प्रधानमन्त्री हुनेबित्तिकै चीन हानिएका थिए । अहिले भारतको अगाडि उनी लम्पसार परे । यस्तो व्यक्तिसँग केको विकास र राष्ट्रियताको अपेक्षा गर्नु ?
– अनुसा थापा

प्रतिक्रिया दिनुहोस्