वैकल्पिक दल र स्वतन्त्र विजेताले ध्यान दिनै पर्ने कुरा



बालकृष्ण मैनाली

प्रदेश र संघको निर्वाचन मिति घोषणा भैसकेपछि देशमा राजनीतिक माहौलमा सरगर्मी छाएको छ । दलीय कोटाबाट टिकट पाउने टिकट प्राप्तकर्ताहरुको पहिला–पहिला भए भुइँमा गोडा हुँदैनथ्यो भने यसपालिचाहिँ टिकट प्राप्त हुने निश्चित भैसकेको अवस्थामा पनि मनमस्तिष्कमा विजय प्राप्त गर्छु कि गर्दिन भन्ने आशंकाले उम्मेदवारहरुलाई घर गर्न थालेको छ । त्यसो हुनुको मुख्य कारक तत्वहरुमा पहिलोे जनतामा आएको चेतना र दोस्रोमा दलहरुले अपनाएको कुशासन शैली नै हो ।

पछिल्लोपटक स्वतन्त्र व्यक्तिहरुको समूह र पूर्वपत्रकार रवि लामिछानेले प्रतिनिधित्व गरिरहेकोे दल राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेज दिनानुदिन बढ्दै गैरहेको छ । स्थानीय निर्वाचनमा काठमाडौंका बालेन, धनगढीका गोपी हमालको सतहमा आउने गरी देखिएको क्रेज र धरानका हर्क साम्पाङको सतहमा नदेखिएको तर मतद्वारा प्रदर्शित हुन पुगेको क्रेजले तिनैजना विजयी बन्न पुगे । उनीहरुको विजयले गर्दा देश परिवर्तनको लागि अगाडि बढ्न खोजेको हो कि भन्ने सकारात्मक संंदेश प्रवाह हुन पुगेको छ ।

यसै कुरालाई मध्यनजर गरी विश्लेषण गर्नुपर्दा वर्तमानमा रवि लामिछाने, स्वागत नेपाल, रमेश खरेल, सुमन सायमीलगायतको दल वा समूहले यसपालिको निर्वाचनमा प्रत्यक्ष र प्रदेश दुवैमा उल्लेख्य स्थान ओगटेर पुराना दलहरुलाई धक्का दिने अठोट कसी लागिपरेको जनजनलाई अनुभूति भएको त छ, तथापि यो विषय कति वास्तविक रुपमा यथार्थमा परिणत हुन जान्छ, त्यो निर्वाचनको अन्तिम नतिजापछि थाहा लाग्नेछ ।

यसै सन्दर्भमा माथि उल्लेख गरिएका जे–जति व्यक्तिहरु र नयाँ दलहरु छन्, तिनीहरुलगायत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट विजय प्राप्त गरेका विशेष गरी बालेन, हर्क र गोपीहरुले आफ्नो कार्यकुशलता प्रदर्शन गर्दा जिम्मेवारीपूर्वक र पारदर्शी हुने गरी कार्य गर्नु आवश्यक छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्ने जनजनको मत रहेको छ । जनताले हामीलाई विजयी बनाइहाले हामीले जे गरे पनि हुन्छ भन्ने मानसिकताले जान–अन्जानमा घर ग¥यो कि भन्ने कुराको सदैव हेक्का राख्नुपर्दछ र सँगसँगै यस विषयलाई लिएर जनजनले बारम्बार गरिरहेको खबरदारीलाई पनि ध्यान दिनुपर्दछ । यदि जनजनबाट बारम्बार भैरहेको खबरदारीले आफ्नो त्रुटिलाई इंगित गरेको छ भने तुरुन्त सच्चिनुपर्दछ ।

