उरुग्वे फेरि विश्व च्याम्पियन

चौथो विश्वकप १९५०



काठमाडौं । 

दोस्रो विश्वयुद्धले गर्दा विश्वकपमा १२ वर्षको विराम लागेको थियो । सन् १९४२ र सन् १९४६ मा हुनुपर्ने विश्वकपमा विश्वयुद्ध खलनायक बनेको थियो । सन् १९४७ मा लक्जेम्बर्गमा भएको फिफा कंग्रेसको बैठकले चौथो विश्वकप १९४९ मा आयोजना गर्ने तय गरिएको थियो ।

उक्त बैठकमा विश्वकपमा नाम परिमार्जन गरी विश्व च्याम्पियनसिपको नाममा प्रतियोगिता आयोजना गर्न पनि निर्णय भएको थियो । यसै बैठकबाट ट्रफीको नाम जुल्स रिमेटको नाममा राखिने निर्णय पारित गरेको थियो ।रिमेटले विश्वकपको ट्रफी बचाएर राखेका थिए । विश्वयुद्ध ताका जर्मनी सेनाबाट बचाउन उनले आफ्नो पलङमुनि जुत्ताको बाकसभित्र लुकाएर राखेका थिए । उनको यो गुणले गर्दा ट्रफीको नाम रिमेटको नाम राखिने सहमत भएको थियो ।

दोस्रो विश्वयुद्धको कारण विश्वकप आयोजना गर्न कुनै राष्ट्रले पनि प्रतियोगिता आँट गरेनन् । तर, दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले अन्तिममा प्रतियोगिता आयोजना गर्ने जिम्मा लियो । हुन त, युरोपका राष्ट्र यो प्रतियोगिता गर्न लालायित थिए । तर, युद्धको भुमरिमा कुनै पनि युरोपेली राष्ट्र बचेका थिएनन् । त्यसैले, उनीहरूले चाहेर पनि प्रतियोगिता आयोजना गर्न सकेनन् ।उता, दक्षिण अमेरिकामा भने युद्धको कुनै प्रभाव परेको थिएन । १९३८ देखि १९५० सम्म दक्षिण अमेरिकी फुटबल च्याम्पियनसिप भने सातपटक आयोजना भएको थियो । त्यसमध्ये दक्षिण अमेरिककी च्याम्पियनसिपको अन्तिम प्रतियोगिता १९४९ मा ब्राजिलमा भएको थियो । १९४९ मा विश्वकप आयोजना गर्ने भनेपनि ब्राजिलले त्यसमा आयोजना गर्न सकेन र एक वर्षपछि ब्राजिलमा विश्वकप शुरु भएको थियो ।

छनोट चरण

छनोट चरणका खेलहरू अव्यवस्थित भएका थिए । सहभागी राष्ट्रको संख्या ३२ अंकमा पुगेको थियो । यसअघि १६ राष्ट्रले सहभागिता जनाउँदै आएकोमा सन् १९५० को विश्वकपमा यो संख्या दोब्बर भयो । अर्जेन्टिना, इक्वेडर, पेरु, बेल्जियम र अष्ट्रियाले खेल्नुअघि नै प्रतियोगिताबाट नाम फिर्ता लिए । ब्रिटिस राष्ट्रमा स्कटल्यान्डले पनि खेल्ने आनाकानी गर्दै अन्तिममा नाम फिर्ता लियो । तीनवटा विश्वकपसम्म पनि ब्रिटिस राष्ट्रले सहभागी जनाएका थिएनन् । यसमा भने इंग्ल्यान्डले सहभागिता जनायो । एसियाली राष्ट्र भारत र बर्माले पनि नाम फिर्ता लिए ।

प्रतियोगितामा युरोपका कम्युनिस्ट धार भएका राष्ट्रले खेल्न रुचाएनन् । त्यस्तै, युद्धको क्षतिग्रस्त भएका राष्ट्रहरू जर्मनी, हंगेरी र चेकोस्लोभाकियाले पनि खेल्न असमर्थता जनाएका थिए । धेरै राष्ट्रको सहभागिता नहुँदा छनोट चरणबाटै बाहिरिएका राष्ट्रलाई अवसर आयो । फ्रान्स र पोर्चुगल छनोट चरणबाट बाहिरिएका थिए । यी राष्ट्रलाई खेल्न निमन्त्रणा दिएपछि उनीहरूले स्विकार गरे । तर, फ्रान्सले भ्रमण खर्च बढी लाग्ने देखेर नाम फिर्ता लियो ।

असमान समूह

धेरै राष्ट्रले नाम फिर्ता लिएपछि समूह विभाजित गर्न कठिन भएको थियो । समूह एक र दुई मा चार चार टोली रहे । समूह तीनमा तीन टोली रहे भने समूह चारमा दुई टोली रहेका थिए । समूह नै असमान गरिएको थियो, पछि हेरफेर गर्न पनि गरिएन । समूह चारमा उरुग्वे र बोलिभिया मात्रै थिए ।

