भड्किलो बन्दै तीज, गरौं यसको उचित तजबिज

लालतारा अधिकारी



बहुजाति, बहुभाषा, बधुधर्म र बहुसंस्कृतिसहितको सार्वभौमिकता सम्पन्न हाम्रो देश नेपालको विभिन्न चाडपर्वमध्ये एक पर्व हो हरितालिका तीज ।

धार्मिक मान्यता अनुसार हिन्दू धर्मावलम्बी नारीहरुले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै विभिन्न तौरतरिकाबाट निराहार व्रत बसी (पानी पनि नपिईकन) मनाउने गर्छन् यस पर्वलाई । इतिहासलाई सरसर्ती अध्ययन गर्दा, महिलालाई दान दिने वस्तु मानेर कलिलो उमेरकी कन्या दान दिँदा तीर्थ–व्रत गरेको भन्दा बढी धर्म मिल्छ भन्ने धार्मिक जनविश्वास रहेको पितृसत्तात्मक सोचले ग्रस्त तल्कालीन समाजमा यो तीज पर्व मनाउने थालनी भएको पाइन्छ ।

नारी भनेको दोस्रो दर्जाकी मानिस हुन्, जसलाई एउटा उपभोगको साधन, सन्तान जन्माउने मेसिन र पुरुषले शासन गर्न सकिने प्राणीका रुपमा लिइने त्यस समयमा विवाहिता चेलीलाई आफ्नो पतिको घरमा सासू, आमाजू र नन्द नाताका व्यक्तिले बडो थिचोमिचो गर्दै आफ्नो नियन्त्रणमा राख्थे । ती विवाहिता चेलीले जीवनभर दासझैँ घरका सारा कामकाज गनुपथ्र्यो । दैलो, चुल्हो, घर, भान्सा, मेलापात, वनपाखा, वस्तुभाउ, केटाकेटीदेखि लिएर आफ्ना पतिका नाता आफन्तसमेतको ख्याल गरी आफ्ना लागि एकपल पनि जीवित हुन पाउँदैनथे ।

यसरी दिनभर घरव्यवहारका कामले सास पनि सम्झेर फेर्नुपर्नेजस्तै हुन्थ्यो । त्यस्तो परिस्थितिमा चरी पिञ्जडामा परेझैँ शुरुवातका दिनमा एउटा विरानो गाउँमा अपरिचित व्यक्तिहरुसँग कुनै किसिमको गल्ती पो हुने हो कि भनी डराउँदै सकसपूर्ण मौनजीवन बिताउनुपर्दथ्यो । त्यस समयका चेलीहरुले घरमा सबै परिवारले खाइपिइसकेपछि बचेखुचेको र पतिको भागको पुरो ढिँडो र महीको भरमा सास धान्दै वर्षैपिच्छे सन्तान जन्माइदिनुपथ्र्यो । शरीरलाई दिनभरि मेसिनझैँै सञ्चालन गर्न आवश्यक ऊर्जा पनि नपुग्ने गरी खानेकुरा भागमा पर्ने हुँदा कतिपय चेलीहरुले कुपोषणको सिकार भई ज्यानसमेत गुमाउनुपर्दथ्यो । कतिले त यस्ता पीडा सहन गर्न नसकी कोशीको शरण लिन्थे भने कतिले आफैँले घाँस–दाउरा गर्ने वनको चढ्न सक्ने रुख छानी नाम्लोमा झुन्डिनुपथ्र्यो ।

