शर्माको तेस्रो परीक्षा खरेलसँग



भद्रपुर ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा क्षेत्र नं १ का मतदाताले दुइ पटकसम्म सांसद बनाएनन् । २०७० सालको संविधान सभाको दोस्रो चुनावमा शर्मा एमालेका रविन कोइरालासँग पराजित हुनुभयो भने २०७४ सालको प्रतिनिधि सभाको चुनावका एमाले–माओवादी वाम गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार राम कार्कीसँग पराजित हुनुभयो । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा उहाँले तेस्रो पटक एमाले स्थायी समितिका सदस्य अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दै हुनुन्छ ।

शर्माले तीन पटकमा झापा क्षेत्र नं १ मा प्रतिद्वन्द्वी पनि तीनै थरी पाउनुभएको छ  । २०७० मा मेचीनगरका तत्कालीन मेयर रविन कोइरालासँग ६ सय ८९ मतले पराजित हुँदा २०७४ सालमा बाम गठबन्धनका साझा उम्मेदवार राम कार्कीसँग दुई हजार ८ सय ८३  मतले पछि पर्नुभयो । अहिले उहाँको प्रतिस्पर्धा एमालेकै तर नयाँ अनुहार अग्नी खरेलसँग हुँदैछ ।

२०७० सालको एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उहाँ स्थानीय उम्मेदवार  कोइरालासँग थोरै मतान्तरले हार्दा २०७४ मा बाम गठबन्धनको साझा उम्मेदवार  कार्कीसँग मतान्तर केही फराकिलो भयो । तर शर्माले झापा क्षेत्र नं १ मा समानुपातिकमा नेपाली काँग्रेस पार्टीले पाएको मतभन्दा मत धेरै पाएपनि, यद्यपी उहाँ दोस्रो पटक पराजित हुनभयो ।

२०७४ को एमाले र माओवादीको बाम गठबन्धन अहिले फुटेर काँग्रेस माओवादीको संयुक्त लोकतान्त्रिक बाम गठबन्धनमा परिणत भएको छ ।  झापा गौरादहका अग्नी खरेललाई एमालेले उम्मेदवार बनाउँदा उहाँलाई ‘टुरिस्ट’ उम्मेदवारको ट्याग लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता हुनुभएका  खरेलको पहिलो रोजाई झापा क्षेत्र नं २ थियो । तर त्यहाँ एमाले प्रदेश नं १ का इन्चार्ज देवराज घिमिरेले टिकट पाएपछि उहाँ एकाएक क्षेत्र नं १ मा धकेलिनुभएको  हो ।

एमालेले झापामा राप्रपासँग गठबन्धन गर्दा झापा क्षेत्र न १ को प्रदेश ‘ख’ राप्रपाको भागमा परेकाले समीकरण बिग्रिएको बताइन्छ । स्मरणियः कुरा के छ भने झापा क्षेत्र नं १ को प्रदेश ‘ख’ वाट एमालेले विष्णु प्रसाईको श्रीमती लता प्रसाईलाई चुनाव नलडाए  कोइरालालाई धोका हुने एकथरि एमालेजनमा डर भएकाले  कोइरालालाई प्रतिनिधि सभामा टिकट नदिएको चर्चा परिचर्चा हुने गरेको छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले विष्णु प्रसाईलाई मेचीनगरको मेयरमा चुनाव लड्दा कोइरालाको असहयोगले चुनाव हारेको आरोप कोइरालामाथि एमालेले लगाउँदै आएको छ । कोइरालालाई संघमा टिकट दिँदा एमाले पार्टी भित्रको राजनीतिक सन्तुलन मिलाउनको लागि लता प्रसाईलाई प्रदेश ‘ख’ मा टिकट दिए बल्ल विष्णु प्रसाईको साथ  कोइरालाले पाउने एमालेजनको बुझाइ रहेको बताइन्छ । तर प्रदेश ‘ख’ राप्रपाले पाएपछि एकाएक खरेलको आगमन झापा क्षेत्र नं १ मा भएको अड्कल लगाइएको छ ।

