‘सेलीब्रेटी’ भर्सेज ‘चेलीबेटी’ !



ललितपुरको पुलचोकमा सिट बेल्ट नलगाएको भनेर ट्राफिक प्रहरीले एकजना कार चालकलाई जरिबाना गरे । चालकले झोक्किँदै भने– ‘म डाक्टर हुँ ।

मसँग उपचार गर्न आइस् भने ‘लुलो’ बनाई दिन्छु ।’ देखीजान्ने र सुनीजान्नेहरूले भनेका रहेछन्– ‘ट्राफिक प्रहरीसँग चिकित्सक बाझेको प्रस्टै देखिन्थ्यो । ती चिकित्सकले रिसाएर गाडी दौडाएका थिए ।’ यस्तो भनेको जानकारी ट्राफिक प्रहरीले दिएको हो ।
यो भनेको सुनेपछि नेपालमा अझै लोकतन्त्र÷गणतन्त्र व्यवहारमा आइनसकेको महसुस भयो । कस्ताकस्ता चेतनास्तर भएका मान्छेहरू हाम्रो समाजमा ‘साहेब’ हुन्छन् ! जोसँग बढी आस गर्यो उसैले घुमाएर छुरा हान्ने प्रवृत्तिका पछाडि आखिर के त्यस्तो कारक तत्व छ र समाज क्रमशः अराजक हुँदै गएको हो ? या गम्भीर आपराधिक गतिविधिमा संलग्न हुनेहरूलाई कानुनले सजाय कम गरेको हो त ? यो कुराको दुवै पाटोबाट बहस हुनु अनिवार्य भैसक्यो ।

नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा जानु अघि एउटी नाबालिग युवतीलाई ललाईफकाई होटलमा लगेर बलात्कार गरेको अभियोग लागेको छ । प्राप्त प्रमाणहरूले पछि उनलाई बलात्कारी सावित गर्लान् या नगर्लान् त्यो प्रहरी र अपराध अनुसन्धानसँग सम्बन्धित क्षेत्रका विज्ञ र तालिमप्राप्त व्यक्तिहरूको दायित्व हो । आम पब्लिकले त समाचारमा बाहिर आएपछि आफ्ना धारणा बनाउने न हुन् ।कवि तथा लेखक राजेन्द्र थापाको सेलीब्रेटीका आपराधिक घटना बारेको सटिक विश्लेषण घतलाग्दो छ –‘सेलेब्रेटी हुनु भनेको चेलीबेटीमा जथाभावी सु गर्ने लाइसेन्स पाउनु होइन । झन् बढी संयमित हुने ऋषि मनको मर्यादाको बोझ थपिनु हो ।

नाबालक भनेको संरक्षकको साथ चाहिने हरेक संवेदनशील निर्णयमा । कसैले ललाइफकाई गरेमा कानुनले त्यो अपराध हुन्छ । कुनै नाबालिक राजीखुसी गएको भए पनि यदी लजवाला या कसैले थाहा पाएर सूचना गरेको खन्डमा पनि त्यो बलात्कारै हुन्छ । केटीलाई छोएको पनि छैन भने पनि लजको कोठामा एक्लै भेटेको मात्र छ भने पनि यौन दुराचार र आशय करणीको अपराध हुन्छ । पलको विषयको हालको फैसला तेही ऐनले आकर्षित भएको हो । जबकि वादीले शारीरिक सम्पर्क भएको छैन भनेर बलात्कार नभएको मानिए पनि नाबालिकको कोठामा मध्य रातमा पस्नु भनेको यौन दुराचार हो । नाबालिक भनेर कानुनले उमेर तोक्छ हरेक देशमा ।

