बास्केटबलका बहुआयामिक माइकल जोर्डन

कविरस शर्मा



काठमाडौं । 

सपना उसैको पूरा हुन्छ जसले सपना देख्ने हिम्मत राख्दछ । त्यस्तै हिम्मत राखेर आफ्नो सपना साकार पार्ने मध्येका एकजना व्यक्ति हुन् माइकल जेफ्रे जोर्डन । अहिले ५९ वर्षीय जोर्डन नेसनल बास्केटबल एसोसिएसन (एनबीए) अन्तर्गतको टोली चार्लाेट हर्नेट्सका मालिकसमेत हुन् ।

उनले बास्केटबल खेलाडी हुंदै बास्केटबल टिमको मालिक बन्ने हैसियत बनाएका हुन् । खेलाडी करियरमा एनबीए च्याम्पियनसिपमा १६ सिजन बास्केटबल खेल्दा सिकागो बुल्सबाट उनले ६ पटक उपाधि जितेका थिए । फोब्र्सको धनाढ्य सूचीमा पनि धेरैपटक उत्कृष्ट १० भित्र अटाइसकेका उनको सन् २०२२ सम्मको कुल आम्दानी १.७ बिलियन अमेरिकी डलर रहेको तथ्यांकले देखाउंछ ।

उनी अहिले जे जसरी सफल भएका छन्, त्यसको श्रेय उनैको आफ्नो बुद्धि र विवेकलाई जान्छ । बाल्यकालदेखि नै परिस्थितिअनुसार आफूलाई ढाल्न सक्ने खुबीका कारण उनले विपन्नतादेखि सम्पन्नतासम्मको यात्रा तय गरेका हुन् ।
उनको जीवनीमा आधारित केही लेखअनुसार बास्केटबल खेलका भगवान् नै कहलिएका माइकल जोर्डन एक गरिब परिवारमा जन्मिएका थिए ।

बास्केटबल त परको कुरा, उनलाई खानैका लागि समस्या थियो । तर, यो सब कुरालाई पन्छाउँदै आफ्नो लक्ष्यलाई पूरा गर्न जस्तोसुकै परीक्षामा पनि खरो उत्रने व्यक्तिको रूपमा परिचित बने माइकल जोर्डन । जब उनी १३ वर्षको थिए, उनका बुवाले एउटा कपडा देखाउँदै भने, बाबु यसको मूल्य कति पर्छ ? माइकलले सोच्दै भने, सायद एक डलर पनि पर्दैन होला । यो सुनेर उनको बुवाले भने, आज यसलाई दुई डलरमा बेचेर ल्याउ, बुवाले यस्तो भनेपछि जोर्डनले यो पुरानो कपडालाई दुई डलरमा कसरी बेच्न सकिन्छ होला भनेर सोचे ।

धेरै समयपछि उनले उपाय निकाले कि यसलाई सफा गरेपछि बिक्री हुन्छ होला । उनले उक्त टिसर्टलाई सफा गरे र रेल स्टेसन गए । करिब आठ घन्टापछि उक्त टिसर्टलाई दुई डलरमा बेच्न सफल भए । त्यसपछि, उनले लिएको त्यो दुई डलर बुवाको हातमा राखिदिए र त्यहाँबाट हिँडे ।त्यसको केही दिनपछि माइकललाई बोलाएर बुबाले फेरि भने, यो टिसर्टलाई कति पर्छ होला ? माइकलले जवाफ दिए सायद एक डलर, उनको जवाफ सुनेर बुवाले भने यो टिसर्ट लिएर जाउ र २० डलरमा बेचेर ल्याउ ।

त्यसपछि माइकलले फेरि सोच्न थाले । सायद १ डलर पनि मुस्किल पर्ने टिसर्टलाई २० डलरमा कसरी बेच्न सकिन्छ होला । उनले दिमाग लगाए अनि बजारमा गए । उक्त टिसर्टमा मिक्की माउसको स्टिकर टाँसेर ल्याए र स्कुल अगाडि बेच्न शुरु गरे । घण्टौँ कुरेपछि स्कुलको एक जना उक्त टिसर्ट बच्चालाई मन प¥यो र उक्त बच्चाले टिसर्ट किनिदिन उसको बुवालाई जिद्दी गर्न थाल्यो । त्यस बच्चाको बुवाले उक्त टिसर्टलाई २५ डलर दियो । २५ डलरमा माइकलले टिसर्ट बेचेर खुसी हुँदै बुबालाई २५ डलर हातमा थमाइदिए ।

त्यसको १५ दिनपछि उनका बुबाले फेरि बोलाए । फेरि १ डलरको टिसर्ट देखाउँदै भने, यो टिसर्ट २ सय डलरमा बेचेर ल्याउ । माइकलले बुबालाई नाई भन्न सकेनन् र टिसर्ट बेच्नका लागि हिंडे । माइकलले सोच्न थाले, १ डलरको टिसर्टलाई २ सय डलरमा कसरी बेच्न सकिन्छ । त्यसपछि उनी सहर गए । त्यो सहरमा एकजना चर्चित कलाकारको स्टेज कार्यक्रम थियो । त्यो देखेर उनले सोचे कि उक्त कलाकारको अटोग्राफ लियो भने त जसले पनि महँगोमा टिसर्ट किन्छन् होला । उनले धेरै मान्छेको भीडमा पनि उक्त कलाकारको नजिक गएर अटोग्राफ लिने हिम्मत राखे ।

त्यसपछि उनले उक्त टिसर्ट बेच्नका लागि अर्को सहरमा गए । त्यस ठाउँमा उक्त टिसर्ट किन्नेको भिड लाग्न थाल्यो । त्यति नै बेला माइकलको नजिक एक धनी व्यापारी आएर भने, यो टिसर्टमा अटोग्राफ भएको कलाकार मलाई अति नै मनपर्छ । त्यसैले म यो टिसर्ट २ सय डलरमा लिन तयार छु । त्यो धनी व्यापारीले २ सय डलरमा उक्त टिसर्ट लिएर गए । माइकलले १ डलर पर्ने टिसर्टलाई २ सय डलरमा बेचेको उनका बुबालाइ सुनाउँदै २ सय डलर बुबाको हातमा राखिदिए ।

त्यसपछि उनको बुवाले भने, छोरा तिमीले जिन्दगीमा जे पनि गर्न सक्छौ र जस्तोसुकै समस्याको पनि समाधान निकाल्न सक्छौ । हो, यसरी बास्केटबलमा आएका माइकल जोर्डनले बास्केटबलको क्षेत्रमा पनि कसैले पत्याउन नसक्ने छलांग मार्न सफल भए । निजी जीवनमा जस्तै बास्केटबल कोर्टभित्र पनि बलसँगै उनको छलांग मार्ने उत्कृष्ट खेल कौशलका कारण आज उनी बास्केटबलका भगवान् मानिएका छन् ।

प्रतिक्रिया दिनुहोस्