‘युवा बेरोजगार भएको देख्न सक्तिन’



‘युवा बेरोजगार भएको देख्न सक्तिन म !’ गहिरो जीवनवादी सोच र शीर्षकका लागि पूर्वको सुन्दर नगरी धरानका मेयर हर्क साङ्पाङजीलाई हार्दिक आभार प्रकट गर्नु आफ्नो कर्तव्य सम्झनै पर्छ । यो संसारमा दुई प्रकारका नेता हुन्छन्– एक आफ्नो लागि र दुई अर्काका लागि । मेयर हर्क साङ्पाङ यतिखेर अर्काका लागि नेता भएका रहेछन् ।

यो देशमा अहिले राजनीतिमा लाग्ने केही नूतन प्रवृत्ति र सोच भएका मानिसबाहेक अन्य बाँकी सबै मानिस बेरोजगार भएका छन् । खुशीको कुरो त यहाँ चुनाव आएपछि जोसुकै व्यक्ति पनि मिडियामा छाएर राजनीतिक विश्लेषक हुने, यु ट्युबे पत्रकारहरूका अघि स्वनामधन्य विश्लेषक भएर आफूलाई मन नपरेका व्यक्ति, पात्र र पार्टीहरूप्रति भँडास ओकल्ने गर्दछन् । मौसमीरूपमा परिवर्तन भैरहने त्यस्ता विश्लेषकहरूले बोलेका कुराहरूले कहिल्यै माने मतलब राख्दैनन् ।

राजनीतिमा विभिन्न प्रकारले मानिसहरू आउने गर्दछन् । कोही पारिवारिक विरासत निभाउनका लागि, कोही समाजमा भए-गरेका पुराना प्रवृत्ति बदल्नका लागि, कोही राजनीतिक दर्शनका आभा र आकर्षणले शततः तानिएर र कोही विद्रोह या चेपुवामा परेर आफ्नो स्वबचाउ एवम् न्यायका लागि आउने गर्दछन् । नेपालमा यही प्रवृत्तिको बोलवाला भएको देखियो । यसरी हुने नेताहरूमा आफ्ना लागि नेता जोसुकै हुन सक्छ ।

जहिलेसुकै हुन सक्छ । जसरी पनि हुन सक्छ । सनतानदेखिको चलिआएको रीतलाई आफ्नो पक्षमा पार्न अकूत पैसा खर्च गरेर चुनावमा मत किन्न सक्छ । विरासतमा पाएको पदलाई बाबु बराजुको नामका लागि ‘हिङ बाँधेको टालो’ भन्ने उपनामसँग भँजाउन सक्छ । मानिस मारेर या विद्रोह गरेर आउन सक्छ । जसरी आए पनि त्यो मानिसहरूका दिल र दिमागमा बसिरहनका लागि उसले धेरै माथापच्ची गर्नुपर्ने हुन्छ । धेरै पापड बेल्नुपर्ने हुन्छ ।

राजनीतिमा टिकिरहनु भनेको हिमालको चुचुरोमा अडिरहनुजस्तै हो, जो अत्यन्त कठिन हुन्छ । चुनावमा ह्वात्त बाढीझैँ आएर चुनावपछि स्वाट्ट सुक्नेहरूका लागि राजनीति न कुनै जादुको लौरो हो, न कुनै टुनामुनाको श्लोक हो । यो त फगत पानीफोको हो, जो हावाको ससानो झोक्कामै फुट्न सक्छ । यही देखिएको छ– हाम्रो समाजमा ।

यतिखेर दुर्नाम चलाउन अभ्यस्त वृद्धहरूले युवाहरूका बाटो छेक्ने भए । यो नै अहिलेको सबैभन्दा ठूलो दुःख हो । दुःख त यस कारणले हो कि युवाहरू आफ्ना पार्टी या गुटमा विद्रोह गर्नै नसक्ने अवस्थामा देखिन्छन् । उसो त यतिखेर दलमा दलदलतन्त्र मौलाएको छ । सबै दलमा सकुनीहरू छन् ।

कुन दलमा कति बढी, कुन दलमा कति कम भन्ने मात्रै हो । रवि लामिछानेको दलको प्रत्यक्षमा ७ र समानुपातिकमा १४ गरी कुल २१ सिट आएकोमा यतिखेर प्रमुख राजनीतिक दलका नेताहरूको निद भङ्ग भएको छ । देउवाको बोली बन्द भएको छ भने ओलीले चुनावअघि गरेको प्रक्षेपणले हावा खाएको छ । उनले रविका बारेमा गरेको आङ्कलन सततः मित्थ्या साबित भएको छ ।

‘स्वतन्त्रले एक सिट पनि जित्नैनन्’ भनेकोमा यतिखेर रविको पार्टीले मात्र २१ र अन्य स्वतन्त्रहरूले ५ सिट हात पारेका छन् । यो बूढा दल र तिनका नेताहरूका लागि दह्रो सबक हो । सोचेभन्दा बढी मत आएर संसद् प्रवेशको तयारी भैरहेका बेला रविको चौतर्फी विरोध भैरहेको छ । कोही उनको विदेशी पासपोर्ट र नेपाली नागरिकता नभएको बारे फन्डा झिकेर बखेडासमेत गरिरहेका छन् ।

