राजनीतिक तरलता



सर्वविदित छ, जग बलियो नभई घर बलियो हुनसक्दैन । समृद्ध राष्ट्र निर्माणका लागि राजनीतिक स्थायित्व जग हो । देशको मूल नीति राजनीतिबाटै निश्रृत हुन्छ । राजनीतिक दलले नै प्रतिनिधिसभामा पुगेर नीति निर्माण गर्ने भएकाले राजनीतिक स्थायित्वका लागि उनीहरुको सैद्धान्तिक अडान सबल हुनु आवश्यक छ । तर पाँच दलीय गठबन्धनको पछिल्लो व्यवहारले राजनीतिक तरलता देखाएको छ ।

देशको विकास र राजनीतिक स्थायित्वको लागि भन्दै नेपालमा धेरै पटक आन्दोलन भयो । आन्दोलनले सफलता पनि प्राप्त ग¥यो । जहानिया राणाशासन, पञ्चायती व्यवस्था, राजतन्त्र, बहुदलीय व्यवस्था हुँदै देश अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको छ । तर पनि राजनीतिक स्थायित्व हासिल हुनसकेको छैन ।

व्यवस्थापन पक्षलाई दोष दिदै आएका राजनीतिक दलहरु नै अहिले गणतन्त्रको सरकार चलाइरहेका छन् । उनीहरुले विगतमा जसलाई दोषी देखाएका थिए, त्यो व्यवस्था अहिले परिवर्तन भइसकेको छ । तर देशलाई विकसित र समृद्ध बनाउने परिवर्तित जनादेश कार्यान्वयनमा आउन सकेको छैन । नेपालमा विरलै मात्र आउने अवसरको रुपमा तत्कालीन नेकपाले झण्डै दुईतिहाइ बहुमत हासिल गरेको थियो । तर त्यसका प्रमुख नेताले जनमतको सम्मान गर्न सकेन ।

पाँच वर्षका लागि गठन भएको सरकार तीन वर्षमै ढल्यो । तत्कालीन नेकपाभित्र पद र शक्तिको उन्मादको कारण निकै लामो समयपछि राजनीतिक स्थायित्व प्राप्त हुँदा पनि त्यसलाई कम्युनिष्ट पार्टीले जोगाउन सकेन । नेताहरुको आ–आफ्नो दम्भ र घमण्डको कारण राजनीतिक स्थायित्व प्राप्त हुने आशा बढ्दै गर्दा अन्नतः नेकपा नै विघटन हुनपुग्यो । सत्ताको स्वार्थका कारण राजनीतिक घटना क्रममा अपवादमा प्राप्त हुने अवसरलाई सदुपयोग गर्नसकिएन । दुई तिहाई निकटको सरकार ढलेपछि बनेको पाँच दलीय गठबन्धनको सरकारले स्थायित्व दिनेमा आशंका हुनु स्वाभाविकै हो । तर पनि आगामी संघीय निर्वाचनसम्म सँगै जाने प्रतिबद्धताले स्थायित्वकै भाव प्रवाहित गरेको थियो, तर टिकटका बाँडफाँडको विषयका कारण राजनीतिक स्थायित्व तरलतातिर लागेको छ ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच अहिले आगामी प्रतिनिधिसभाको निर्वाचनको विषयमा सिट बाँडफाँडमा जो रस्साकस्सी देखिएको छ, त्यो कसैका लागि पनि प्रिय छैन । जनमतको हिसाबमा स्थानीय तहको निर्वाचनमा ठूलो दल बनेको कांग्रेस पनि एक्लै बहुमत ल्याउनेमा ढुक्क हुनसक्तैन । अन्य पार्टीले यस प्रकारको सपना देख्ने अवस्था अझै टाढाको विषय हुनआउँछ ।

देशलाई विकासको बाटोमा डोहो¥याउने मूल दायित्व राजनीतिक दलरुकै हो । तर, दलहरुका आ–आफ्नै विचार, सिद्धान्त र लक्ष्यका कारण पाँच दलीय गठबन्धन प्राकृतिक देखिन्न । गठबन्धनमा रहेका दलहरुको आ–आफ्नै नीति र योजना भएकाले एकै ठाउँमा लामो समयसम्म उभिन नसक्नु अस्वाभाविक होइन । राजनीतिक दलहरुले कसरी बहुमत पुग्छ, कसरी चुनाव जित्न सकिन्छ भन्नेभन्दा पनि कसरी देश विकास हुन्छ भन्नेमा केन्द्रित हुनुपथ्र्यो । खासगरी गठबन्धनको नेतृत्व गरेको दल नेकाले त्याग देखाउनुपर्नेमा उसैले प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ सिटमा ९० सिट मागेपछि राजनीतिक स्थायित्वमा विचलन आउनु स्वाभाविकै हो ।

प्रतिक्रिया दिनुहोस्