घिउ बेचुवा र तरबार बेचुवाजस्ता दलहरू



लामा पार्वहरू बिदा भएर क्रमशः जाँदै छन् । दशैँ गयो । तिहार गयो । अब छठ जानेछ । ठूली एकादशी त्यसै गरी जानेछ । जाँदाजाँदै मङ्सिर ४ गते संघीय र प्रादेशिक संसद्का लागि हुने चुनावसमेत जानेछ । समयको यो महागतिमा रोकिने गुन्जायसै छैन तर यसपटकको चुनावले भने केही अकल्पनीय र अस्वाभाविक परिवर्तनहरू छाडेर जानेछ । जसका अहिलेदेखि नै परिवर्तनका छटाहरू देखिन थालिसकेका छन् ।

‘निर्वाचन आयोगको षड्यन्त्र सोसल मिडियालाई उत्तेजित बनाएर पुराना नेता हराउने योजना’ भन्ने आशयको टिप्पणी गर्दै अभिमन्यु टुइटरमा लेख्छन् । यो भनाइ पूर्णतया असत्य छैन । वर्तमान प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया बठ्याइँ भएका धूर्त प्रशासक हुन् ।

उनलाई पूर्व प्रम केपी ओलीले नियुक्त गरे र शेरबहादुर देउवालाई खुशी पारेर पदमा टिकेका हुन् । अब उनले दुवै बूढालाई पाखा लगाउनकै लागि यो जुक्ति झिके, जसले ‘सर्प पनि मर्ने र लौरोसमेत नभाँचिने’ उपाय अँगालेको छ । पुराना नेताहरूलाई ठाउँका ठाउँ रोक्न भनेरै अहिले सामाजिक सञ्जालमा अधिक युवाहरूले ‘नो नट अगेन’ भन्ने अभियान चलाएका छन् । यो अभियानले नेपाली राजनीतिमा स्थापित केही पुराना नेताहरूका नामै किटेर हराउनुपर्ने खालका प्रचार सामग्रीहरू फेसबुक र टुइटरमा राखेका पाइन्छन् ।

यिनै सामग्रीहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले यस्ता ग्रुपहरू तुरुन्त हटाउनुपर्ने र नहटाए एक लाख रुपैयाँ जरिवानाका साथै पाँच वर्ष कैद गर्नेसम्मको सजाय हुने सूचना जारी गरेको छ । सामाजिक सञ्जाललाई सूक्ष्मसँग नियालेका खण्डमा धेरैजसो स्वतन्त्र, बौद्धिक, विभिन्न क्षेत्रमा स्थापित व्यक्तित्व र चुनावबाट युवावय र सोचका व्यक्तिहरू चुनिएर आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्तिहरूले यसलाई एउटा गम्भीर सकारात्मक अभियानकै रुपमा लिएको बताइन्छ ।

स्थानीय विकासे अभियन्ता विपिन भट्टराई भन्छन्– ‘बारम्बार निर्वाचित भएका र निर्णायक पदमा पुग्दा पनि राम्रो काम गर्न नसकेका नेताहरूका कारण देश विकास हुन नसकेको धारणा राख्ने स्वतन्त्र उम्मेदवारको अभियानमा साथ दिएको ‘नो नट अगेन’ यो विशुद्ध युवाहरूको अभियान हो ।’ तर निर्वाचन आयोगको भनाइ भने अलि बेग्लै छ । उसले जारी गरेको विज्ञप्तिले भन्छ– ‘नामै किटेर कसैलाई हराऊँ या भोट नदिऊँ भन्नु भनेको उसप्रतिको अपमान हो ।

