गठबन्धनको पीडा



अहिले कायम रहेको पाँच दलीय गठबन्धनको सरकार विभिन्न खाले पीडामा फसेको छ । गठबन्धनका कारण नेपाली कांग्रेसलाई जति लाभ भएको छ, त्यसको छेउछाउको लाभ पनि अन्य दललाई मिलेको छैन ।

प्रतिनिधि सभामा कमजोर प्रतिपक्षीको अस्तित्वमा रहेको नेपाली कांग्रेसलाई चार टेका लगाइदिएर सत्ताको नेतृत्व गराउने नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चा यतिखेर ठगिएको महसुस गरिरहेका छन् । ‘किङमेकर’ मानिएका पुष्पकमल दाहाल प्रचण्ड यसबेला निकै दबाबमा रहेको बुझिएको छ । त्यसैले प्रचण्डले नेपाली कांग्रेसलाई आगामी संसदीय निर्वाचनका सम्बन्धमा हालै चेतावनी दिएका छन्, संघ र प्रदेशको चुनावमा माओवादी दोस्रो नभए सहज हुँदैन भनेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दाबी गरेका छन् । उनले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यस विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए । कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पूरै सम्भावना रहेको प्रचण्डको विश्वास छ, नेपाली कांग्रेसका नेतासँग कुरा गर्दा प्रचण्डले सायद पहिलो नेका नै हुनसक्छ, त्यो देखियो पनि, दोस्रो माओवादी केन्द्र हुने हो, त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन भन्ने भनाइ राखेका छन् । उनले यसमा गडबड हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरेका छन् ।

कम्तीमा गठबन्धनको नेतृत्व तहमा राम्रो समझदारी रहेको विश्वस्त गराउँदै अध्यक्ष प्रचण्डले कार्यकर्तालाई आश्वस्त गराएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तो पार्टीले न्यून सिटमा चित्त बुझाउनुपर्ने अवस्था नआवस् भन्ने माओवादी केन्द्रको धारणा देखिन्छ । नेपाली कांग्रेसपछिको ठूलो पार्टीका रुपमा आफू निर्वाचित भए पुनः एक पटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने धारणा राखेका छन् ।

संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने सोचका साथ काम भइरहेको उल्लेख गरेका छन् । स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए भनेर उनले कार्यकर्तालाई सम्झाएका छन्– प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरेर टिकट बाँड्न पाइन्छ ।

यसरी जनप्रतिनिधि छनोट गर्दा पार्टीले केन्द्रबाट छान्ने अध्यास सहज त छ, तर स्थानीय निर्वाचनमा देखिएको दलप्रतिको वितृष्णालाई बेवास्ता गर्ने अवस्था भने छैन । पार्टीका लोकप्रिय युवालाई जनताले पत्याए पनि शीर्ष नेताहरुले पत्याउने नगरेको देखिनु दुर्भाग्यपूर्ण छ ।

पार्टीलाई मोटो रकम चन्दा हाल्ने र अध्यक्ष वरिपरि उभिएर चम्मर हल्लाउनेहरुलाई नै योग्य ठान्ने मानसिकता सबै दलमा देखिन्छ । परिणामस्वरुप दलका नेताले निर्वाचन हार्ने र स्वतन्त्रले जित्ने अवस्था बन्नजान्छ । स्वतन्त्रको जीतलाई आफ्नो दलको हार ठानेर स्थानीय निर्वाचनले विजयी बनाएका व्यक्तिलाई असहयोग गर्नेगरेको देखिएको छ । यस प्रकारको प्रवृत्तिले राजनीतिक पार्टीहरु अझ अलोकप्रिय हुने निश्चित छ । त्यसैले गठबन्धनको पीडा मिलेर सुल्झाउने र जनतको समर्थन पाउने गरी काम गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्