ह्याक गरी पैसा माग्दा प्रहरीमा उजुरीको चाङ



हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्यसमेत रहनुभएका नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष राजकुमार न्यौपानेलार्ई आइतबार राति करिब १०ः३० तिर एउटा फेसबुक अकाउन्टबाट म्यासेज आयो । लामो समय कुरा भयो । आफूले नचिनेको आईडीबाट म्यासेज आउ“दा पनि न्यौपानेले पर्वाह गर्नुभएन ।

आफू जिल्ला अध्यक्ष भएका कारण साथीभाइले कुराकानी बढाएका होलान्, सम्बन्ध कायम राख्न बोल्नुपर्छ भन्ने सोच्दै उक्त व्यक्तिस“ग उहाँको च्याट चलिरह्यो । केहीबेरमा उक्त व्यक्तिले बिभिन्न बहाना बनाउ“दै रकम माग्न थाल्यो । ‘पैसाको कारोबार मबाट हु“दैन’ भन्ने जवाफ न्यौपानेले दिएपछि उक्त व्यक्तिले ‘ठीकै छ दाइ । त्यसो भए, मेरो लागि सानो सहयोग गर्नुस्न त’ भन्ने प्रस्ताव राख्यो । तब न्यौपानेले ‘हुन्छ’ भन्दा उसले न्यौपानेको मोबाइलमा आएको कोड माग्यो । उक्त कोड न्यौपानेले दिनुभयो ।

राति १२ बजेतिर न्यौपानेका साथीहरु र आफन्तको फोन आउन थाल्यो । किन पैसा मागेको, केका लागि, कति चाहिएको जस्ता प्रश्नले न्यौपाने अल्मलिनुभयो । आफूले कसैस“ग पैसा नमागेका, अनलाइन पनि नबसेको र पौने ११ बजेतिर आफू सुतेको बताएपछि उहाँको फेसबुक हयाक भएको आफन्तबाट बल्ल थाहा पाउनुभयो । आइतबार रातिदेखि राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर अध्यक्ष न्यौपानेको फेसबुक अकाउन्ट आफ्नो बसमा ल्याउन सक्नुभएको छैन ।

पछिल्लो समय थुप्रै व्यक्ति सामाजिकसञ्जाल ह्याकरको शिकार भइरहेका छन् । ‘अर्जेन्ट छ’ भन्दै १० देखि २० हजार माग्ने, रकम नदिए मोबाइलमा कोड आएको छ दिनु भन्दै माग्ने गरेको पीडितको गुनासो छ । कोड दिएपछि आफ्नो अकाउन्ट ह्याक हुन्छ भन्ने थाहा नभएका कारण आफूले कोड नम्बर दिएको र केहीबेरमा ह्याक भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंगलबार निवेदन दिन आएका पीडितको गुनासो छ ।

आफन्तले म्यासेज पठाएका थिए । केही परेर यस्तो कोड आएको होला भनेर मैले दिए“ । भरे त आफ्नै फेसबुक ह्याक भयो’, निवेदन दर्ताका लागि प्रहरी कार्यालय आएकी एक महिलाले भन्नुभयो । सामाजिकसञ्जाल दुरुपयोग गरेर आतंक फैलाउने क्रम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयको आईटी शाखामा समस्या बोकेका निवेदनको चाङ लागेको छ ।

पछिल्लो समय सामाजिकसञ्जाल फेसबुक र ट्विटरलगायत अकाउन्ट ह्याक गरेर पैसा माग्ने क्रम बढेको हो । नजिकका आफन्त तथा साथीभाइले पैसा मागेको भन्दै ह्याकरको इशारामा पैसा दि“दा फसेका धेरै घटना प्रहरीसामु आउने गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको । म्यासेञ्जरमा एसएमएस पठाएर कोड माग्ने र सोही कोडबाट सामाजिकसञ्जाल ह्याक गर्ने र पुनः उसैको आफन्त साथीभाइस“ग पैसा माग्ने गरेको खुल्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सोमबार यस्ता ७ वटा निवेदन दर्ता भएको प्रहरीले जनाएको छ । साउनमा सामाजिकसञ्जाल ह्याक गरिएका १० निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये सबभन्दा बढी फेसबुक अकाउन्ट ह्याक भएको पाइएको छ । ४ वटा आईडी ह्याक गरेर चलाइएको निवेदन दर्ता भएको छ । ४ वटा फेक आईडी बनाएर चलाइएको सम्बन्धिमा निवेदन दर्ता भएका हुन् ।

भदौमा उक्त संख्याको तुलनामा व्यापक वृद्धि हुनसक्ने मकवानपुर प्रहरीको आँकलन छ । भदौ १५ गतेसम्म कार्यालयमा ९ वटा निवेदन दर्ता भएकोमा त्यसपछि धेरै निवेदन आउन थालेको बताइएको छ । १५ गतेसम्म ९ उजुरीमध्ये सबभन्दा बढी फेसबुक अकाउन्ट ह्याकमा ५ वटा निवेदन परेका छन् । फेक आईडी प्रयोमा ३ र अन्यमा १ उजुरी दर्ता भएको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्की अपराधीलाई कारबाही गर्न अनुसन्धानको क्रममा रहेको बताउनुहुन्छ । गिरोहबारे अनुसन्धान भइरहेको र छिटै कारबाहीको दायरा ल्याउन मकवानपुर प्रहरीको कदम चाल्ने नायब उपरीक्षक कार्कीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्