आपूmले गरेको कामबाट यदि अन्जानमै भए पनि गलत हुन पुग्यो भने त्यसलाई तुरुन्तै सच्याउने काम गर्नुपर्दछ । आपूmले गरेको कामबाट कोही जान–अन्जानमा पीडित बन्न पुगेको छ भने तत्काल पीडितकोमा पुगी माफी याचना गर्न पछि पर्नुहुँदैन । आपूmले जान–अन्जानमा गरेको कामबाट पीडितको कुनै नोक्सानी हुन पुगेको भए तुरुन्त भर्पाइसमेत गरिनुपर्दछ अनि मात्र परिवर्तनको संकेत प्रवाह हुन पुग्दछ ।

चाहे रवि लामिछाने हुन् या बालेन, हर्क हुन या गोपी, स्वागत हुन् या रमेश, सुमन हुन् या अन्य कोही सबैले आ–आफ्नो तहबाट समय–समयमा खबरदारी गरिदिन आग्रह भएकाले पनि यो आलेख पस्किन सजिलो भएको हो । सम्बन्धितहरुकै आग्रहमा खबरदारी गर्ने सिलसिलामा आजको यस आलेखमा दुईवटा प्रसंगलाई उल्लेख गर्ने जमर्को गरिएको छ । पहिलोमा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका बारेमा झीनो गुनासो गर्ने जमर्काे गरिएको छ । पक्कै पनि यो पार्टीको नेतृत्व गरेका रवि लामिछानेले देशका विभिन्न भागमा पुगेर जनजनलाई देशको स्थिति र पुराना दलहरुको अकर्मण्यतालाई राम्रैसँग उजागर गर्न निःसन्देह सफल भएको छ ।

यसमा कुनै सन्देह छैन । यसको साथसाथै आफ्नो कार्यक्रममा पटक–पटक विभिन्न जिल्ला तथा प्रदेशमा प्रत्यक्षतर्पm र समानुपातिकतर्पmमा उम्मेदवार हुन चाहने आकांक्षीहरुलाई उम्मेदवार हुनको लागि आफ्नो इच्छा जाहेर गर्न पनि आह्वान गर्न पछि परेनन् । जनजनले यो कार्यलाई पनि सराहनीय कार्यको रुपमा लिएका छन् । प्रदेशसभामा भाग नलिने नीति लिएको कारणले त्यसमा आकांक्षी हुने इच्छा भए तापनि त्यस्ता आकांक्षीहरुले त्यसमा आवेदन दिने कुरा भएन ।

प्रत्यक्ष र समानुपातिकमा उम्मेदवारका आकांक्षीहरुलाई आवेदन शुल्क र धरौटी शुल्कको बारेमा जुन बेलामा आकांक्षीहरुलाई निर्वाचनमा भाग लिन आह्वान गरिएको थियो त्यति बेला नै उम्मेदवारका आकांक्षीहरुले पालना गर्नुपर्ने सर्त तथा निजको न्यूनतम योग्यतालगायत आवेदन शुल्क र धरौटी शुल्क अनि धरौटी शुल्क फिर्ता हुने वा नहुने अवस्थाहरुको विषयमा पहिल्यै जानकारी गराइनुपर्दथ्यो भन्ने प्रायः समानुपातिक आकांक्षीहरुको गुनासो रह्यो । समयमै जानकारी नगराएका कारण समानुपातिकका आकांक्षीहरुको नामावली बुझाउने समय पाँच–सात दिन बाँकी हुँदा त्यो पनि छोटो समयमा अपूर्ण सूचना प्रवाह हुन पुग्यो, जसले गर्दा आकांक्षीहरु रनभुल्लमा परे ।

कतिपय आकांक्षी पार्टी कार्यालयमै पुगेर यो विषयमा रविजीसँग भेटी गुनासो नै गरे । उदाहरणको निमित्त समानुपातिकका आकांक्षीहरुको मेसेन्जर बक्समा ‘तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको लागि फाराम भर्नुभएको छ, भाद्र २७ गते सोमबार दिनको ३ बजेभित्र धरौटीबापत रु. १०,०००।– र आवेदन शुल्कबापत रु. २,५००।– गरी जम्मा रु. १२,५००।– तलको खातामा जम्मा गरी भौचर वा अनलाइनबाट पठाएको भए स्क्रिनसर्ट गरी ९८०८०२२८६६ मा ह्वाटस् एप गर्नुहोला’ भन्ने सूचना प्रायः समानुपातिकका आकांक्षीहरुलाई पठाइयो ।