विभिन्न सामाजिक र मनोवैज्ञानिक कारणले जुन फरकफरक हुन्छ नै । तर, तोकिएपछि त तेही देश काल र परिस्थितिमा त्यही नै कानुन हुन्छ । मेरी आमाले १७ वर्षमा मलाई पाएकोले आज पनि बोकाहरूले नाबालिक पाठीलाई सुमर्ने नैतिक अधिकार छ भनेर फेसबुकमा तर्क दिँदा के आफू गैर कानुनी वैवाहिक सम्बन्धको कानुनी बलात्कारको फल हुँ भनेर घोषणा गरेको भएन र ?जबसम्म कानुन छ त, छ कानुन । बाहिर नआएको कुरा आएन सकियो । जुन आयो त आयो र लाग्यो कानुन । कुनै सेलेब्रेटी हुनासाथ तेसले नारीलाई आफ्नो कोपरा भन्दै भोग्न पाउने अधिकार भएकोजस्तो गरी उल्टै नाबालिकमाथि नै खनिने पुरुष तथा केही महिलाहरूले एकपटक ती पीडितको स्थानमा आफ्नी नाबालिक छोरी र बैनी तथा भान्जीलाई राखेर छातीमा हात राखेर भन्नुस् कि पल या सन्दीप निर्दोष हो मेरै चेलीले मोज गरेकी हो ।

हरेक पुरुषको मन बतात्कारी नै हुन्छ तर सामाजिक शिक्षा आमाबाका आचरण विषयक तालिमले हामी आफूलाई संयमित राख्ने हो । झन् सेलेब्रेटीलाई त बढी नियन्त्रणमा बस्नु आवश्यक हुन्छ । फ्यान भनेको फिरी सेक्सको चाउचाउ पोका होइन । पोका खोल र चपाऊ र पोका फाल र हिँड । सेलेब्रेटी भनेको तपस्या गरिरहेको ऋषिजस्तै हो वरिपरि इन्द्रले पठाएको अप्सरा उर्वसी मेनकाहरूको छमछमबीच नै आत्म संयमित हुन झन् अर्को महातप गर्नु पर्ने । भर्खर यौटा बोकाको घटना आएपछि पनि तत्कालै अर्को बोका नचेत्नु पनि गजब !’

बास्तवमा सेलीब्रेटी हुँ भन्दैमा कसैलाई भीमसिने बोकोजस्तो उतुतुतुतु गरेर हिँड्ने स्वतन्त्रता संसारको कुनै देशमा छैन र हुनु हुँदैन । सेलीब्रेटी भनेको त समाजको भारी हो जसरी कुनै स्रष्टा वा सर्जकले कुनै देशको चर्चित या विश्वकै चर्चित पुरस्कार पाउनु भनेको त्यो पुरस्कारमा रहेको धन वा वाहवाह मात्र कुम्ल्याउनु होइन कि भविष्यमा उसमाथि त्यो क्षेत्रको अदम्य भारी बोकाउनु हो तर नेपालमा लोकतन्त्र आएपछि जो जति ठूलो छ ऊ त्यति नै ठालु भएको देखियो । राजनीतिमा होस् या खेलमा, सिनेमामा होस् या शिक्षामा, प्रशासनमा होस् या अदालतमा सानाठूला ‘बौद्धिक हिंस्रकहरू’ नै बलियाबाङ्गा देखिए । यो पक्कै बहुदलीय चरित्र बोक्ने गणतान्त्रिक शासन व्यवस्थामा सुहाउने कुरा होइन ।

समाजका सबै क्षेत्र खुला छन् । खुलापनले व्यक्तिको विकास र नाम ह्वात्तै एउटै घटनाका माध्यमबाट माथि आउँछ । सामाजिक सञ्जालको करामतले गर्दा मान्छे रातारात सेलीब्रेटी बन्छ अनि त्यही सेलीब्रेटी उसको कालो कर्तूत जो समाजले मन पराउँदैन त्यहीले गर्दा फेरि रातारात पत्तासाफ हुन्छ । अहिले देखिएका नायक पल शाह र क्रिकेट खेलाडी सन्दीप लामिछानेका हकमा त्यही कुरा लागु भएको देखियो । यद्यपि, लामिछानेको विषयवस्तु अनुसन्धानकै घेरामा छ त्यो अदालत पुगिसकेको छैन । भोलि के हुन्छ त्यसबारेमा अहिल्यै अनुमान गरेर फुल पार्नु भनेको फेरि समाजमा अन्योलको कुहिरो बाक्लिन दिनु हो । प्राप्त प्रारम्भिक प्रमाणका आधारमा उनी फँसेका लाग्न थालिसके ।