खरेलको आगमनले एमाले क्षेत्र नं १ मा एमालेलाई एकठिक्का पारेको घाटा शर्मालाई छ भने स्थानीय कोइराला भन्दा अर्को क्षेत्रको मान्छे आएर लड्दा उम्मेदवारको मतदातासँग सम्बन्ध कम हुने फाइदा शर्मालाई हुने देखिन्छ । अहिले गठबन्धनबाट माओवादीको भोट आफूलाई आउने र एमाले फुटेको फाइदा पनि हुने हिसाब निकाल्दा अंक गणित आफूतिर पल्लाभारी भएको बुझाई शर्माको छ । तर उहाँलाई आफ्नै पार्टी भित्रको अन्तर्घातको ठूलो डर पनि साथसाथै छ ।
स्थानीय तहको चुनावमा काँग्रेसमा आन्तरिक किचलोका कारण मेचीनगरको मेयर फराकिलो मतान्तरले पराजित भएको तात्तातो पिडा लगत्तै उहाँ अर्को चुनावको संघारमा हुनुहुन्छ । झापा क्षेत्र नं ३ वाट चुनाव लडिरहनुभएका काँग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पक्षधरवाट अन्तर्घातको डर उहाँमा छ । सिटौला खेमा परिवर्तन गरि राजनीतिक स्वार्थ पुरा गर्न आफ्नो खेमामा आएकाहरू मित्र भएर आएका छन् कि बैरी भएर आएका हुन् भन्ने अर्को त्रास पनि शर्मामा विंध्वमान छ  ।

राप्रपासँग गठबन्धन गरी चुनावमा होमिएको एमालेले २०७४ सालको चुनाव पछि थपिएका नयाँ मतदाता आफ्नो पक्षको बढी रहेको दाबी गरेको छ । एमालेको दाबीलाई स्थानीय तहको चुनावमा मेचीनगरमा एक्लै प्रतिस्पर्धा गर्दा पनि एमालेले पाएको मतले केही हदसम्म पुष्टि पनि गरेको देखिन्छ ।

२०७४ सालको स्थानीय तहको चुनावमा एक्लै लड्दा मेयर जितेको कांग्रेसले २०७९ सालको चुनावमा माओवादीको साथ पाउँदा पनि लज्जास्पद हार व्यहोरेको थियो । झापा बसाइँ सराई आउनेहरू अधिकांश इलाम, पाँचथर, ताप्लेजुङ, खोटाङ, तेह्रथुम, भोजपुर लगायतका जिल्लाबाट आउने र ती जिल्लाहरू एमाले जनाधार बलियो भएका जिल्लाहरू मानिन्छन् । यसले पनि काँग्रेस महामन्त्री शर्माको अङ्कगणित हलउन्मुख हुन सकेको देखिँदैन ।

मुख्य गरेर झापा कांग्रेसको कार्यबाहक सभापति समेत बनेका कृष्ण प्रसाद सिटौलाका विश्वास पात्र केशबराज पाण्डे र उनका समुह स्थानीय तहको चुनावमा जस्तै गरी भिलेन बन्दिने हुन कि भन्ने सर्वाधिक डर को सामना गरिरहेका शर्मालाई समग्रतामा २०७४ सालको प्रतिस्पर्धा भन्दा सहज अवस्थामा रहेको आंकलन भने जतासुकै छ ।

झापा क्षेत्र नं ५ मा विकास र समृद्धिको हिसाबले राजनीतिक हाई प्रोफाइल व्यक्तित्व एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउँदा समग्रतामा आम जनताले विकासको अवसर बढी पाए झैं विश्वप्रकाश शर्मा पार्टीको महामन्त्री र काँग्रेसको भावी पार्टी सभापतिको प्रचुर सम्भावना भएको नेता भएकाले चुनाव जिते ठूलो बजेट झापा क्षेत्र नं १ को विकासमा पार्नसक्ने र त्यसको फाइदा सम्पूर्ण मतदाताले पाउने हुँदा शर्मालाई एमाले र राप्रपाको ठूलो मत क्रस हुने सक्ने आधारहरू पनि उत्तिकै देखिन्छ ।

झापा क्षेत्र नं १ मा मेचीनगरका १५ वडा बुद्ध शान्तिका ४,५,६,७ र भद्रपुरका ९ र १०  गरी २१ वडाहरूमा कुल एक लाख २० हजार ३ सय पचहत्तर जना मतदाता रहेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्