’ खासमा यो भनाइ नै एकपक्षीय छ, किनकि चुनावमा नामै किटेर विरोध या समर्थन नगरेसम्म त उम्मेदवारका पक्ष–विपक्षमा चुनावी माहौल नै सिर्जना हुन सक्दैन । त्यसैले यो विज्ञप्ति आयोगको त्यस्तो बुम¥याङ (प्रहार गरेर पनि आफ्नै हातमा आउने हतियार) हो, जसले पुराना तथा उम्मिद गैसकेका नेताहरूलाई सुरक्षा गर्ने कवचजस्तो देखाए पनि प्रकारान्तरले यसले तिनै पुराना र विश्वास खुइलिसकेका नेताहरूलाई नै समूलरुपमा हराउने रणनीति जो बोकेको छ ।

यसैलाई भन्छन् एक गोलीबाट दुई–दुई सिकार । वास्तवमा प्रमुख निर्वाचन आयुक्त अहिले यही खेल खेल्दै छन् । उनलाई थाहा छ– देशभित्रबाट मात्र फेसबुक पेज र ग्रुप खोलिँदैनन् । इन्टरनेटका जमानामा को कहाँबाट सञ्चालित छ, कसैलाई थाहा हुन सक्दैन । आचारसंहिताभित्र पारेर खोज्दाखोज्दै या अनुसन्धान गर्दागर्दै चुनाव आएर फुत्त गैसक्छ । हार्नेले हार्छ र जित्नेले जित्छ तर यसरी खोलिएका समूहहरूले गुणात्मकरुपमा प्रभाव पारेर गैसकेका हुन्छन् ।

गएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाहसमर्थक युवाहरूले गरेको चुनावी प्रचारशैली जब उनले विजय हासिल गरेर महानगरको पिता बन्ने सौभाग्य पाए अनि मात्र बाइलाइन समाचारका विषय भएथे । यसरी हेर्ने हो भने युवाहरूले गरेका प्रविधिमय तरक्कीलाई प्रशासनको उपल्लो तहमा विराजमान प्रशासकहरूले समेत रोकेर रोक्न सक्दैनन् भन्ने दृष्टांश हो यो ।

हालै बेलायतमा चार दशक उमेर नाघेका ४२ वर्षीय ऋषि सुनक त्यहाँका प्रधानमन्त्री भएर संसारका युवाहरूलाई प्रेरणाका पात्र बनेका छन् तर हामीकहाँ भने अहिले नै भन्न सकिन्छ सत्तारुढ गठबन्धनले जितेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा या माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा विपक्षी गठबन्धनले जितेमा केपी शर्मा ओली नै मुलुकका भावी प्रधानमन्त्री बन्ने निश्चित छ । यस्तो अवस्थामा व्यवस्था फेरेर पनि अवस्था नफेरिने दुर्गति देखेर नै युवाहरू नयाँ–नयाँ अभियानमा लागेका हुन् । जो अब कसैबाट छुप्न सक्दैन ।

गएको चुनावभन्दा यो चुनावमा माहोल धेरै फरक छ । स्वतन्त्रहरूले पुराना र स्थापित राजनीतिक पार्टीहरूलाई आच्छु–आच्छु पारेका छन् । उता पुरानियाहरूले अहिले आफ्ना नेता र पार्टीको साख जोगाउन अनेक ताल–तिकडम गर्नुपरेको छ । यतिखेर नेपाली कांग्रेसका नेताहरू ‘कांग्रेस भनेको माओवादी हो र माओवादी भनेको कांग्रेस हो’ भनेर विनातुकका गैरसैद्धान्तिक भाषणहरू गर्दै मतदातासँग आफूलाई मत मागिरहेका छन् भने प्रतिपक्षका नायक केपी ओलीचाहिँ ‘राजेन्द्र लिङ्देनलाई जसरी पनि झापाबाट जिताउनु एमालेको कर्तव्य भएको’ कुरा बताइरहेका छन् ।