पूर्वीय समाजमा यौनलाई विवाहपूर्व र नाबालिक समयमा वर्जित रूपमै हेरिएको छ । विद्वान्हरूले विभिन्न सन्दर्भमा भनेका छन् –‘पुरुषको कमजोरी नारी हो भने नारीको कमजोरी सुन ।’ यो बास्तवमा एकाङ्गी सोचमा आधारित छैन । भएका, गरिएका र भोगिएका विभिन्न घटनाहरूले समाजमा यस्ता चित्रहरू विचित्ररूपमा प्रटक गरिरहिएको पाइन्छ । ‘संसारको सबैभन्दा सुन्दर फूल यौन हो तर त्यो धरापमा छ ।’ जसले जुन सोचका साथ यो भनाइ कहे पनि यसले यौनप्रतिको समाजको आशक्तिलाई नै प्रकट गर्दछ । आधारभूत आवश्यकताको क्रममा राखेर राष्ट्रले यसको उचित प्रयोग गर भन्छ –आफ्ना नागरिकहरूलाई । नाबालिक, करकाप, दुर्वव्यहार र अनावश्यक उत्तेजनालाई समाजका कुनै पनि संहिताहरूले मान्यता दिँदैनन् । बरू सबैसबैले हटक गर्छन् ।

मानिसलाई जनावरबाट पृथक् राख्ने चिज नै विवेक हो । यौनका सबालमा कतिपय अवस्थामा जनावरहरू नै बरू मानिसभन्दा धेरै मर्यादित भएका पाइन्छन् । हामी कुकुरलाई गाली गर्छौं ‘कात्तिके कुकुर’ भन्छौं तर कुकुरहरूको समेत प्रजननका लागि गरिने यौन क्रियाकलाप कात्तिक आसपासका महिनाहरूमा मात्रै हुने गर्छ एवम् रितले हेरियो भने बाँदर र घोडा चैत महिनामा धेरै जन्मने गर्दछन् भने गाईभैँसीहरू भदौ र असोज महिनमा ब्याएका देखिन्छन् ।

यो कुरा जंगली जीवजन्तुका हकमा फेरि लागू हुँदैन । प्रकृतिले सृष्टि र विनाश गर्नुपर्ने भएकाले मांसाहारी र शाकाहारी जंगली जीवजन्तुहरूमा चाहिँ पोथीले आफूलाई हिट महसुस भएपछि भाले खोजेको र भएका भालेहरू सबै उसका पछि दगुर्ने तर सक्षम भालेलाई मात्र पोथीले आफ्नो बच्चाको बाउ हुने अवसर दिएका कतिपय सूक्ष्म तथ्यहरू अनुसन्धानबाट खुलेका छन् । यस मानेमा जनावरको यौनजीवन मानिसको यौनजीवनको तुलनमा धेरै सौम्य देखिन्छ ।

मानिसलाई प्रकृतिले बुद्धि र विवेक दिएकाले ऊ तमाम जंगली जीवजन्तुदेखि बँचेर हिँड्छ र संसारका सबै जीवजन्तुलाई मानिसले तह लगाएको छ । भनिन्छ –मानिसदेखि सबै जीव डराउँछन् र सबै जीवहरूदेखि मानिस डराउँछ । डरको यो शृङ्खलाले देखाउँछ कि पृथ्वीका सबै प्राणीहरू आफ्नो अस्तित्व रक्षाका लागि लागिपर्छन् । अझ यसमा यौन तत्वको जडी कुरो भनेको अर्कै छ ।