कोहीचाहिँ उनको मात्र नभएर हालैको चुनावमा प्रत्यक्षतर्फ १ र समानुपातिक तर्फ ४ सिट जितेका जनमत पार्टीका नेता सिके राउतका हातमा समेत अमेरिकी पासपोर्ट भएकाले उनलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै छन् । उसो त नेपाली कांग्रेसका भूपू सभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकी सुपुत्री सुजाता कोइरालाका हातमा पनि जर्मन पासपोर्ट छ, खै ! उनको नागरिकताको खोजीखबरी भएको छैन त भनिरहेका छन् ।

फेदैमा गएर खोज्ने हो भने यहाँ राजनीति गर्ने धेरैका धेरै कागजातहरू कानुनबमोजिम रुजू नभैरहेका हुन सक्छन् । यो कुरालाई बेलैमा चेक गरिएन भने भोलि तिनीहरूले अनेक समस्या ननिम्त्याउलान् भन्न सकिँदैन ।कथाव्यथा सबैको फरकफरक भए पनि कमी र आवश्यकता भने सबैको पैसा नै रहेछ । यो कुरा राजनीति गर्नेहरूमा झन् धेरै देखियो । कसै–कसैमा अपवादमा मात्र देखिएन ।

जस्तो– हालै केही महिनाअघि मात्र दिवङ्गत भएका नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरीको जीवन, सोच, आदर्श र राजनीति गराइको तौरतरिकाहरू पैसाका लागि मरिहत्ते गरेको पटक्कै देखिएन । उहिले नेपाली कांग्रेसकै आदर्शवादी नेता सिके प्रसाईं (छत्रमानकेसरी प्रसाईं) त्यस्तै भन्थे । अझ उनी त ‘मन जे मान्यो त्यो सत्य’ भन्दथे ।मनले मानेको र ठानेको कुरा सत्य हो । चाहे त्यो निरक्षरको सोच होस् या साक्षरको या शिक्षितको नै । हरेक मानिसको हृदयमा हरिको बास छ । मानिस जति नै नपढेको होस् उसमा ज्ञान छ भने संसारलाई बुझाउन सक्ने तागत उसमा हुन्छ ।

यो देखिएको छ । विगत ७ महिनायता मेयरको पदमा आसीन हर्क साङ्पाङको काम गराइको शैली र सोचमा त्यो देखियो । चुनावअघि उनी एक्लै माइक लिएर प्रचारप्रसारमा हिँडेका, कसैले उनले भनेको नसुनेको-नदेखिएको तर चुनावमा उनी विपक्षी उम्मेदवारका विरुद्ध करिब ५ हजार मतान्तरसाथ सानदार ढङ्गले मेयर पदमा विजयी हुनुले उनको प्रचारप्रसार ह्वात्तै बढ्यो ।

यतिखेर उनी मेयर भएर चुप लागेर बसेका छैनन् । उनले आफूले सुविधामा पाउने गाडीसमेत नकिनेर नगरको विकासका लागि डोजर र जेसिबी किने । उनी धराने जनतालाई पानी खुवाउन लागिपरेका छन् । उनी धरानमा साबन र बेसार उद्योग खोल्छु भन्दै छन् ।

उनको सिको गर्दै काठमाडौँका मेयर बालेन्द्र शाहले समेत टुकुचा खोल्ने काम गरे भने कहिले थापाथलीको एरिया बागमती नदी किनारमा बसेका अवैध सुकुम्बासी उर्फ हुकुम्बासीलाई उठाउनका लागि लागिपरे । केही दिनमात्रै लोक सेवा आयोगबाट परीक्षा लिएका तर वैकल्पिक र अस्थायी सूचीमा परेर जागिर खान नसकिरहेका इन्जिनियरहरूलाई बालेन शाहले काठमाडौँ महानगरपालिकाका रिक्त इन्जिनियरमा मेरिट लिस्टबाट चुनेर लिने निर्णय गर्नाले यतिखेर सबैका हाइहाइ बनेका छन् ।

लोभानीपापानी नभएका स्वतन्त्र जनप्रतिनिधिहरूले गर्ने काम भनेकै यस्तै खालका जनप्रिय हुनुपर्दछ । अनि मात्र जनताले पत्याउने गर्दछन् । जनतालाई एक हिसाबले हेर्दा राजनीतिक पार्टीका कार्यकर्ता वा नेताहरू चुनिएर सत्तामा आउनुभन्दा स्वतन्त्रहरू नै चुनिएर सत्तामा आउनु धेरै गुणा राम्रो रहेछ भन्ने कुरा बल्ल चाल पाए ।

