अनुकूल सत्ताका ‘एक्का ट्रायल’



गरिब देशको सत्ता जहिल्यै धरमरधरमर भैरहेको हुन्छ । अझ यो विदेशस्थित शक्ति राष्ट्रहरूको पोल्टामा हुन्छ, भनिन्छ । नेपाली राजनीतिमा धेरैजसो आन्तरिक सत्ता परिवर्तनका सिलसिलामा समेत विदेशी चलखेलका कुराहरू बाहिर धेरै आउने गर्छन् ।

गठबन्धनको सत्ता परिवर्तन खातिर अनेक रूपमा प्रयास भैरहेका छन् तर अहिलेलाई जसरी पनि गठबन्धनकै सत्ता ‘घुमिफिरी रुम्जाटार’ भन्ने स्थितिमा आइसकेको छ । संसद्मा यसपटक कसैको बहुमत छैन । हुन त यो संविधान र चुनावी प्रणालीले कुनै

पार्टीको बहुमतको कल्पना गरेकै छैन । अझ प्राप्त गणितलाई हेर्दा अहिले झन् स्थिति नाजुक रहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओली यो संसारका त्यस्ता जिउँदा नेता हुन् उनलाई सत्तामा जसरी पनि नगई भएको छैन तर दुःखको कुरो उनको पार्टीको यतिखेर बहुमत छैन । उनको मात्र नभएर उनका शुभेच्छुक र इष्टमित्रहरूको मत जोडजाड गर्दासमेत बहुमत पुग्ने छाँटकाँट देखिन्न ।

एमालेले समानुपातिकमा राखेका मानिसहरूलाई हेरेर राजनीतिक मण्डीमा अनेकानेक टीकाटिप्पणीहरूसमेत नसुनिएका होइनन् । होली वाइनका प्रायोजक उर्फ नेपाल परिवार दलका नेता एकनाथ ढकालसमेत एमालेको समानुपातिक सिटबाट संघीय संसद्मा पस्न सफल भए । विचरा आस्था, निष्ठा र वैचारिक परिप्रेक्ष्यका धरोहर भीम रावललाई ओलीले संसद्को टिकटै दिएनन् । टिकट त दिएनन् दिएनन्, पश्चिममा चुनावी सभामा जाँदाखेरि अछामतिर हेर्नेहरूलाई भीम रावलसँग मिल्न जाओ भनेर भरी आमसभामा नागरिकहरूलाई भनेको सुनियो ।

एमालेको चुनावी सभामा एक्लै ओलीले देशव्यापी दौडाहा भ्याए । तै बरू कांग्रेसको भने शेरबहादुर देउवाले एक्लै भ्याएनन् । कुनै दौडाहामा देउवा पत्नी आरजु राणा देउवा, कुनैमा गगन थापा, कुनैमा शेखर, कुनैमा सशाङ्क र कुनैमा विश्वप्रकाश शर्माले समेत चुनावी सभा धानेका थिए । यसमा चाहिँ कांग्रेसमा धेरै म्याचुरिटी देखियो । ‘क्याडर बेस’ पार्टी भनेर एमालेले आफूलाई भन्छ । हो एमाले क्याडर बेस पार्टी हो अनि त्यही पार्टीको चाहिँ दोस्रो, तेस्रो र चौथो पुस्ताका नेताहरू देश, प्रदेश र जिल्ला दौडाहामा जानुपर्ने हो तर त्यो देखिएन ।