उनी जगत् हँसाएरै भनिरहेका छन्– ‘लिङ्देन हारे राप्रपा मात्र हार्दैन एमाले सँगसँगै हार्छ । एमाले हारे समृद्धि र विकास हार्छ । समृद्धि र विकास हारे देश हार्छ ।’ यसरी मानौं लिङ्देन भनेकै देशजस्तै बनाएर जनतालाई गुमराहमा पार्दै मत मागिरहेका छन् । अचम्म छ चुनाव जित्ने रणनीति । यस्ता तीन न तेह्रका अवैचारिक कुराहरूले नै युवामन फाटेका छन् । युवाहरूले यो पटक नै आफूजस्तै युवाहरू संसद्मा भरिएको देख्न चाहेका छन् । अझ युवाहरूले नै सरकार चलाएको र प्रतिपक्षमा बसेको देख्न चाहेका हुन् । परिवर्तनकामी यस्ता कुरा वृद्धभत्ता खाने उमेरले डाँडो काटिसकेका वृद्ध नेताहरूलाई अलिकति पचेको छैन ।

उनीहरू त कोही चौथोपटक, कोही छैटौँपटक र कोही तेस्रोपटक प्रधानमन्त्री हुने सपना सँगालेर पार्टीलाई प्राइभेट लिमिटेड कम्पनी बनाउँदै आफ्ना पार्टीका नेता र कार्यकर्ताहरूलाई दास बनाएर फेरिफेरि आममतदाता र युवाहरूलाई बेबकुफ बनाउँदै सत्ताको चास्नीमा जान खुट्टो उचालेर बसेका छन् ।

चुनावी माहौल नै यसरी अघि बढेका बेला युवा भर्सेज वृद्ध मानसिकतालाई जरैदेखि उखेल्न अहिले समयले नै ‘नो नट अगेन’ अभियानको अभिर्भाव गरेको हो भन्नेहरूको कमी छैन । सामाजिक सञ्जाल हेर्दा झनै आक्रामक नो नट अगेन देखिएको छ । उता निर्वाचन आयोग भन्छ– ‘यस्तो अनर्गल प्रचारले निर्वाचन नै नहुने अवस्थाको जिम्मा कसले लिन्छ ?’ जवाफलाई बौद्धिक वर्गले केटाकेटीपन भन्दै भन्छ– ‘मैले कसैलाई किन भोट दिने र किन भोट नदिने भन्ने मेरो खुशीको कुरो हो ।

मेरो मर्जीको कुरालाई मैले कथ्न सक्छु, लेख्न सक्छु, कसैलाई सेयर गर्न सक्छु भने यो प्रविधिको विकास भएको युगमा फेसबुक पेज या ग्रुप बनाएर कसैले कसैलाई आफ्ना भावनाहरू सम्प्रेषण गरे भने त्यो अभिव्यक्ति स्वतन्त्रताकै परिचायक त हो । यसले कसैलाई किन टाउको दुख्नु ?’ यो भनाइमा असत्यता छैन ।संसार हेर्ने हो भने सर्वशक्तिमान देश कहलिएको अमेरिकामा दुई कार्यकालभन्दा धेरै राष्ट्रपति पदमा उम्मेदवार हुनै पाइँदैन । भारतमा समेत प्रधानमन्त्रीमा दुई कार्यकालको बन्देज छ । हालै उदाउँदो सर्वशक्तिमान देश चीनमा तेस्रो कार्यकालका लागि सी जिन पिङ राष्ट्रपतिमा तेहरिएर दोस्रो कार्यकालको परिसीमा बहादुरीसाथ तोडे ।

कम्युनिस्टहरूले आफ्नो फाइदाका लागि जे पनि गर्छन् भन्ने आशयको सन्देश दिँदै यो घटनाले विश्वलाई नकारात्मक सन्देश दिएको छ । त्यतिमात्र होइन, सो सम्मेलनमा पूर्वराष्ट्रपतिलाई अपमानपूर्वक घोक्र्याएर निकालेको दृश्य सिङ्गापुर टेलिभिजनले प्रसारण गर्दा चीनको वैश्विक बेइज्जती नै भएको महसुस राजनीतिक विश्लेषकहरूले गरेका छन् । संसारमा महाशक्ति भएपछि र सबैभन्दा बलवान् कहलिएपछि जसले जे गर्दा पनि हुने रहेछ भन्ने सन्देश अन्तिमपटक यसले प्रसारण गरेको छ ।

