राष्ट्रिय वाणिज्य बैंकको मुनाफा ५ अर्ब २१ करोड



काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
बैंकले यस अवधिमा ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत अर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपियाँ रहेको थियो ।

यस अवधिमा बैंकको कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको हो । आर्थिक वर्ष २०७८-७९ को बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ६७ करोड (गत वर्ष ८ अर्ब २४ करोड), कुल संचालन आम्दानी ११ अर्ब २७ करोड (गत वर्ष ९ अर्ब ७६ करोड), सञ्चालन नाफा ७ अर्ब १ करोड (गत वर्ष ५ अर्ब ९ करोड), कुल समग्र आम्दानी ३ अर्ब ८ करोड (गत वर्ष ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड रहेको बैंकले जनाएको छ ।

गत असार मसान्तमा बैंकको ग्राहक निक्षेप २ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १ दशमलव ८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ ।आर्थिक वर्ष २०७८-७९ मा बैैंंकको सेयरधनी कोष ४ अर्ब ८१ करोडले वृद्धि भई ३३ अर्ब ४८ करोड र कुल सम्पत्ति १९ अर्ब रुपियाँले वृद्धि भई ३ खर्ब २९ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०७८-७९ को चौथो त्रैमाससम्मको समीक्षा अवधिमा बैंकले खुद मुनाफा, कर्जा, सेयरधनी कोष, कर्जाको गुणस्तरलगायत समग्र व्यावसायिक नतिजामा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरू परिपालना गर्न तथा प्रमुख परिसूचकमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्