‘गोयबल्स शैली’को प्रचारमा नेताहरू



केशव अधिकारी

प्रथम विश्वयुद्धले ठूलो मारमा परेको वा मारमा पारिएको जर्मनीमा संसारका विख्यात तानाशाह भनेर चिनिने एडोल्फ हिटलरले शासन हात लिएपछि उनले आफू नेतृत्वको सरकारको अर्थमन्त्रीको रुपमा गोयबल्स नामका व्यक्तिलाई नियुक्त गरेका थिए । नभन्दै हिटलरले आफूलाई उनी नेतृत्वको सरकारको अर्थमन्त्री बनाएको गुन गोयबल्सले राम्रैसँग लिए भनेर ढुक्कले भन्न सकिन्छ ।

सबैतिरबाट भड्खालोमा जाकेर चारैतिरबाट नाकाबन्दी गरिएको जर्मनी अबको आधा शताब्दीमा पनि उठ्न सक्ने र विश्वका शक्तिराष्ट्रसामु शिर ठाडो बनाउन सक्ने छैन भनेर जर्मनीविरोधी सबै देशहरू खुशी र ढुक्कसमेत भए । तर हिटलरले आधा शताब्दी त कुरै नगरौं केही वर्षमा नै जर्मनीमा ५० लाख सेना तयार गरे । आधुनिक हतियार धेरै दू्रत गतिमा बनिए, जसका कारण आधा शताब्दी उठेर शिर ठाडो पार्न सक्दैन भनेको जर्मनीले दोस्रो विश्वयुद्धको तहल्का मच्चाउन सक्ने भएको थियो ।

जर्मनीको यो दू्रत गतिको आर्थिक उन्नतिको श्रेय तिनै अर्थमन्त्री बनेका गोयबल्सलाई मुक्तकण्ठले प्रशंसाका साथ दिन सकिन्छ । गोयबल्सको एउटा अनौठो र नपत्याउँदो तर कामयावी हुने खालको सिद्धान्त के थियो भने, कुनै पनि झुटो कुरालाई सय वा हजारपटकसम्म सत्य हो भनेर भनिरहन सकियो भने सबैजसो मान्छे स्वयंले विश्वास गरेर पत्याउनेछन् । हिटलरको सरकारका अर्थमन्त्री बनेका गोयबल्सले यसै सिद्धान्तका आधारमा संसारलाई ढाँटेरै तर झुटो कुरो भए पनि पत्याउन बाध्य पारेरै धेरै शक्ति सञ्चय गर्न सकेका थिए । सञ्चय गरिएको त्यही शक्तिका कारण दोस्रो विश्वयुद्ध छेडेर केही हदसम्म जित हासिल गर्न सफलतासमेत पाएका थिए ।

हाम्रो देशमा अहिले स्थानीय चुनाव सम्पन्न भएको केही महिना बितेको छ । अब देश पुनः संविधानसभा र प्रदेशसभाको निर्वाचनको गन्तव्यतिर जान लागेको छ । अब आउँदा दिनका साँझ–बिहान कुनै पनि समयमा आउँदो चुनावको मिति तोकिने कुरा निश्चितजस्तै छ । त्यस चुनावमा हाम्रा नाम कहलिएका शीर्ष नेताहरुले जसरी भए पनि चुनावमा उम्मेदवारी दर्ता गरेर चुनाव नजिती भएको छैन । त्यसैले उनीहरु अनेक छलछाम गरेर, दण्डसजाय दिएर, लोलोपोतो घसेर अथवा कुन यन्त्र प्रयोग गरेर चुनाव जित्ने होला ? भनी हरेक खालका षड्यन्त्रका तानाबाना बुनेर भोट आ–आफ्ना पक्षमा पार्नको लागि हरप्रकारले प्रयास गरिरहेका छन् ।

यसरी गोयबल्स शैलीको प्रचारमा निकै तीव्रताका साथ लागेका हाम्रा नेताहरुमध्ये कुनै–कुनै नेताले आफ्ना मतदातालाई बाँडेका आश्वासन नपत्याउने खालका छन् । केही सचेत जनताले उनीहरूका झुटा प्रतिबद्धता नपत्याएर लल्कार्दासमेत उनीहरु लाचार बनेर सत्तारोहणका लागि निकै लालायित भएका देखिन्छन् । उनीहरूसँग देश विकासको साँचो र तात्विक दृष्टिकोण एक थोपो पनि छैन भन्दा हाम्रा कुनै पनि नेताप्रति अन्याय हुनेछैन भनेजस्तो लाग्छ ।यसै मेसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कहिले के बोल्छन् त कहिले के बोल्छन्, उनको बोलीको ठेगान नै छैन । अब माओवादी सत्तामा जानबाट कसैले रोक्न सक्दैन भनेर भाषण गर्छन् । तर नेपालको राजनीतिक परिवेश हेरेर उनी केही क्षणमा नै निराश पनि बन्छन् र पैसा करोडौँ नभई चुनाव जित्न सकिन्न भन्दै भारत भ्रमणमा जाने निहुँ गरेर पैसाको अवैध जोहो मिलाउँछन् । चुनाव खर्चका लागि भनेर पैसाको जोहो मिलाउन भारत पुगेका दाहाललाई भारतीय प्रधानमन्त्रीले गरेको व्यवहारले उनको मन कति कुँडिएको होला तर प्रम मोदीसँग भेट नहुँदा वा मोदीले नभेट्दा पनि केही फरक परेन भनेर नेपाली जनतालाई ढाँट्छन् ।