‘हरेक प्राणी यौनका उपज हुन्’ भन्दा बढी भनेको ठहर्दैन तर यही भनाइ सभ्य समाजमा भनिरह्यो भने चाहिँ पच्दैन । प्राणीका दिमाग चार प्रकार भनेर जीवशास्त्रीहरूले भनेका रहेछन् । पहिलो प्रकारका प्राणीहरू घस्रने वर्गका हुन् । तिनीहरू आहारा, रिस र यौन कार्य मात्र गर्दछन् जसमा सर्प, गोही, छेपाराजस्ता घस्रने या छातीले टेकेर हिँड्ने प्राणी पर्दछन् । दोस्रो वर्गका प्राणीमा चारखुट्टे मांसाहारी या साकाहारी पर्दछन् जसले माथिका तीन विशेषताका अलावा माया गर्ने गुणसमेत प्राप्त गरेका छन् । त्यसैले त्यो वर्गले आफ्नो बच्चा जन्मनासाथ मुखले चाटेको पाइन्छ ।

तेस्रो वर्गमा बाँदरको चिम्पान्जी विशेषलाई लिएको पाइन्छ जसले आहारा, रिस, यौन, माया र नक्कल गर्न जान्दछ । यसै गरी चौथो वर्गमाचाहिँ मानिसलाई राखिएको छ । मानिसमा माथि भनिएका चारवटा विशेषताका अलावा बुद्धि र विवेकजस्ता गुणहरूसमेत पाइन्छन् । यही बुद्धि र विवेकले मानिसहरूलाई सकल प्राणीहरूमा सबैभन्दा माथि राखेको हो ।अहिले यही बुद्धिको दुरूपयोग गरेर मानिस संसारका सबै प्राणीहरूलाई शासन गरिरहेको छ । साहित्यकार सरुभक्त रोचक लेखनमा भन्छन् –‘मानिसभित्र अन्तरआत्मामा सबै प्रकारका जन्तुहरू लुकेर बसेका छन् । अवसर पाए भने तिनीहरू प्रकट भइहाल्छन् ।’ उपन्यासकार सरुभक्त र लेखक राजेन्द्र थापाको माथि उल्लेखित फेसबुकको भनाइ एकर्कासँग मेल खानु भनेको सोच औ चेतनाको एकाकार हो ।

अतः मानिसले आफूभित्रको आसुरी वृत्तिलाई जबसम्म चेतनाको लगामले दबाउन सक्छ तबसम्म मात्र ऊ नैतिकवान् देखिन्छ । लगाम खुस्केका दिन हरकोही मानिस दानव भइहाल्छ । अहिले बजारमा ‘हिजो छोरी जोगाउन गाह्रो, आज छोरा बचाउन मुस्किल’ भन्ने भनाइ भाइरल भइरहेको छ ।संसारका सबै मानिस त नभनौं अधिकांश मानिस यौनका मामलामा कमजोर देखिएका छन् । विल क्लिन्टनदेखि बेलायती राजकुमारी प्रिन्सेस डायनासम्म सबै यौनलाई व्यवस्थित गर्न नसकेर पतन भए । त्यसैले हामीकहाँ यौन मुद्दामा सुनिएका कृष्णबहादुर महरा, पह शाह, पञ्चायती नेता बद्री मण्डल, कांग्रेसी नेता बलबहादुर केसी र अहिलेका हिट सन्दीप लामिछानेसमेत ‘यौननामक बत्तीमा आकर्षित भएर डढेका पुतली हुन्’भन्दा फरक पर्दैनन् ।
अबको यो युग ‘सेलीब्रेटी भर्सेज चेलीबेटी’ को हो । पुरुषको सोच ठिक भएन भने संसारबाटै पुरुष ओरालो लाग्दो अवस्थामा रहेको छ । यो मनन गर्ने विषय हो । कि कसो ?

प्रतिक्रिया दिनुहोस्