एक खर्ब १३ अर्बभन्दा बढीको तेल आयात

0
Shares

काठमाडौं।

नेपालले गत आर्थिक वर्ष २०७८-७९ मा १ खर्ब १३ अर्ब ६२ करोड २४ लाख ५५ हजार रुपियाँको कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल आयात गरेको पाइएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको तेल आयात गरेको हो ।
सो अवधिमा नेपाललमा विभिन्न देशबाट ७१ करोड ८२ लाख ४३ हजार ८ सय ७७ लिटर कच्चा भटमास, पाम, नरिवल र सनफ्लावर तेल भित्रिएको विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा ५६ अर्ब १८ करोड ३६ लाख ५५ हजार रुपियाँको ३३ करोड २९ लाख ८३ हजार ५ सय ४६ लिटर कच्चा भटमास तेल नेपाल भित्रिएको छ ।

सोही अवधिमा ३९ अर्ब ३१ करोड ६ लाख ६६ हजार रुपियाँको २७ करोड ६६ लाख २२ हजार १४१ लिटर कच्चा पाम तेल, १८ अर्ब १० करोड ७६ लाख ३४ हजार रुपियाँको १० करोड ८५ लाख ३५ हजार ४सय ९ लिटर कच्चा सनफ्लावर तेल र २ करोड ५ लाखको १ लाख २ हजार ७ सय ८१ केजी कच्चा नरिवल तेल नेपालले आयात गरेको छ ।

आर्थिक वर्ष २०७८-७९ मा नै नेपालले प्रशोधन गरिएको ९३ अर्ब ७० करोड ८५ लाख ९० हजार रुपियाँको भटमास, पाम र सनफ्लावर तेल भारतमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ मा नेपालले विभिन्न देशबाट ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपियाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको थियो । सो वर्ष नेपालले विभिन्न देशबाट ल्याएको कच्चा भटमास, पाम र सनफ्लावर तेल प्रशोधन गरी भारतमा ५५ अर्ब ९० करोड ३८ लाख १५ हजार रुपियाँको निर्यात गरेको थियो ।

Skip This