बाजुरा । यतिबेला अन्यत्रझै बाजुरा पनि चुनावी माहोलमा रंगिसकेको छ । आइतबार प्रमुख दलका नेताहरूले सदरमुकाम मार्तडी पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएपछि चारैतिर चुनावकै चर्चा शुरु भएको छ । तर, यतिबेला सदरमुकाम मार्तडीमा न सडक सञ्जाल छ, न त पानी, विद्युत्, टेलिफोन र इन्टरनेट नै छ । स्थानीय इन्जिनियर डम्मरप्रसाद जोशी भन्नुहुन्छ– ‘चुनाव आयो, बाटो आएन ।’ यद्यपि, कतिपय उम्मेदवारले यसपालिको निर्वाचनको प्रमुुख एजेन्डा नै सडक निर्माण र साँफे–मार्तडी सडक खण्डको पहिरो नियन्त्रणलाई बनाएका छन् ।
वर्षायाममा आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि बडीमालिका नगरपालिका वडा नं. ४ रिलाका महावीर नेपाली र दीपेन्द्र नाथलगायतका युवाहरूको दिनचर्या नै पहिरोमा फसेका बाइक ओसार्नु बनेको छ । महावीर भन्नुहुन्छ– ‘बिहान उठ्यो, घरको आँगन छेउमा उभिएर बल्देको पहिरो चिहायो । पहिरोनजिक कसैको बाइक रोकिएको छ कि हे¥यो । बाइक भए साथीहरूलाई एक कल फोन घुमायो, साथी बोलायो, बाइक ओसार्ने ठाउँ पुग्यो बाइक मालिकसँग मोलतोल मिलेपछि बाइक बोक्यो पहिरो कटायो ।’
ती युवाहरूको आठ जनाको समूहलाई दैनिक पहिरोका कारण फसेको मोटरसाइकल ओसार्न र अम्कोटबाट दवारी आउँदा साउजीको सामान बोक्न भ्याइ नभ्याइ छ । करिब दुई किलोमिटर बाटो अवरुद्ध पार्ने पहिरोमा एउटा मोटरसाइकल बोकेको पाँच हजार देखि सात हजार रुपियाँसम्म लिने गरेको महावीरको भनाइ छ । उहाँ भन्नुहुन्छ– ‘पहिरोमा ज्यान जोखिममा राखेर बाइक ढुवानी गर्छौं । आठ–दश जना नभए बाइक उचाल्नै सकिँदैन ।’
हप्ता दिनयताको निरन्तर झरी र वर्षाले फेरि जताततै पहिराको उच्च जोखिम निम्त्याएको छ । खोला बढेर साउनको भेलभन्दा बाढी उर्लिएपछि बचेखुचेका साँघु पनि असोजे भेलसँगै बगिसकेका छन् । साँफे–मार्तडी सडकखण्डको ५७ किलोमिटर बाटोमा २५÷३० भन्दा बढी ठाउँमा अवरोध छ । बल्देमा त पहिरोका कारण १ सय २० परिवार जोखिममा छन् । पहिरोमा मान्छे आउजाउ गर्नै समस्या भएको भन्दै स्थानीय कृष्णराज उपाध्यायले नेपाल समाचारपत्रसँग दुःखेसो पोख्नुभयो ।
साँफे–मार्तडी सडक खण्डको बल्दे–दवारी पहिरोका कारण सडकको नामनिशाना मेटिएपछि स्थानीय युवाहरूले सामान, मान्छे र मोटरसाइकललाई यसरी नै ओसारेर यातायात सुविधा दिँदै आएका छन् । वर्षेनि पहिरो जाने यस सडकखण्ड पुनः अवरुद्ध भएको पनि चार महिना बितिसकेको छ । स्थानीयबासीहरू दुःखेसो गर्दै भन्छन्– ‘पहिरोले बाटो लगेको पनि चार महिना भइसक्यो । यसै बीचमा दशैं पनि बित्यो, अब चुनाव पनि आयो । तर, सदरमुकाम मार्तडी पुुग्ने बाटो कतैबाट आएन ।’











प्रतिक्रिया