लक्ष्मीपूजाका बेला १३०५ मेगावाट बत्ती बल्याे



काठमाडौं ।

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत उच्च माग (पिक डिमाण्ड) १३०५ मेगावाट पुगेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमाण्ड १२७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १३०५ मेगावाट पुगेको छ ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६.१० बजे पिक डिमाण्ड १३०५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरुबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशहरुसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाको दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो । विनाअवरोध देशभरी विद्युत आपूर्ति गर्न सफल भएको प्राधिकरणले जनाएकाे छ ।
प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमाण्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन । कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ ।

‘बिगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत खपतलाई पिक डिमाण्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमाण्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘तिहारमा उद्योगकलकारखानाहरु र कार्यालयहरु सबै बन्द छन् फेरी तराइमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत माग नआउने समय हो ।’ उहाँले आन्तरिक रुपमा विद्युत खपत बढाउनु ठूलो चुनौती रहेको बताउनुभयो ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमाण्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमाण्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ । यस वर्ष संघीय राजधानी काठमाडौं यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।

प्रतिक्रिया दिनुहोस्