पछि हट्यो कामपा

नक्सा पास गर्न ९० र अवैध कम्पाउन्ड वाल भत्काउन ३५ दिने म्याद



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास गर्न ९० दिनको समय दिएको छ । कामपा शहरी व्यवस्थापन विभागले बिहीबार सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको ऐनअनुसार अभिलेखीकरण गर्न ३ महिना समय दिएको हो । यसबाट महानगरवासीले केही राहत महसुस गरेका छन् ।

कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यो सूचनाले अवैध रूपमा मापदण्डविपरीत बनेका संरचनाहरू हटाउने काम भने रोकिंदैन । उहाँका अनुसार शहरी व्यवस्थापन विभागले जारी गरेको सूचना मापदण्ड अनुसार बनेको संरचनाको अभिलेखीकरण गर्नको लागि मात्रै भएको हो । उहाँले भन्नुभयो– ‘विशेष कारणले मापदण्डअनुसार बनेका घरको नक्सा पास गर्न समस्या भएको कारण जरिवाना लिएर नक्सा पास गर्न सूचना प्रकाशित गरिएको हो । हामी निरन्तर अवैध संरचना भत्काउन लागिरहनेछाैं  । सूचनाले अवैध संरचना भत्काउन कुनै बाधा हुने छैन ।’

कामपाले नक्सा पास नगरी बनेका यस्ता संरचनाको ९० दिनभित्र नक्सा पास नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । शहरी विकास विभागका निर्देशक सुरज शाक्यले पनि सूचनाले अवैध संरचना नभत्काइने भन्ने विषय उल्लेख नगरेको बताउनुभयो ।

महानगरको सूचनामा भनिएको छ– ‘मापदण्ड अनुकूल रहेका भवन वा घरको नक्सा ९० दिनभित्र पास गर्न अनुरोध गरिन्छ । ९० दिनभित्र नक्सा पास नगरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड, संहिता र कार्यविधि तथा कार्यालयको निर्णयअनुसार कारबाही गरिने छ ।’ कामपाले घरसँगै घरको सिमानाको कम्पाउन्डको नक्सा पास गर्नसमेत आग्रह गरेको छ । नक्सा पास नगरेका कम्पाउन्ड वाल ३५ दिनभित्र भत्काइसक्नु पर्नेछ, अन्यथा महानगरले भत्काइदिने र त्यसको क्षतिपूर्ति घरधनीबट लिने नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

कामपाका प्रवक्ता नवीन मानन्धरले मनपरी बनाइएका संरचना हटाउने काम नरोकिने जानकारी दिँदै भन्नुभयो– ‘तोकिएको समयसम्म संरचना भत्काउन अनुरोध गर्दै माइकिङ गर्नेछौं, घरधनीले नभत्काए कामपाले आफंैले भत्काउने र त्यसको क्षतिपूर्ति घरधनीसँग लिनेछौं । कामपाले जुनसुकै प्रकृतिको घरजग्गा घेर्न निर्माण गरिने सीमा पर्खालको नक्सा पेस गरी प्रचलित कानुनअनुसार नक्सा पास भएपछि मात्र त्यस्तो सीमा पर्खाल लगाउन आग्रह गरेको छ । कामपाले वडा कार्यालय, महानगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा भत्काउन थालेको हो । कामपाले हाल वडा अध्यक्षले तयार गरेको सूचीको आधारमा मापदण्डविपरीत संरचनाको सूची तयार पारी सम्बन्धित वडामा पठाइरहेको छ ।

यसअघि कामपाले मंगलबार असन, इन्द्रचोक, भेडासिंह, भोटाहटीलगायत भित्री शहरी क्षेत्रको बाटोमा राखेको पसल हटाउन निर्देशन दिएको छ । हालसम्म कोटेश्वर, बानेश्वर र गंगबु बसपार्कमा मात्रै करिब २ सय घर टहरा भत्काएको छ । कामपा प्रहरी प्रमुख पाण्डेका अनुसार कामपाले हालसम्म १९ स्थानमा भूमिगत पार्किङको लागि वेसमेन्ट खाली गरेको छ ।तथ्यांकअनुसार काठमाडौं मलको भुईंतलाको सटर, आरबी कम्प्लेक्स भित्रको अनधिकत सटर, सुरज आर्किडको भूमिगत पसल, न्युरोडस्थित कासा भवनको भूमिगत तलामा रहेको नबिल बैंक, बिरा कम्प्लेसको होलसल पसल, कानेश्वर प्लाजाको ई ब्लक, अल्फाबिटा कम्प्लेक्स, बत्तीस पुतलीको मुक्तिनाथ बैक र बर्गर हाउस र शंखमूल जाने बाटोको बर्गर हाउस हटाएको छ ।

त्यस्तै, बानेश्वरको रारा कम्प्लेक्सको जीसप, दरबारमार्गको नेपाल ट्रस्टको भवनको भुईंतला, दरबारमल, रानीबारीको सेन्चुरी बैंक बसेको भवन, सामाखुसीको खड्का भवन, कलंकीको स्मार्ट तारा हाउस, एभरेस्ट गेस्ट हाउस र माछापोखरीमा रहेको माछापोखरी सपिङ सेन्टरको भूमिगत तला खाली गरिसकेको छ । कामपाले बिहीबार विरा कम्प्लेक्समा मापदण्डअनुसार काम नभएको भन्दै भूमिगत तला खाली गराएको छ ।

भूमिगत तलामा पसल सञ्चालन गरेको उजुरी परेपछि नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली कम्प्लेक्स पुगेको थियो । कम्प्लेक्समा केहीबेर हात हालाहालको अवस्थासमेत आएको थियो । कामपा प्रहरीले पसलको व्यवसाय दर्ता प्रमाणपत्र हटाएको थियो । घरबेटीले भूमिगत तलामा पसल नराख्न गरेको आग्रह नमानेपछि कामपा प्रहरी टोली उक्त कम्प्लेक्समा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्