राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर बुटवलमा



काठमाडाैं ।

लुम्बिनी प्रदेश रूपन्देही जिल्लाको बुटवल उप–महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्रको एक समारोहका बीच शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा उप–महानगरपालिका का प्रमुख पाण्डेले बुटवल बजार व्यावसायिक क्षेत्र भएकाले काउन्टरबाट सरकारी कारोबारलगायत व्यावसायिक कारोबारसमेतको माग रहेको बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वडा कार्यलयबाट समेत राजश्व सङ्कलन गर्ने योजना रहेको बताउनुभयो ।

शाखा कार्यालय बुटवलमार्फत् रहने सो एक्सटेन्सन काउन्टरबाट विभिन्न सरकारी कार्यालयबाट लिइने राजश्व, धरौटी, सेवा शुल्क, दस्तुर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतको रकम जम्मा गर्न सकिने छ ।बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रादेशिक प्रबन्धक दिनेश गौतमको सभापतित्वमा भएको कार्यक्रममा उपकार्यकारी अधिकृत सरस्वती अधिकारीले स्वागत मन्तव्य तथा उप प्रबन्धक जितेन्द्रसिंह थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न वडाका वडा अध्यक्ष तथा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, उद्योग वाणिज्य महासंघ बुटवलका अध्यक्ष उज्ज्वल कसजु, शाखा कार्यालय बुटवलका शाखा प्रबन्धक सुरेन्द्र यादब, कर्मचारीहरूलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्