यस्तो माहोलमा निर्वाचन आयोगको रोइलोलाई बचकानापनको संज्ञा दिँदा हुन्छ । ऋषि सुनकको पोस्टमा कमेन्ट गर्न मिल्छ तर हाम्रा नेता देउवा, प्रचण्ड, ओली, माधव र झलनाथको पोस्टमा कमेन्ट गर्नै मिल्दैन । हाम्रा नेताको त सङ्कीर्णता थियो–थियो, अब त निर्वाचन आयोगको समेत सङ्कीर्णता थपियो । अर्थविद् रामेश्वर खनाल खिरिलो भावमा भन्छन्– ‘फलानालाई हुन्न भन्न पनि नपाइने व्यवस्था त ठीक लागेन है ।’ यो भनाइभित्र अस्वीकारको अधिकार हरेक मतदातासँग हुन्छ र हुनुपर्छ भन्ने भाव निहित रहेको छ ।

यो भनाइले साथसाथै वर्तमान नेपाली उच्च तहका प्रशासकहरूलाई दह्रो झापड हानेको छ । व्यक्तिले हुन्न या दिन्न भनेका कुरा प्रविधिमा आएर समूहलाई सेयर गरेको मात्र हो । यस्तो कार्यलाई दण्डनीय मान्ने प्रशासकहरूकै मानसिकतासमेत भविष्यमा दण्डनीय हुन्छ भन्न अब हामीले कुनै आइतबार पर्खनुपर्दैन ।एउटा उदाहरण– बेलायतमा भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसारभरिबाट अनेक जिज्ञासा र शुभकामनाका वर्षा भएकै बेला बेलायतबाट प्रकाशित हुने दैनिक पत्रिका ‘डेली मिरर’को ब्यानर न्यूजमा ‘द डेथ अफ डिमोक्रेसी’ भनेर सुनक प्रधानमन्त्रीमा निर्वाचित भएको घटनालाई नेगेटिभ विङले प्रकाशन गर्दै मूल समाचार प्रकाशित भएको छ ।

यसले के देखाउँछ भने, गोराहरू अझै गैरगोराहरूलाई आफ्नो एक्जुकेटिभमा स्वीकार्न नसक्ने मानसिकतामा रहेछन् । संसारै एकातिर र बेलायतीहरूको मानसिकता एकातिर हुँदासमेत सङ्कीर्ण मानसिकताको पल्ला भारी हुन्छ, त्यही भएर नै होला संसारमा विदेशी (?) लाई सत्ताको पहिलो व्यक्ति नस्वीकारिएको ?ऋषि सुनकका बाबु अफ्रिकामा जन्मे, आमा तान्जानियामा र सुनक बेलायतमा यति हुँदाहुँदै पनि उनलाई विदेशी देख्ने आँखाले कसै गरी पनि विदेशी रगतलाई पचाउन सक्दैन भन्ने प्रमाण त्यो डेली मिररको समाचारको हो ।

यता नेपालमा भने भर्खर गाली संस्कृति पन्पिँदै छ । ‘ओली भर्सेज देउवा गठबन्धन’ का राजनीतिक एजेन्डा तुरिएरै होलान् एक–अर्काले गरेका पाँडे गालीका उदाहरणहरू । देउवा भन्छन्– ओलीले मौका पाउनासाथ बर्बाद गर्दिन्छन् । प्रचण्ड भन्छन्– ओली बयलगाडे हुन्, अब त कहिल्यै मिल्दिन । माधव हसाउँछन्– ओलीले जिते भने हामीले देशै छाड्नुपर्ने हुनसक्छ । यी सबै घिउ बेचुवा बेपारीका विरुद्धमा तरबार बेचुवा बेपारी भएर ओली समष्टिमा जवाफ फर्काउँछन्– ‘मलाई मुख छाडेर कसैको जीविका चल्छ भने म खुशी नै हुन्छु ।’ सत्यता पर्गेल्न मङ्सिर ४ नै पर्खनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्