यो कुराको सकारात्मक असर हालै सम्पन्न प्रतिनिधिसभाको चुनावबाट निर्वाचित जनप्रतिनिधिहरूमा परेको देखियो । चितवन क्षेत्र नं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद रवि लामिछानेले चितवन जिल्लाको उनको निर्वाचन क्षेत्रमध्ये खानेपानीको सुविधा नभएको स्थानमा मुहान पत्ता लगाई खानेपानी ल्याउने कामको नेतृत्व लिए ।

त्यसै गरी उनले खेतीपातीका लागि रासायनिक मल आयात सम्बन्धमा के–कस्तो व्यवस्था हुँदो रहेछ, त्यो बुझ्नका लागि चितवनस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको अफिसमा गई बुझ्ने काम गरे । यतिखेर हिउँदे बालीका लागि गहुँ लगाउने ठिक्क समय भएको छ । भारतबाट आउने मल पूरै कागजी प्रक्रियाले गर्दा किसानहरूले भनेका बेला नपाउने समस्या खेतीपातीका लागि चर्को हुँदै गएको छ भने अर्कातिर निजी कम्पनीहरूले मगाएको मलमा भने जथाभावी भाउ राखेर ब्ल्याकमा विक्री गरिएको समेत पाइएको छ ।

यस्तो अवस्थालाई अन्त्य गर्न जनप्रतिनिधिहरू नै नताती भएकै छैन । यो कुरा अबका नयाँ र युवा जनप्रतिनिधिहरूले बुझेरै होला जनसरोकारका सवालमा हात हाल्न थालेका छन् । यो सोह्रै आना राम्रो उदाहरण हो ।कृषिलाई प्राथमिकतामा नराखी नेपाल अब उँभो लाग्दैन । यो कुरा नयाँ र ऊर्जावान् तथा भिजनेबल नेताहरूलाई गज्जबसँग थाहा छ ।

त्यसैले उनीहरूले अब कृषिमा हात हाल्नैका लागि मल, बीउ, आधुनिक कृषि औजार, सिंचाइ, उत्पादन, बजार, वितरण र मुनाफालाई बुँदागतरूपमा छोटकरीमा विश्लेषण गरेर ‘भिजन, मिसन र गोल’ सेट गरेरै अघि जानुपर्ने बेला भैसकेको छ । यही कुरालाई नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नं.–५ का जनप्रतिनिधि प्रदीप पौडेलले आफ्नो क्षेत्रको समस्या राम्रोसँग गहिराइमा बुझेर चक्रपथ विस्तारको कार्यमा भएको ढिलासुस्तीबारे गहिरो चासो लिँदै व्यापकरूपमा सम्बन्धित निकायलाई निर्देशन दिने काम गरे ।

अबको पाँच वर्ष अहिले जति पनि युवाहरू संघीय र प्रादेशिक संसद्मा चुनिएर गएका छन्, तत्–तत् स्थानमा फास्ट ट्रयाकमा गएर काम नगर्ने हो भने आउने चुनावमा ती युवाहरूका विकल्पमा समेत थप नयाँ युवाहरू जुलुस बनेर सांसद बन्दै संसद् भवन छिर्ने पक्कापक्की छ । त्यसैले बूढा, पुराना, काम टोल्ने, अनेक बहानाबाजी गर्ने साथै अगर, मगर, लेकिन, बट, किन्तु र तर भन्नेहरूलाई जनताले एकातिरबाट खबरदारी गरिरहनेछन् भने अर्कातिर संसद्मै गएका युवा र नयाँ सांसदहरूले -याख-याख्ती पार्न छाड्ने छैनन् ।

जसले जे भने पनि युवाहरूले युवाहरूका लागि अब काम गरेनन् भने तमाम युवा नेतृत्वप्रति नै आम युवाहरूको विश्वास उठेर जानेछ अनि कुनै हालतमा भोलिका युवाहरूले आउने चुनावमा युवाहरूप्रति विश्वास जनाउने छैनन् । यदि त्यसो भयो भने यो देशको कायापलट गर्नका लागि जागेका युवाहरूको सपनामा तुषारापात हुनेछ । जसले देश झन्–झन् अधोगतिमा जान बाध्य हुनेछ । यो पाँच वर्ष जे–जस्तो रूपमा सरकार सञ्चालन भए पनि युवाहरूको स्पिरिट पक्रन नसक्ने सांसदहरूलाई संसद्भित्रैबाट काम गर्न व्यापक जनदबाव आउनेछ ।
व्यङ्ग्य कवि अर्जुन पराजुली सटिक पारामा लेख्छन्–
‘हिजो
बा–आमा
जति बेला
तन्नेरी थिए
आफ्नू देशमा
आफ्ना छोराछोरीका लागि पसिना बगाए ।
आज
छोराछोरी
जति बेला तन्नेरी भए
अरूको देशमा
अरूका बा–आमाका लागि पसिना बगाउँदै छन् ।
हो,
त्यही देश मेरो हो ।’
यति भनिसकेपछि बाँकी लम्बेतान रूपमा भाष्यको केही जरूरतै पर्दैन । मिलाएर आफैँ बुझ्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्