अहिलेको २१ औँ शताब्दीका जनताले उनका हरेक क्रियाकलाप सूक्ष्म तरिकाले विश्लेषण गरिरहेको भए पनि उनलाई त्यो कुरो थाहै छैन । उनी आफ्नै अहङ्कारमा घाँटीसम्म डुबेर त्यसैभित्र कहिले अघाउँजी रुन्छन् त कहिले आत्मसन्तुष्टि लिन खोज्छन् तर आफूले आफैँलाई नियन्त्रणमा राख्न सक्दैनन् । काम ठूलामात्र नभएर महान् गर्छु भन्ने धमास दिए पनि फेरि झीना–मसिना कुरामै अल्झेर समय खेर फाल्छन् । उनको आत्मरतिले के भन्छ भने, म त सत्र हजारभन्दा बढी मानिसको हत्या गर्न सक्ने आँटिलो वा हिम्मतिलो मान्छे हुँ ।

त्यसैले मलाई सबैले आदरभावका साथ मान्नुपर्छ वा सलाम गर्नुपर्छ भन्ने उनको अन्तरहृदयको बोली वा आवाज सुन्न सकिन्छ । उनको नजिक हुने र अलि अनुभवी मान्छेले उनीसँगको हिमचिम बढाएर केही समय सँगै बसेका खण्डमा उनीभित्रका मानसिक शक्ति र तिनलाई बलियो बनाउने तत्वका बारेमा धेरै मात्रामा थहा पाउन सकिन्छ । आफू दुईचोटि देशको कार्यकारी प्रधानमन्त्रीको कुर्सीमा बस्न पुग्दा पनि उल्लेख्य काम केही गर्न नसक्ने बिचरा प्रचण्डका कुरा कसले पत्याउने होलान् अब ?

आमचुनावको तिथि हाल नतोकिए पनि यसै वर्षको मंसिर महिनाको पहिलो वा दोस्रो हप्तातिर पर्ने गरी तिथि तय हुँदै छ । त्यस चुनावमा जसरी हुन्छ नजिती नहुने भन्ने खालका जिकिरहरु आज हरेक राजनीतिक दलका हरेकजसो शीर्ष नेता भनाउँदाहरुको मानसिकतामा रहेको छ । यदि चुनाव नजिते आफूले अवैधरुपमा कमाइ गरेको कालो धन नाश भएर जानेछ । आमजनताले रिसले आफूलाई हेरेका खण्डमा के गर्ने होला भन्ने डरले नेतालाई धेरै मात्रामा सताएको छ । त्यसै कारणले गर्दा उनीहरु गोयबल्स शैलीको प्रचारमा लागेका देखिन्छन् । यस्तै खालको चुनावी प्रचारमा लाग्ने युवा नेता भनाउँदा नेपाली काङ्गे्रसका महामन्त्री बनेका गगन थापाले आफूलाई चुनावमा भोट दिएर जिताउन सकेको खण्डमा खाडी मुलुकमा गएका नेपाली युवालाई नेपालमै बोलाई स्वदेशमै रोजगारीका अवसर प्रदान गर्ने ललिपप देखाउँदै छन् । यही आफ्नो चुनावी प्रचारको सामग्री रहेकोले त्यही झुटो सामग्रीको आडमा चुनाव लडेर जित्न पाए के–के न गर्ने भनेर ढाडस दिने काम अलि बढेर गएको पाइन्छ ।

यसरी नेपाली राजनीतिका शीर्ष भनाउँदा नेताहरु तँछाड र मछाडको चुनाव प्रचारको अभियानमा लागेका छन् । नेपाली काङ्गे्रसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि कहिले कार्यकर्तालाई घुर्कीको बचन सुनाउँदै आफूले राजनीतिबाट संन्यास लिने कुराको प्रचार गराउँछन् त कहिले पत्रकारहरुलाई थर्काउँदै आफ्नो पक्षको चुनावी प्रचारमा टेवा पुग्ने तरिकाले कलम चलाउन निर्देशन दिइरहेका हुन्छन् । नेताका चुनावी प्रचारका कुरा सुनेर हाँसो र रिस दुवै उत्पन्न हुन्छ । उनीहरुले कामको एउटा सिन्को नभाँचेर चुनाव जित्ने सपना देख्नु र झुटो प्रचारमा लाग्नुले हामी आम नेपाली र देश नेपाललाई समेत कुनै फाइदा पुग्ने त कुरै छैन, केवल बर्बादीतिर नै धकेलिरहेको छ । लाखौँ जनताको असमर्थन र असहमत हुँदाहुँदै पनि एमसीसी पास गराएरै छोड्ने काममा उद्यत् रहेका देउवालाई अबको चुनावमा भोट दिएर जिताउनु र उनैलाई पुनः प्रमको कुर्सीमा विराजमान गराउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुसरहको घातक काम हो भन्ने कुरा धेरैलाई थाहा भइसकेको सन्दर्भमा ती नेताहरुले थाहा नपाउने कुरो पक्कै हुँदैन ।