सम्भवतः समानुपातिकमा फाराम भर्नुभएका सबैलाई यो सूचना प्राप्त भएको हुनुपर्दछ । आकांक्षीमध्ये केहीले त्यसबारेमा बुझ्न खोज्दा रविजीका टिमका सदस्यहरुले त्यो बारेमा यथार्थ जानकारी गराउन असमर्थ रहे । त्यसको लगत्तै पुनः उही आकांक्षीलाई धरौटी फिर्ताबारे परिवर्तन भएको सूचना सम्प्रेषण भयो, जसमा ‘तपाईंले राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवारको लागि फाराम भर्नुभएको छ, भाद्र २७ गते सोमबार दिनको ३ बजेभित्र धरौटीबापत रु. १०,०००।– र आवेदन शुल्कबापत रु. २,५००।– गरी जम्मा रु. १२,५००।– तलको खातामा जम्मा गरी भौचर वा अनलाइनबाट पठाएको भए स्क्रिनसर्ट गरी ९८०८०२२८६६ मा ह्वाट्स एप गर्नुहोला, छनौट चरणमा नपुगेका आकांक्षी उम्मेदवारहरुको धरौटी रकम फिर्ता हुनुको साथै आर्थिक अवस्था कमजोर भएकाहरुका लागि विशेष व्यवस्थासमेत भएकोले त्यस्ता व्यक्तिहरुले पार्टीको फोन नम्बरहरुमा सम्पर्क गर्न भनी फोन नम्बरहरुसहित सूचना प्रवाह भयो ।

यो सूचना प्राप्त भएपश्चात् पनि वास्तविकता बुझ्न पार्टी कार्यालयले दिएको नम्बरमा सम्पर्क गर्दा सम्प्रेषण गरिएको सूचनाभन्दा ठयाक्कै उल्टो जवाफ पाइयो अर्थात् सूचनामा चाहिँ छनौट चरणमा नपुगेका आकांक्षी उम्मेदवारहरुको धरौटी रकम फिर्ता हुनेछ भनिएको छ भने फोन सम्पर्क गर्दा भने छनौट चरणमा नपुगेका आकांक्षी उम्मेदवारहरुको धरौटी रकम फिर्ता हुनेछैन भनियो । यसबाट के स्पष्ट बुझिन्छ भने, सम्भवतः सबैजना प्रेसरमा रहेर काम गर्नुपरेको कारणले एक–आपसमा तारतम्यको कमी–कमजोरी देखा परेको हुन सक्छ । कमी–कमजोरी नै भए पनि यी र यस्ता खाले कमजोरीहरुलाई ढाल बनाएर अपव्याख्यामार्पmत निर्वाचनमा असर पार्ने दाउमा लागेकाहरुलाई यस्ता विषयहरु सञ्जीवनी बन्न सक्छन् भन्ने कुरामा हेक्का पु¥याउनुपर्ने हुन्छ ।

वास्तवमा समानुपातिकका आकांक्षी उम्मेदवारहरुको प्रतिस्पर्धा गराएर छानिनु थियो भने बेलैमा प्रतिस्पर्धा गराएर प्रतिस्पर्र्धाबाट छानिएका उम्मेदवारहरुसँग धरौटी माग गरिएको भए यो विषय त्यति जटिल बन्ने थिएन । आशा छ, यस्ता विषयलाई समयमै हल गरेर प्रतिस्पर्धामा छानिएका समानुपातिकका आकांक्षीहरुले यो आलेख सार्वजनिक हुँदासम्म आ–आफ्नो उम्मेदवारीलाई सुरक्षित बनाएका हुनेछन् ।