वास्तवमै यी र यस्ता समस्याबाट सम्भ्रान्त परिवारका चेली पनि कतै न कतैबाट पीडित हुन पुग्थे । जसले गर्दा तिनै पितृसत्तात्मक राज्यका सञ्चालकहरुले आफ्ना चेलीका दसा देखेर बेलाबखतमा छोरी चेलीलाई माइती बोलाउने र सकेको मीठोमसिनो खुवाई थप केही समय घर धान्न र घर खान सक्ने बनाई पठाउनका लागि विभिन्न चाडपर्वलाई मान्ने चलनको शुरुवात गरियो । त्यस जटिल समयलाई कल्पना गर्दा वा हाम्रा हजुरआमा र आमाले भोग्नुभएका ती अवस्थाहरुको गाथा सुन्दा बेलाबखतमा यस्तो चाडपर्व पनि नमनाउने हुँदो हो त ती चेलीहरुले कहाँ गई मन बुझाउँथे होलान् ? अनि कहिले तीनका मुखमा मिठोमसिनो पर्दथ्यो होला ? अनि कहिले तिनलाई कामबाट छुट्टी मिल्थ्यो होला ? सम्झी नसक्नु छ ती दिनहरु, आज पनि हाम्रा आमा अनि हजुरआमालाई ।

तर आज परिर्वतनशील समय भएरै होला, अब विगतको झैँ ती नारीहरुका पीडा झेल्ने वा झेल्न पर्ने महिलाहरुको संख्यामा निकै प्रतिशतले कमी आएको हुनुपर्दछझैँ मलाई लाग्छ । हाम्रो देशमा समयसँगै विभिन्न व्यवस्था परिवर्तन हुँदै प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसमेत प्राप्त गरी देश संघीयताको खुट्किलाहरु उक्लँदै गरेको छ । गाउँ–गाउँमा सिंहदरबार पुगेको भनिन्छ । देशले नयाँ संविधान पाएको छ । महिला र पुरुषलाई एक समानको व्यवहार गर्नुपर्दछ भन्ने कानुन बनेको छ । आज देश जति नै ठूलो ऋणको भारमा डुब्दै गरेको भए पनि व्यापकरुपमा विलासिताका साधनहरु देशमा आयात भइरहेका छन् ।

आज मानिस विज्ञान तथा प्रविधिले गर्दा संसारभर एउटै गाउँझैँ एक–आपसमा गफिन पाएको स्थिति छ । आजका मानिसलाई हाम्रै देशमा पनि एकछाक खान र एकसरो लगाउन कठिन नहोलाझैँ मलाई अनुभूति हुन्छ । किनकि आज मैले देख्दै गरेको समाजमा कानुनले दिएका अधिकारको दुरुपयोग हुँदै छ, मानिस–मनिसका बीचमा अनावश्यकरुपमा धनी कहलिने थामी नसक्नु होडबाजी हुँदै छ । एकातिर देशको अर्थतन्त्र डामाडोल छ भने अर्कोतिर नेताहरु कमाउ धन्दालाई प्रवद्र्धन गर्न प्रलोभनको मल छर्दै छन् ।

कोही कसैलाई यहाँ देशको चिन्ता छैन । सबै आफ्नै सुरतालमा रम्दै छन् । हिजो भोक मेटाउन र पीरव्यथा बिसाउन सारा काम सकी चार दिनको बिदा लिएर माइतीको आँगनमा मनको बह गीतमा पोख्नुपर्ने बाध्यता भएकी नारी र आज भाद्र महिना टेक्नेबित्तिकै पचासौं ठाउँमा दर खाने निम्त्तो मान्न हम्मेहम्मे परेकी नारीले दश तोला सुनका गहना झुन्ड्याएर, भ्याइ–नभ्याइ गरी एक महिना दर हसुरेर, आफ्नो श्रीमान्लाई फानोले यति सुन लाएछ यस्तो सारी रछ अनि गाडी पनि कति राम्रो, ओहो भनी आफ्नो त खै भन्दै घुर्की लगाई–लगाई घूस खान र भ्रष्टाचार गर्न बाध्य बनाउने नारी सम्झँदा म एक शिक्षित, चेतनशील, एक असल पत्नी, जिम्मेवार आमा, दृढ नारी र एक जिम्मेवार नागरिक भएकाले मेरा मनमा अनेकौं प्रश्न खडा हुन्छ र म यी प्रश्नहरु ती सारा नेपाली दिदी–बहिनीलाई सोध्न चाहन्छु कि के हामीले यो तीजलाई यति भड्किलो बनाउनु जरुरी छ ? के तीजमा भ्याई–नभ्याई गरी एक महिनाभर ५ किलो बोसो लाग्ने गरी दर खानुपर्छ ? के सबै रुपियाँ विदेश (भारत) पु-याउने गरी महँगा सारी, चुरा, पोते किन्नु जरुरी छ ? के आफ्नो पतिलाई मानसिक तनाव हुने गरी भ्रष्टाचार गर्न उक्साउने गरी सुनका गरगहना खरिद गर्नुपर्छ ? के तीजका नाममा भड्किलोे गीत र नृत्य देखाउँदै सामाजिक सञ्जालका भित्ताहरुलाई फोहोर बनाउनुपर्छ ? के महिलाका क्षमता र दक्षतालाई गौण हुने गरी अरुमा भर पर्दै अनावश्यक सौन्दर्य प्रदर्शन गर्नका लागि हातहरु फैलाउनु जरुरी छ ? यी र यस्ता प्रश्नको जवाफ आजको युगमा शिक्षित (प्रमाणपत्र, लवाइखुवाइ र चालढालका आधारमा) मानिएका ती शहरोन्मुख क्षेत्रका आम महिला समुदायलाई एकपटक गहन अध्ययन र विश्लेषण गरी दिनुहुन अनुरोध गर्दछु ।

