बैंकले वृद्धि गरेको व्याज नघटाए कडा आन्दोलन गर्ने उद्योगी व्यवसायीको चेतावनी



बुटवल । 

बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् ।

बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देव दह उद्योग वाणिज्य संघ र सैन मैना उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव विमलराज भट्टराईले बताउनुभयो ।

‘बैंक तथा वित्तीय संस्थाहरूलाई सचेत गराउनको लागि सांकेतिक कार्यक्रम मात्रै हो ।’ महासचिव भट्टराईले भन्नुभयो–‘हाम्रो माग सुनुवाइ भएन भने अझै सशक्त आन्दोलन चर्काउने छौँ ।’ बुटवल उद्योग वाणिज्य संघको सचिवालय बाल मन्दिरबाट सुरु भएको विरोध प्रदर्शन अमर पथ, बिपी चोक, राम मन्दिर लाइन हुँदै जेसीज चोकमा पुगेर समापन गरिएको थियो ।

विरोध प्रदर्शनको समापन कार्यक्रममा बोल्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले कोभिड–१९ को महामारीबाट थलिएका उद्योगी व्यवसायीहरू तरलता अभावले झनै पिल्सिनु परेको र त्यसमाथि बैंक तथा वित्तीय संस्थाहरूले महिनै पिच्छे ब्याजदर वृद्धि गर्दै जाँदा भएका उद्योग, व्यापार, व्यवसाय पनि बन्द गर्नुपर्ने स्थिति आएको बताउनु भयो । ‘बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले नियन्त्रणमा राख्नु पर्ने हो ।’

उहाँले भन्नुभयो–‘राष्ट्र बैंकले लगाम छोडिदिँदा बैंक तथा वित्तीय संस्थाहरूमा मोनोपली भएको छ ।’ जसका कारण ८÷९ प्रतिशतमा रहेको बैंकको ब्याजदर वृद्धि भएर अहिले १५-१६ प्रतिशत सम्म पुगिसकेको उहाँको भनाई छ । यस्तो अवस्थामा उद्योगी व्यवसायीलाई बचाउनको लागि राहत दिनुपर्नेमा झनै च्याप्ने काम भएको बताउँदै उहाँले आफूहरूको माग तत्काल सुनुवाइ गर्न आग्रह गर्नुभयो ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उद्योग व्यवसायलाई बचाउनको लागि बैंकको ब्याजदर सिंगल डिजिटलमा झार्नुपर्ने, अहिलेको आर्थिक संकटका कारण उद्योगी व्यवसायी किस्ता व्याज तिर्न नसक्ने अवस्थामा रहेकाले असोज मसान्तमा बुझाउनु पर्ने किस्ता व्याज तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरूको माग छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरूले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैंकले सुरुमा लगानी गरेको ब्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमति विना बढाउन नपाइने, चालु पुँजीको नियम तत्कालै लागु गर्दा उद्योगी व्यवसायीहरूलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागु गर्न माग गरिएको छ ।

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी योगदान गरेको निजी क्षेत्रलाई राहत दिई आर्थिक गतिविधिलाई अझै बढी चलायमान बनाउनु पर्नेमा बैंक तथा वित्तीय संस्थाहरूले गरेको ब्याजदरको चरम वृद्धिले सञ्चालन भइरहेका उद्योग व्यापार व्यवसाय बन्द गर्नुपर्ने स्थिति आएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनु भयो ।

उहाँले उद्योगी व्यवसायीहरूले पटक पटक आग्रह गर्दा पनि राष्ट्र बैंकले सुनुवाइ नगरेको भन्दै व्यवसायीको विनम्रतालाई सुनिँदैन भने उद्योगी व्यवसाय थप सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने उहाँले चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्