प्राधिकरणद्वारा दैनिक ६ करोडको विद्युत् भारतमा बिक्री



काठमाडौं  ।

चालु आर्थिक वर्षको पहिलो महिनामा करिब २ अर्ब रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपियाँको विद्युत् निर्यात गरेको हो ।

प्रााधिकरणले जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री शुरू गरेको थियो ।शुरूमा ३९ मेगावाट उत्पादित विद्युत्लाई बिक्री गरिएको थियो । जेठ २७ गते ६ वटा जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा बिक्री हुँदै आएको छ । आइएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गर्छ ।

प्राधिकरणले साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपियाँ कमाएको छ । गत आव २०७८÷७९ मा ३ अर्ब ८८ करोड रुपियाँको विद्युत् निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तर्देशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो ।

प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको बताउनुभयो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट आइएक्सको डे–अहेड बजारमा बिक्रीको प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४ दशमलब २ मेगावाटको लिखुखोला ‘ए’ २३ दशमलव ५ मेगावाटको सोलुखोला, २२ दशमलव १ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११ दशमलव ८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात हुन्छ ।

प्रतिक्रिया दिनुहोस्