अब सत्ताको रेखी हाल्न थालियो । सबै नेताहरू मुख मिठ्याएर बसेका छन् । सत्ताका एक्का ट्रायलमध्ये पहिलो, सुरतको एक्का यतिखेर नेपाली कांग्रेसका सभापति तथा डडेलधुराबाट संघीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका विजयी उम्मेदवार शेरबहादुर देउवा सत्तादौडमा सबैभन्दा अगाडि छन् । उनीसँग यतिखेर गठबन्धन नामको देशका प्रमुख पदहरूमा भागवण्डा गरी खाने दलहरू झुम्मिएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा, जसपा, जनमत पार्टी र जनमोर्चा गरेर बहुमतको सरकार बनाउन सक्छ । त्यो सरकार कति वर्षसम्म जान्छ या जाँदैन, त्यो भन्न सकिन्न तर सरकार बनेर विश्वासको मत लिन सक्यो भने खेली–खेली २ वर्षसम्म सजिलै जाने देखियो ।

दोस्रो, पानको एक्का याने एक्का ट्रायल भनेका यतिखेर केपी ओली हुन् । तित्राको जस्तो तीतो बोली भए पनि उनले हरेक राजनीतिज्ञ, पत्रकार र प्रशासकको पानी सबै छामेका छन् । खुरापाती भनिन्छ, ‘राजनीतिमा केपी बाले विद्यावारिधि’ नै गरेका छन्, त्यसैले पढेर विद्यावारिधि गर्नेलाई उनी मान्छे गन्दैनन् । यो उनको लोली, बोली र अभिव्यक्तिका तीखा गोलीबाटै थाहा हुन्छ ।

जसरी रविको राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र एमालेलाई बाहिर राखेर अन्य सबै दल मिलाउँदा कांग्रेसको नेतृत्वमा सरकार गठन हुन सक्ने देखिन्छ त्यसै गरी कांग्रेसलाई सर्लक्कै बाहिर राखेर नेकपा एमालेको नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, जसपा, राप्रपा, रास्वपा, नाउपा, जनमत र जनमोर्चा पार्टीलाई मिलाउँदासमेत एमालेको बहुमत पुग्छ । एमालेको नेतृत्वमा दुई वा दुईभन्दा बढी दलहरू मिलाएर सरकार बनाउन सकिन्छ भन्ने गणित पनि यतिखेर संसद्मा छ ।

उसै त राजनीतिलाई चरम सम्भावनाको खेल भनिन्छ । अझ नेपालजस्तो गरिब र चेतनाको पारो निक्कै तल भएको देशमा त ‘कालेकाले मिलेर खाऊँ भाले’ भन्ने तालमा सत्ता भागवण्डाका लागि आफूखुशी राजनीतिको विशेषता बनाउँदा राजनीतिलाई सम्भावनाको खेल र राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हुँदैन भन्दै यस्ता दही चिउरे कुराहरू यिनै नेताहरू गर्न थाल्छन् । यो सरासर फट्याइँगिरी हो ।

राजनीतिमा असम्भव भनेकै विपरीत ध्रुवका राजनीतिक सिद्धान्त भएका पार्टीहरूबीच कहिल्यै कार्यगत एकता हुँदैन । नीति, विचार, कार्यक्रम र सिद्धान्त मिल्नेसँगै अल्पकालीन र दीर्घकालीनरूपमा एकता हुन सक्छ । हिजो एमाले र माओवादीबीच २०७४ को संघीय चुनावमा कार्यगत एकता भएर नेकपा बन्दा झन्डै दुई तिहाइको सरकार क्रियाशील थियो ।

अर्का तेस्रा, एक्का भनेका प्रचण्ड उर्फ पुष्पकमल दाहाल हुन् । यिनी डा. बाबुराम भट्टराईपछिका सर्वाधिक चञ्चले नेता हुन् । उनले बोलेका कुराहरू धेरै लामो सङ्ग्रह गर्नै पर्दैन । एक महिनाको मात्रै कलेक्सन गरेर उनैका पार्टीका कार्यकर्ता र मतदाताहरूलाई सुनाउने हो भने कसैले विश्वास गर्दैनन् ।