विश्वका विकसित देश अमेरिका, चीन, जापान, रसिया, बेलायत, जर्मन लगायतका देशका नारीहरुलाई हेरौं र तुलना गरौं, तिनको अवस्था र हाम्रो अवस्थामा । कल्पना गरौं, तिनका र हाम्रा दरसन्तानको भविष्यमा पक्कै झस्कन बाध्य हुनेछौं हामी । आज चाडबाडका नाममा देशलाई ऋणमा डुबाउँदै छौं हामी । परिवारको संरचना ध्वस्त पार्दै छौं हामी, मानवता र सौहार्दता अनि वास्तविक आफन्तका नाता सम्बन्धलाई क्षतविक्षत बनाउँदै छौं हामी ।

अझ सम्झनुहोस् त, हामी सन्तानका भविष्यलाई त झन् अन्धकारतिर धकेल्दै छौं । हामीले यसरी आम्दानीभन्दा बढी खर्च गरेर अरुलाई देखाउनैका लागि ऋण काढी गहना किनेर के फाइदा ? सोच्नुहोस् त, सुनले सुन्दरता थप्ने भए भ्रष्ट र तस्करहरुले आफ्ना श्रीमतीहरुलाई सुनकै खोल हाल्ने थिए, होइन र ? गहनाका लागि आफ्ना श्रीमान्लाई, ऋण गर्न बध्य बनाई मानसिक तनाव दिने तर त्यही श्रीमान्को दीर्घायुको लागि भनेर एकदिन निराहार बस्नु कति सुहाउँदो कुरा हो ? बरु हामी महिला समुदायहरुले सक्दो मेहनत गरी आयआर्जन गरेर आफ्नो जीवन साथीलाई घर व्यवहार टार्न सहयोग गरौं ।

रोजगारी छैन भने पनि एउटी असल पत्नी, एक जिम्मेवार आमा र एक जिम्मेवार परिवारको मूली भएर घरलाई सुमधुर बनाऔं । दायित्वको साझेदारी र मायाको इँटा चाङ लगाउँदै सुन्दर, सभ्य र स्वाभिमानी परिवार बनाऔं । अनि देशले एउटा असल जनता वा नागरिक पाउनेछ, जसले भ्रष्टाचाररहित सुन्दर राज्यको सपना साकार गर्न मद्दत गर्नेछ । हाम्रा प्रियको आयु बढ्नेछ र चाडपर्व आफैं झन् रमाइलो हुनेछ । त्यसैले हामी नेपाली चेलीको महान् पर्व तीजलाई सामान्य, सरल र कम खर्चिलो ढंगले मनाई विकट दूरदराजका महिलाहरुले पनि सहजरुपमा एक समान भएर रम्ने पर्वको रुपमा स्थापित गरौं । सबैमा हरितालिका तीजको शुभकामना !

(लेखक अधिकारी अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्