पर्वतमा प्रदेशसभाका सबै उम्मेदवार नयाँ, गठबन्धनलाई बागी र बिपी काँग्रेसको डर



पर्वत।

पर्वत जिल्लामा प्रदेशसभामा सबै नयाँ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको प्रदेशसभा १(१) र १(२) गरी  दुई वटै प्रदेशसभाका लागि सबै नयाँ उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पाँच दलीय गठबन्धन र नेकपा(एमाले)का उम्मेदवार मात्रै होइन उत्रिएका सबै उम्मेदवार नयाँ छन् । २०७४ मा नेकपा(एमाले) र नेकपा माओवादी केन्द्रको तर्फबाट गठबन्धनका उमेदवारहरु विजयी भएको दुवै प्रदेशसभा क्षेत्रमा यस पटक पाँच दलीय गठबन्धन र एमालेका उम्मेदवारका बिचमा कडा टक्कर देखिएको छ । गठबन्धन र एमालेको टक्करका बिचमा बागी उम्मेदवार, नेपाली काँग्रेस बिपी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले हासिल गर्ने मतका आधारमा निर्णय हुने अवस्था देखिएको छ । पर्वत प्रदेश १(१)मा ९ जना उम्मेदवारका बिचमा चुनावी प्रतिस्पर्धा हुँदैछ भने प्रदेशसभा १(२)मा भने ७ जना उम्मेदवारका बिचमा प्रतिस्पर्धा हुँदैछ ।

प्रदेशसभा १(१)मा पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा केन्द्रका  सुदीप कुँवर र नेकपा(एमाले)का भक्त कुवँरका बिच प्रतिस्पर्धा हुँदैछ । दुवै कुँवर उम्मेदवार यस अघि कुनै पनि संसदीय र स्थानीय निर्वाचनमा समेत उम्मेदवार भएका थिएनन् । नेकपा(एमाले)का उम्मेदवार रहेका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य भक्त कुँवर पर्वतमा त्यागी र सादगी नेताका रुपमा परिचित हुनुहुन्छ । २०४६ पछि पार्टीको पूर्णकालीन राजनीतिमा लागेर जिल्लाको सचिव, उपाध्यक्ष हुँदा पनि कुनै लाभको पदमा पुग्नुभएको थिएन । पार्टी र संसदीय राजनीतिमा अवसर नपाएको नेता भएकाले कुँवर प्रति सहानुभूतिको मत बढी देखिएको छ । उहाँले गएका दुई स्थानीय तह निर्वाचनमा पर्वतको मोदी गाउँपालिकाको अध्यक्षको दावा गरेपनि उम्मेदवारबाट वञ्चित हुनुभएको थियो भने एमाले पर्वतको जिल्ला उपाध्यक्ष भएपनि गएको नवौँ जिल्ला अधिवेशनमा राजुप्रसाद पौडेल अध्यक्ष बन्नु भएको थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहनुभएका सुदिप कुँवर पनि अहिले सम्म संसदीय राजनीतिमा परीक्षण हुनुभएको छैन । युवा नेता कुँवर तत्कालीन सशस्त्र विद्रोहका क्रममा पर्वतमा विद्यार्थी र पार्टीका विभिन्न जिम्मेवारीमा हुनुहुन्थ्यो । नेकपा(एमाले) र माओवादी केन्द्रका बिचमा एकता भएपछि पर्वत जिल्लाको सचिव रहनुभएको थियो । माओवादी केन्द्रमा नारायणकाजी श्रेष्ठ निकट मानिने  कुवँरले यसपटक एमालेका भक्त कुँवरसँग नै प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । युवाका बिचमा लोकप्रिय र गठबन्धनको उम्मेदवार  भएकाले कुँवरको उम्मेदवारी ले पनि बलियो प्रतिस्पर्धाको अवस्था बनाएको छ ।

