नागरिकको लापर्बाही



यतिबेला कोरोना विरुद्धको अतिरिक्त (बुष्टर) मात्रा खोप सरकारसँग जगेडामा छ । नागरिक भने खोपका सम्बन्धमा भ्रमपूर्ण अभिव्यक्ति दिंदै हिंडेका छन् । खोपले मानव शरीरभित्र कोरोना भाइरस प्रवेश गर्न रोक्दैन, शरीरमा कोरोना भाइरससँग लड्ने क्षमताको विकास हुन्छ, कोरोनालाई जित्न सघाउँछ, जोखिम कम हुन्छ भन्ने ज्ञानको कमी भएकै कारण नेपालमा खोप नलगाउने र ज्यान जोखिममा पार्ने नागरिकलाई शिक्षा दिन सबैपक्ष लाग्ने बेला आएको छ ।

त्यसो त, कोरोना नेपालमा कसरी भित्रियो भन्ने विगत तीन वर्षको इतिहास पढ्नेहो भने पनि सतर्कता र साबधानी नै यसको रोकथामको भरपर्दो उपाय देखिन्छ । कोभिड– १९ चीनको बुहानमा देखापर्दाको समय सन् २०१९ को डिसेम्बरमा आम नेपाली तथा स्वास्थ्यकर्मीहरुलाई पनि यो रोग नेपालमा आउँदैन होला भन्ने थियो ।

जब नेपालमा २०७६ माघ ९ गते चीनबाट नेपाल फर्किएका एक विद्यार्थीमा कोभिड प्रमाणित भयो, त्यसपछि नेपालमा कोभिड आयो भने के गर्ने भन्ने विषयमा छलफल शुरु भयो । यतिखेर छलफल शुरु गर्नु ढिला भइसकेको थियो । हामीकहाँ कोभिड आउँदैन भन्ने सोचका कारण कोभिडले नेपालीको ज्यान त लियो नै, व्यापार–व्यवसाय ठप्प पारेर मानिसलाई भोकै मर्ने अवस्थामा पु-यायो । देशभित्रै कोभिडको बिरामी देखिंदा पनि नेपालमा कोभिड आउँदैन भन्नेमा सरकार र आम नेपाली ढुक्कजस्तै देखिनु आश्चर्यको विषय हो ।

जब भारतमा कोभिडका बिरामी देखिएसँगै लकडाउन शुरु भयो तब सरकारले एकाएक २०७६ चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग-यो । स्वास्थ्य परीक्षणका लागि काठमाडौंको टेकुमा नमुना संंकलन गर्ने र दिल्ली पठाएर परीक्षण गरी साता–दश दिनमा रिपोर्ट आउने अवस्था निराशापूर्ण थियो । कोरोनाको औषधि र खोप नै पत्ता नलागेको बेलामा बाँचेका नेपाली अहिले सबैकुरा हुँदा पाएको खोप समेत नलगाउँने, आफै चिकित्सक बन्ने सम्मको अवस्थामा पुगेका छन् ।

आज, छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढेसँगै रोग लागेपछि विनापरीक्षण नेपाल प्रवेश गर्नेले उपहार स्वरुप कोरोना भाइरस नेपाललाई दिएका छन् ।यतिखेर, सीमानाका र विमानस्थल लगायतका क्षेत्रमा स्वास्थ्य परीक्षणलाई बढाउनुपर्ने देखिन्छ । सरकारले नीति नबनाएको हैन तर नीतिको पालना गर्नुपर्ने नागरिकले आफ्नो र परिवार तथा देशको लागि इमान्दार बन्न सकेको पाइन्न ।

हवाई यात्रामा कोभिड खोप लगाएको, पिसीआर परीक्षण गरेको रिपोर्ट अनिवार्य छ । तर यस्ता रिपोर्ट आर्थिक चलखेलमा लागेका गिरोहहरुले खुलेआम खरिद बिक्री गरिरहेको सूचना पाउँदा पनि सरकारले रोकथाम गर्न नसक्दा कोरोनाको जोखिम बढ्दैछ । कोरोना संक्रमित व्यक्तिलाई स्वस्थ रहेको प्रमाण दिएर विदेश यात्रा गर्ने–गराउने कार्यमा जुटेका व्यक्तिका कारण कति व्यक्ति जोखिममा परेहोलान्, यस विषयको खोजबिन हुनु जरुरी छ ।

सरकारले महामारी आएपछि आत्तिएर हतारमा सुरक्षा व्यवस्था कडा पार्नुको साटो पहिला नै यो अभ्यास अपनाएको भए कति नागरिक जोगिन्थे भनेर पनि खोज हुनुपर्छ । यसरी विश्लेषण गरेर तथ्य बाहिर नल्याएसम्म राज्य र नागरिक सचेत हुने अवस्था देखिएन । आजको लापर्बाही साँच्चिकै गम्भीर देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्