बजारमा दैनिक ३५ किलो सुनको माग, अझै बढ्ने



काठमाडौं । 

धनतेरसका दिन सुनचाँदीका गहना खरिद गर्ने प्रचलन नेपालमा बढ्दै गएको छ । विगतमा आफूसँग भएका गरगहनाको पूजा गर्ने प्रचलन रहे पनि हिजोआज नयाँ खरिद गर्ने प्रचलन बढेको हो ।विश्वव्यापी रूपमा आएको आर्थिक मन्दीका कारण नेपालीको क्रयशक्तिमा ह्रास आएको छ । तथापि, बजारमा सुनको माग भने उच्च नै रहेको व्यवसायीहरू बताउँछन् । अर्को महिनादेखि विवाहको लगन शुरू हुने भएकाले अहिले नै बजारमा सुनका गरगहनाको माग उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउनुहुन्छ ।

एकातिर सुनका गहनाको सिजन शुरू हुँदैछ भने अर्कोतिर धनतेरसमा सुनचाँदीका सिक्का (असर्फी) समेत किन्ने चलन पनि बढ्दै जाँदा बजारमा सुनको माग उच्च रहेको व्यवसायीहरूको भनाइ छ ।नेपाल राष्ट्र बैंकले सुन आयातमा १० किलोको कोटा लगाउँदा बजारमा सुनको अभाव देखिन थालेको व्यवसायीले बताए । महासंघका अध्यक्ष शाक्यका अनुसार राष्ट्र बैंकले दैनिक १० किलो सुन आयात गर्न दिन्छ । तर, बजारमा अहिले दैनिक ३५ किलोको हाराहारीमा सुनको माग छ । सिजनमा यो माग बढेर दैनिक ५० किलोसम्म पुग्ने अध्यक्ष शाक्यको भनाइ छ ।

मागअनुसारको आपूर्ति नहुँदा बजारमा सुनको अभाव क्रमशः देखिन थालेको शाक्यले बताउनुभयो । यस्तै स्थिति यथावत रहने हो भने तिहारपछि बजार भाउभन्दा बढी मूल्य तिर्नुपर्ने अवस्था सिर्जना हुन सक्ने शाक्यको अनुमान छ ।ग्राहकले बेच्न ल्याउने पुराना गहना र पुरानो मौज्दात सुनबाट बजारको मागलाई धान्न पुगेको छ । तर, स्थिति भयावह हुँदै गएको शाक्यले बताउनुभयो । बजारमा सुनको अभाव बढ्न थालेपछि कोटा बढाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइएको भए पनि सकारात्मक निर्णय आउन नसकेको उहाँले नेपाल समाचारपत्रसँग बताउनुभयो । अध्यक्ष शाक्यले भन्नुभयो–‘बजारमा अभाव हुँदै गएको छ । केन्द्रीय बैंकले विदेशी मुद्रा सञ्चितिको अभाव देखाउँदै कोटा बढाउन अस्वीकार गर्दा बाध्यात्मक परिस्थति सिर्जना भएको छ ।’

आर्थिकमन्दीको प्रभावका कारण ग्राहकले सुन किन्न हच्किनुपर्ने अवस्था छ । तर, धनतेरसकै दिन सुन किन्न गृहणीले वर्षदेखि नै पैसा बचत गरेर राख्ने भएकाले यसपटक धनतेरसका दिन माग अत्यधिक हुने शाक्यको प्रक्षेपण छ । मानिसको आस्थासँग जोडिएको तथा सुन फजुल खर्चभन्दा पनि सम्पत्ति जोड्ने काम भएकाले ग्राहक आउने सुन व्यवसायीको विश्वास छ ।धनतेरसलाई नै लक्षित गरेर व्यवसायीले खासै तयारी नगरेको शाक्यले बताउनुभयो । शाक्यका अनुसार अहिले आपूर्ति कम भएकाले कुनै तयारी छैन ।

तर, ग्राहकहरूले सिक्री, लकेट, तिलहरी जस्ता परम्परागत गहना नै किन्ने गर्छन् । कतिपयले सिक्का पनि खरिद गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर बबरमहलस्थित टक्सार विभागबाट बिहीबारदेखि सुन, चाँदीका असर्फी बिक्री गर्न शुरू गरेको छ । केन्द्रीय बैंकले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । १० ग्राम सुनको असर्फीको मूल्य ८२ हजार ९०२ रुपियाँ, ५ ग्राम असर्फीको मूल्य ४१ हजार ४५१ रुपियाँ र २ दशमलव ५ ग्राम असर्फीको मूल्य २० हजार ७२६ रुपियाँ निर्धारण गरेकोे छ । यो बजार मूल्यभन्दा २ सय रुपियाँ महँगो रहेको जनाइएको छ ।

यस वर्ष धनतेरस दुई दिन

यस वर्ष शनि देवमार्गी हुँदै हुनुहुन्छ । साथै यसपटक धनतेरसमा दुई दिनसम्म भगवान धन्वन्तरीको कृपा प्राप्त हुने संयोग बनेको छ । यस वर्ष धनतेरस कार्तिक ५ गते शनिबार साँझ सवा ६ बजेतिरबाट शुरू हुने देखिन्छ । यस दिन कार्तिक कृष्ण त्रयोदशी तिथि मनाइन्छ, जसलाई धनतेरस भनिन्छ ।

शनिबारबाट शुरू भएको धनतेरस कार्तिक कृष्ण त्रयोदशी तिथि कार्तिक ६ गते आइतबार साँझ सवा ६ बजेसम्म कायम हुने देखिन्छ । तर, उदया तिथिलाई मान्ने हो भने यो पर्व आइतबार मात्र मनाउनु शुभ मानिन्छ । यद्यपि, कतिपयले शनिबार नै मनाउन उपयुक्त हुने बताएका छन् ।

त्यस्तै यसपटक यस वर्ष धनतेरसको दिन त्रिपुष्कर योग पनि बनिरहेको छ । यस योगमा गरिएको काममा सफलता प्राप्त गर्नाले तीन गुणा फल प्राप्त हुने जनविश्वास छ ।

त्यस्तै यस दिनदेखि शनि ग्रह घुम्दै हुनुहुन्छ । जसका कारण धेरै राशिको जीवनमा धन र समृद्धि ल्याउनेछ । यस दिन दुईवटा शुभ योगहरू सर्वार्थ सिद्धि र अमृत सिद्धि योग पनि हुनेछन् । यी दुवै योगको उपस्थितिमा जुनसुकै काम गर्दा सफलता मिल्ने जनविश्वास रहेको छ । यस दिन, यदि तपाईंले सही ठाउँमा बुद्धिमानीपूर्वक लगानी गर्नुभयो वा सही वस्तुहरू खरीद गर्नुभयो भने, तपाईंले निश्चित रूपमा लाभ प्राप्त गर्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्