यो मानेमा उनी सबैभन्दा फितला नेताका रूपमा देखा पर्छन् ।उनलाई सत्ताको चाबी आफूसँग छ भन्ने भ्रम छ तर के कुरा साँचो हो भने, उनी मात्र वर्तमान त्रिशंकू संसद्का चाबी होइनन् । उनीजस्तै माधव नेपाल राष्ट्रिय पार्टी नभए पनि उनका १० जना सांसदका भरमा समेत उनी सत्ताको चाबी बन्न सक्छन् । दुःखको कुरो माधव नेपालको यो संसद्मा पार्टीको हैसियत नभएर स्वतन्त्रको हैसियत स्थापित भयो ।

गजब छ राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको संसद्मा उपस्थिति भने राष्ट्रिय पार्टीका नाममा भयो तर नेकपा एकीकृत समाजवादी भनेर गठबन्धनको सहयात्री भई चुनावमा गएको एकीकृत समाजवादी भने स्वतन्त्रको हैसियतमा चाउरियो । जसले गर्दा उसलाई ४ सिट समानुपातिकमा चोखै घाटा भयो ।

त्यसैले माओवादीले आफ्नो संख्या देखाएर यो वा त्यो भाष्यमा व्याख्या गरे पनि घुर्की लगाउनु यो उनको कांग्रेस र एमालेलाई धम्क्याएर आफ्नो पार्टी माओवादी केन्द्रलाई धेरैभन्दा धेरै सिट दिलाउँदै मन्त्रिपरिषद्मा लैजानु हो । यतिखेर माओवादी केन्द्रका नेताहरू सत्ताबाहिर बस्नै नसक्ने गरी शिथिल भएका छन् ।

गएको सरकारमा रहेका र अहिले काम चलाउ अर्थमन्त्रीसमेत भैसकेका जनार्दन शर्मा प्रभाकरले केही महिनाअघि नेपाल राष्ट्र बैंकका गभर्नरसँग लिएको अड्डी र खेलेको पौँठेजोरीलाई हेर्दा नेपालको अर्थमन्त्रीको इतिहासमा यस्ता निर्लज्ज र ढिट कुनै पनि अर्थमन्त्रीहरू नेपालले पाएको रहेनछ भन्न सकिन्छ । अर्थतन्त्र डामाडोल भएर ओरालो यात्रातर्फ लागिरहँदासमेत उनले बजेट बनाउँदा मध्यरातमा छिराएका अर्थ मन्त्रालयका भूपू सुब्बाको कर्तूतको नैतिक जिम्मेवारी लिनुपर्ने दायित्व नै ठानेनन् ।

फलतः अर्थतन्त्रमा अनेक किसिमका ऐँजेरू पलाएको महसुस गरियो । शर्माले निर्लज्ज भएर राजीनामाको ‘र’ पनि उच्चारण गरेनन् ।यी तीन एक्कामध्ये कुनचाहिँ एक्काको दिन बलेको छ, त्यो हेर्न अब केही हप्तामात्र बाँकी छ । सजिलोसँग सत्तारोहण भयो भने गठबन्धनले नै सरकार बनाउने निश्चितप्रायः छ ।

होइन सत्ताभित्रका खेलहरू चलायमान हुन थाले र प्रचण्डले ‘अगर, मगर, लेकिन, बट्, किन्तु र तर’ को फुच्चे खेल खेले भनेचाहिँ सत्ताको तुरूप उनीसँग रहेको मानिने छ । त्यस्तो बेलामा कांग्रेस बाहिर बसेर एमालेको नेतृत्वलाई प्रचण्डले त्वम् शरणम् भनी पछ्याउनुको कुनै विकल्पै छैन । यस्तो अवस्थामा भने प्रचण्ड रुझेको बिरालो हुन सक्छन् ।

अनि एमालेलाई बाहिर राखेर कांग्रेससँगको सत्ताको तिजोरी खोल्ने कार्यक्रममा प्रचण्ड सहभागी भए पनि उनी कांग्रेसपछिको दोस्रो ठूलो दल बनेपछि उनले भनेका संख्यामा मन्त्री र मन्त्रालय पाउनसमेत पछि पर्दैनन् ।त्यसैले त उनी बृहत् शान्ति सम्झौताको एक अभिन्न अङ्ग भनिरहेका छन् । यसको तुक त्यही हो ।