प्रदेशसभा १(१) मा  राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अर्का युवा प्रेमकमार गुरुङ(अशोक) उम्मेदवार हुनुहुन्छ । पर्वत जेसिजको नेतृत्व गरिसक्नु भएका गुरुङ आफ्नो जातीय समुदायको मत आकर्षित गर्ने अभियानमा हुनुहुन्छ । लामो समय देखि नेपाली काँग्रेस निकट कर्मचारी युनियनमा रहेर अवकाश प्राप्त गर्नुभएका कमलराज पौडेल यस पटक नेपाली काँग्रेस बिपीको तर्फबाट प्रदेशसभामा उम्मेदवार हुनुभएको छ । काँग्रेसको प्रभाव रहेको खुर्कोटका बासिन्दा पौडेलको उम्मेदवारीले पनि प्रदेशसभाको निर्वाचनको परिणामलाई प्रभावित बनाउने आँकलन गरिएको छ । उहाँको उम्मेदवारीले गठबन्धनलाई बढी प्रभाव पार्ने चर्चा शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय विभागमा सदस्य रही सक्नु भएका रमेश पौडेल पनि हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बन्नुभएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा यो प्रदेशसभामा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्रको गठबन्धनका तर्फबाट नेत्रनाथ अधिकारी र नेपाली कांग्रेसका उम्मेदवार नवराज गुरुङका बिचमा प्रतिस्पर्धा भएको थियो ।

पर्वत जिल्लाको प्रदेशसभा १ (२) मा काँग्रेस र एमालेका पुराना र पाका उम्मेदवारहरुका बिचमा मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनको तर्फबाट  ऋषिकेश तिवारी र नेकपा(एमाले)को तर्फबाट मित्रलाल बस्याल प्रतिस्पर्धामा हुनुहुन्छ ।  तिवारी काँग्रेस केन्द्रीय कार्यालयको पूर्व मुख्यसचिव हुनुहुन्थ्यो भने बस्याल एमाले पर्वतको लामो समय क्षेत्रीय कमिटीको अध्यक्ष भएर काम गर्नुभएको थियो ।

एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका मित्रलाल बस्याल पर्वतको पैंयुखोला भनिने पैंयु, महाशिला, बिहादी क्षेत्रमा लोकप्रिय मानिनुहुन्छ । पैयुँ गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा पराजित हुनुभएका बस्यालले तत्कालीन पैयुँ क्षेत्रका ८ गाउँ विकास समिति मिलाएर सामुदायिक बिद्युतीकरण कार्यक्रमको नेतृत्व गरेका कारण त्यस क्षेत्रका मतदाता बिचमा लोकप्रिय हुनुहुन्छ । पार्टीमा लामो योगदान रहेका कारण बस्यालको उम्मेदवारीले गठबन्धनलाई निक्कै सकस पार्ने देखिन्छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा मुख्य सचिव रही सक्नु भएका ऋषिकेश तिवारी तत्कालीन समय छोटो समय संसद पुर्नस्थापनाकालमा प्रतिनिधिसभा सदस्य बनेको बाहेक संसदीय चुनावमा प्रतिस्पर्धा गर्नुभएको छैन । २०४९ सालमा तत्कालीन मुडिकुवा गाउँ विकास समितिको अध्यक्ष निर्वाचित हुनुभएका तिवारी काँग्रेस भित्र बौद्धिक र त्यागी नेताको रुपमा परिचित हुनुहुन्छ ।

कृषिमा आत्मनिर्भर बनाउनका लागि विभिन्न अभियान चलाउनुभएका तिवारी सोही योगदानका कारण अन्तराष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुभएको थियो । लप्सीको ब्यबासियक उत्पादन र बिश्वबजारमा बजारीकरणका लागि तिवारीको योगदान सबैले सम्झन्छन् । तिवारी कांग्रेसका कार्यकर्ता र फलेबास नगरपालिका क्षेत्रमा बढी लोकप्रिय हुनुहुन्छ । गठबन्धनको मतका कारण पनि उहाँको उम्मेदवारीले एमालेका उम्मेदवारका बिचमा कडा प्रतिस्पर्धा सृजना गरेको छ । उहाँलाई नेपाली कांग्रेसकै पुर्व जिल्ला कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको उम्मेदवारीले अप्ठेरो पार्ने देखिएको छ । फलेबास क्षेत्रकै र काँग्रेसको कोषाध्यक्ष भैसकेको व्यक्ति बागी उम्मेदवार बनेका कारण यसले चुनौती थपेको आँकलन गरिदै आएको छ ।

२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा(एमाले) र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सबिधानसभा सदस्य विकास लम्साल र नेपाली कांग्रेसका राजेन्द्र तिवारीका बिचमा प्रतिस्पर्धा भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्