दोस्रो खबरदारी बालेनसँग सम्बन्धित छ । एकातिर महाभियोगका आरोपी देशका प्रधानन्यायाधीशले आपूmलाई महाभियोग लगाउनुका कारणहरुमध्ये एउटा कारणमा आपूmले कुनै गलत कार्य गरेर नभई विभिन्न व्यक्तिहरु अर्थात् राजनीतिक दलका व्यक्तिहरु र बारका पदाधिकारीहरुलगायत अन्यसमेतले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्त गरिदिन आग्रह गरेको र सो आग्रहलाई आपूmले नमानेको कारण महाभियोगलगायत सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा हालेको बयान दिएका छन् । यो विषयमा कानुनी अभियन्ता भनिएका र हालै महानगरपालिकामा कानुनी सल्लाहकारको रुपमा नियुक्ति पाएका ओमप्रकाश अर्यालसमेत मुछिन पुगेका छन् ।

देशको प्रधानन्यायाधीशको पदमा रहेका व्यक्तिले आफ्नो बयानको क्रममा एक अभियन्ता कहलिएका वकिलकी श्रीमतीलाई न्यायाधीश नबनाएको रिसमा सम्पत्ति शुद्धीकरणमा मुद्दा हालेको भन्ने आरोप चानचुने आरोप होइन । हुन त कामनपाको नवनियुक्त कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले आपूmमाथि प्रतिसोध साँध्न उक्त आरोप लगाएको सामाजिक सञ्जालमार्पmत वताएका छन्, तथापि जे भए पनि दुवैतर्फको एक–अर्कामाथि थोपरिएको आरोपलाई हेर्दा जनजन यो सम्झिन बाध्य छन् कि कसैले न कसैले त पक्कै प्रतिसोध साँधेको छ । अब वास्तविकता के हो भन्ने कुरा पत्ता लगाउन क्षमता भएका स्वतन्त्र व्यक्तिहरुकै अनुसन्धान समिति गठन नभई र त्यसले छानबिन नगरी सत्यतथ्य उजागर हुन कठिन नै छ । त्यो समय कहिले प्राप्त होला, अहिले नै भन्न सक्ने अवस्था त छैन, तथापि संघ र प्रदेशको निर्वाचनपछि भने यो विषयमा आवाज बुलन्द हुन सक्छ ।

देशमा थरी–थरीका विसंगतिहरुले प्रश्रय पाइरहेका बेला यता केही वर्षदेखि सुसंस्कृत राजनीति पस्किने उद्देश्य बोकेर केही दलहरु तथा स्वतन्त्रले आ–आफ्ना दृष्टिकोण, भनाइ र सिद्धान्तहरुलाई पस्किने काम नगरेका होइनन्, तथापि दूरदृष्टिपूर्ण खाका तयार गरी बृहत् योजना पस्किन नसकेका कारणले जनमत उनीहरुको पक्षमा आउन सकिरहेको छैन । कतिपय त्यस्ता दलहरुले सामान्य जग पनि हाल्न नपाउँदै जनजनको नजरबाट ओझेल हुन पुगेका दृष्टान्त सबैका सामुन्ने छन् । भर्खरै मात्र जनजनको नजरबाट ओझेल हुन पुगेको विवेकशील साझा यसको ज्वलन्त उदाहरण बनेको छ ।

यस अर्थमा अन्जानवश भएको सानो त्रुटिलाई पनि बेलैमा सच्याउन नसक्दा उचाइमा पुगिसकेको धार क्षणभरमा जमिनमा झरेर धूलोमा विलीन हुन पुग्छ भन्ने कुराकोे खबरदारीलाई सम्बन्धित सरोकारवालाहरु र उनीहरुका टिम सदस्यहरुले आत्मसात् गरी अगाडि बढेमा देशको भविष्य सुनौलो बन्ने कुरामा विमति देखिँदैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्