आफू र आफ्नो संसद्वादी सत्ताको गणितलाई एमालेसँगको तराजुको पल्लामा राखेर जोख्दा फाइदा हुन्छ भने त्यसै गर्ने र कांग्रेसँगको सत्ताको तराजुको पल्लामा राखेर जोख्दा फाइदा भयो भने त्यसै गर्न सक्छन् । किनकि उनको सिद्धान्त, निष्ठा र आस्था धेरै अघि बोधिइसकेको छ । डा. बाबुराम भट्टराई र नेकपाका अर्का नेता मोहन वैद्य किरणसँग उनको बसाउठा नमिलेको पनि त्यही उनको चञ्चलेपनका कारणले हो ।

राजनीतिमा हुन नसक्ने÷नहुने तर नेपालमा भने पदका लागि सबै कुरा गर्न पछि नपर्ने राजनीतिज्ञका खातिर अर्को एउटा समिकरणसमेत नहोला भन्न सकिन्न । त्यो सम्भावना हो कांग्रेस र एमालेको संयुक्त सरकार । यसो भयो भने बाद बाँकी सबै भुरे–टाकुरे राजनीतिक पार्टीहरू एक भएर प्रतिपक्षी बेन्चमा बस्न बाध्य हुनेछन् । दुई ठूला दलहरू मिलिसकेपछि बाँकी रहेका स–साना दलहरूले आफूलाई जोगाउनका लागि जनताका कामहरू भटाभट गर्ने र जनताकै बोली बोल्नुपर्ने देखिन्छ ।

यसो हुन सक्यो भने अहिलेका भन्दा थोरै मन्त्रीले काम गर्न पाउने छन् । जनतका हितमा पाँच वर्ष भटाभटी काम गर्ने, कामका आधारमा दुवै पार्टीहरूले जश लिने र पुनः पाँच वर्षपछि सरक्क चुनावमा जाने हो भने नेपालको राजनीतिमा जानेर होस् या नजानेर होस् नयाँ सूत्रको अविर्भाव हुने थियो ।

तर यो कुरा सम्भव होला भनेर एक प्रतिशत विश्वास नलिए हुन्छ । जसरी नदीका दुई किनारा कहिल्यै मिल्न सक्दैनन् त्यसै गरी सेन्टर राइटको पार्टी नेपाली कांग्रेस र सेन्टर लेफ्टको पार्टी नेकपा एमाले दुवै आ–आफ्ना ठाउँमा नदीका दुई किनारा नै हुन् । अतः यो सम्भव छैन । यी सब मनको लड्डु घिउसँग खाने कुरामात्र हुन् ।

यसै माहोलमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अन्तर्वार्ता दिँदै भनेछन्– ‘कांग्रेसले बनाउने सरकारमा एमाले प्रतिपक्ष भएर बस्छ तर प्रधानमन्त्रीबाहेकका हरेक पदमा पावर सेयरिङ गरेर जानुपर्छ ।’ यो कस्तो भनाइ हो, जबकि एमाले सत्ताभित्र नै आउँदैन भने ऊसँग पावर सेयरिङ गरेर जाँदा बाँकी गठबन्धनका दलहरूको हबिगत कस्तो हुने ? यो विचारणीय प्रश्न छ । नहुने कुराहरू पनि नेताहरूले बोलिरहनुको एउटै कारण हो कि उनीहरू सत्ताविना एक निमेष त्यतिकै बस्नै सक्दैनन् । यसले राजनीति सत्ताको सौदाका लागि कसरी बेपार बनेको छ भनेर देखाउँछ । बाँकी कुरा जनताले बुझिरहकै छन् ।

प्रतिक्रिया दिनुहोस्