माराकाना रंगशाला बन्यो

यही विश्वकपका लागि ब्राजिलमा माराकाना रंगशाला निर्माण भएको थियो । तर, यो प्रतियोगिता आयोजना हुञ्जेलसम्म निर्माण कार्य सकिएन । ब्राजिल र मेक्सिकोबीचको उद्घाटन खेल खेलाउन रंगशाला नै उपलब्ध भएन । प्रतियोगिता शुरु हुन अघि २१ तोपको सलामी पनि दिइयो, आतिशबाजी गरियो । करिब ८१ हजार दर्शकसामु ब्राजिलले मेक्सिकोलाई ४–० ले हराएर विजयी शुरुवात ग¥यो । तर, स्विट्जरल्यान्डसँग भने ब्राजिल २–२ बराबरीमा रोकिएको थियो । ब्राजिलले युगोस्लोभायिालाई २–० ले हराएर समूहमा शीर्ष टोली बन्यो ।

समूह दुईबाट स्पेन शीर्ष टोलीको रुपमा अन्तिम चरणमा पुगेको थियो । स्पेनले इंग्ल्यान्डलाई १–० ले, चिलीलाई २–० ले र अमेरिकालाई ३–१ ले हराएको थियो । अमेरिकासँग स्पेन १–० ले पछि परेको थियो । झण्डै पराजित हुन लागेको स्पेनले अन्तिम १० मिनेटमा तीन गोल फर्काएर हार टारेको थियो । तर, अमेरिकाले इंग्ल्यान्डलाई १–० ले हराएर अप्रत्यासित निकाल्न सफल भएको थियो । यही अमेरिका चिलीसँग भने ५–२ ले हारेको थियो । बाँकी दुई समूहबाट स्विडेन र उरुग्वेले शीर्ष स्थान हासिल गरेका थिए । दुई पटकको च्याम्पियन र करिब १२ वर्ष विश्व च्याम्पियन बनेको इटाली समूह चरणबाटै बाहिरियो ।

अर्को समूह चरण

समूहबाट चार टोली स्पेन, ब्राजिल, स्विडेन र उरुग्वे अन्तिम चरणमा प्रवेश गरेका थिए । यस विश्वकपमा सेमिफाइनल खेल गराएको थिएन । यी चार टोलीबीच राउन्डरोविनको खेल खेलाइएको थियो । जुलाई ९ मा पहिलो खेलमा स्पेन र उरुग्वे २–२ बराबरी खेल्यो भने अर्को खेलमा ब्राजिलले स्विडेनलाई ७–१ गोलअन्तरले हरायो । यो खेलमा ब्राजिलका एडेमिर एक्लैले चार गोल गरे । चिकोले २ तथा मानेकाले एक गोल गरेका थिए ।

अर्को दिन जुलाई १३ मा भएको खेलमा पनि ब्राजिलले शानदार जित निकाल्यो । ब्राजिलले स्पेनलाई ६–१ ले हराएको थियो । यो खेलमा ब्राजिलका लागि एडेमिर र चिकोले २÷२ गोल गरे । यो जितले ब्राजिलको उपाधि जित्ने सम्भावना झनै प्रबल भएको थियो । उता उरुग्वेले स्विडेनलाई ३–२ ले हराएको थियो । यो जितले उरुग्वेको ३ अंक भयो भने ब्राजिलको ४ अंक भएको थियो ।

१ लाख ७३ हजार दर्शक

राउन्ड रोविनको अन्तिम खेल ब्राजिल र उरुग्वेबीच भएको थियो । यो खेल फाइनलको रूपमा रहेको थियो । माराकाना रंगशालामा यो खेल हेर्न करिब १ लाख ७३ हजार दर्शक उपस्थित थिए । घरेलु दर्शक र घरेलु टोली ब्राजिलको लागि विश्व च्याम्पियन बन्न मात्र बराबरी नतिजा पर्याप्त थियो । तर, यो खेल उरुग्वेले २–१ ले जितेर २० वर्षपछि फेरि च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको थियो ।

त्यसो त पहिलो गोल ब्राजिलका अल्बिनो फ्राएकाले गोल गरेका थिए । तर, ६६ औं मिनेटमा सियाफिनोले गोल गरेर खेल १–१ बराबरीमा ल्याए । यसपछि गिगियाले गोल थपेपछि उरुग्वे खेलमा २–१ को अग्रतामा रह्यो । त्यसपछि, कुनै गोल नभएपछि ५ अंकसहित उरुग्वे विश्व च्याम्पियन बन्यो । ब्राजिलको लागि यो विश्वकप दुःस्वप्नझंै भएको थियो ।
अन्तिम चरण
ब्राजिल ७–१ स्विडेन
उरुग्वे २–२ स्पेन
ब्राजिल ६–१ स्पेन
उरुग्वे ३–२ स्विडेन
स्विडेन ३–१ स्पेन
ब्राजिल १–२ उरुग्वे (फाइनल सरह खेल)

प्रतिक्रिया दिनुहोस्