केही दिनअगाडि आफ्नो गृहनगर रौतहट पुगेका माधवकुमार नेपाललाई उनकै कार्यकर्ताले चोर भन्दै लखेटेका र उनी ज्यान जोगाउन भागेर हिँडेको दृश्य पनि कतातिर हो कुन्नि देख्न र सुन्न पाइएको थियो । प्रधानमन्त्री शेरबहादुरले हकारेका एकजना उनकै क्षेत्रका युवानेता प्रम देउवाकै क्षेत्रबाट चुनावमा उठेर देउवालाई चुनावमा हराइछोड्ने कुराको उद्घोष गर्दै छन् । शत्रु सानो वा ठूलो मानिदैन भन्ने कुराको हेक्का राख्न सकेर तदनुसारका कदम चाल्न नसकेका खण्डमा ती युवाले चुनावमा अधिक जनमतका साथ देउवालाई हराइदिए भने त्योभन्दा नमीठो अनुभूति के होला ? यस्तो विषम परिवेशमा झुटा प्रचार गरेर हिँड्नु वा विनाआधारका झुटा आश्वासन बाँडेर आमजनतालाई भ्रममा राख्नु आफैँमा आपराधिक मानसिकताले भएको काम ठानिन्छ । यस्तो आपराधिक काम गर्नु भविष्यका लागि पनि कलङ्क बोक्नुसिवाय केही होइन ।

हाम्रो देशको राजनीतिका शीर्ष नेताहरु सम्पत्तिको मोहमा अधिक फसेका छन् । यो मोहले दिनानुदिन जनतासँगको सुमधुर सम्बन्ध तथा जनताले दिने उच्च सम्मान गुमाएर निरपेक्षरुपमा दुःखी बनी बाँच्न थालेका छन् । अबका दिनमा फलानो राजनीतिक दलका फलाना–फलाना नेताले भन्दाबाहेकका अरु नेताले विगतको जस्तो उच्च सम्मान पाउने छैनन् । उनीहरु स्वयम् मात्र धनको मोहमा डुबेका भए त अलि सानो अपराधको कुरो ठहरिने थियो होला तर सत्ताको कुर्सीमा कहिल्यै कसैले पनि दाबी नगरोस् र निर्बाधरुपमा विराजमान भइरहन पाऊँ भन्ने साँघुरो मानसिकताले समेत घर गरेको छ । यस्तो मानसिकतामा जकडिएका हाम्रा नेताले आफूपछिको राजनीतिक नेतृत्व कुशलताका साथ सम्हाल्न सक्ने एउटै व्यक्ति पनि तयार गर्न नसकेका कारण उनीहरुले यो दोषको भारी पनि विवश भएर बोक्नुपरेको छ ।

त्यसै उनीहरु जीवित रहँदासम्म त श्रापित नै रहेका छन् र यताबाट उता लखेटिनुपरेको छ भने उनीहरु मरेर जाँदा पनि श्रापित नै रहने भए । यति भएर पनि उनीहरुको चेत नखुलेको देख्दा भने राजनीति एउटा नशालु पदार्थजस्तै हो र यसको नशा भनेको विषको नशाभन्दा पनि गहिरो हुन्छ भन्ने कुरा स्वतः प्रमाणित हुन पुगेको जस्तो लाग्छ । स्थानीय चुनावमा बलियो राजनीतिक दलको बलियो पकड जमाएका भनिएका उम्मेदवार नेतालाई समेत नराम्ररी पछारेर स्वतन्त्र व्यक्तिले अत्यधिक बहुमतले चुनाव जितिरहँदा हाम्रा बूढा र पुरानो सोचका शीर्ष नेताहरुको पनि अज्ञानताको पर्दा चाँडै हटेर ज्ञानको पर्दा देखिए हुन्थ्यो । अबका दिनमा बूढा र पुराना सोचका नेताहरुले राजनीतिबाट संन्यास लिएर एउटा अभिभावकीय भूमिकामा रही सुशासनका लागि सल्लाह वा परामर्श दिन तयार रहनु नै उचित हुन्छ । यदि उनीहरु ‘गोयबल्स शैली’को प्रचारमा लागेर कथंकदाचित फेरि सत्ताको बागडोर सम्हाल्न पुगे भने यस मुलुकको बर्बादीका दिन आए भन्ने ठान्दा फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्