वित्तीय सूचकमा उत्साहमूलक उपलब्धि

मेगा बैंक १३औं वर्षमा प्रवेश



काठमाडौं ।

मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ ।१२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

ठीक तेह्र वर्षअगाडि १२ सय १९ जना संस्थापक सेयरधनीको लगानीमा १४ जना संस्थापक र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको थियो ।‘जनताको घरदैलोमा बैंकको सेवा पु-याई आम मानिसको बैंक बनाउने उद्देश्यबाट अभिप्रेरित भएर परिचालित भएका हामीले तत्कालीन अवस्थामा सबैभन्दा बढी चुक्तापुँजी २ सय ३३ करोड भएको बैंक स्थापना गरेका थियौं’ – अध्यक्ष शाहले भन्नुभयो ।

लगानीकर्ताको विश्वास जित्दै सानो सानो पुँजीको लगानी र परिचालनबाट मेगा परियोजना सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण मेगा बैंक हो,’ अध्यक्ष शाहले भन्नुभयो–उत्पादनमूलक, रोजगारीको सिर्जना गर्ने र आयातलाई प्रतिस्थापन गर्दै निर्यातको प्रवद्र्धन गर्ने उद्योग–व्यवसायलाई भरथेक गर्दा मात्र आत्मनिर्भर अर्थतन्त्रको निर्माण हुन सक्दछ । जुन आजको समय सन्दर्भमा सत्य प्रमाणित हुँदै गएका छन् ।

अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरूमा अग्रणी बैंकको रूपमा स्थापित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तरगत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरूमा डिफिड–सक्षम, यूएसएड–निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरूमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पु¥याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रूपान्तरण र सशक्तीकरण महत्वपूर्ण भूमिका खेलेको छ ।

विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उहाँले मेगा बैंकले स्थापित गरेका मान्यताहरूमा विचलन नआउनेमा विश्वस्त रहेको बताउनुभयो ।‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंक जस्ता आ–आफ्ना क्षेत्रका अब्बल बैंकहरूसँगको मर्जर तथा प्राप्तिले यस बैंक बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहम भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेका छौं भने हाम्रा मान्यताहरूलाई कायम राख्दै देशको आवश्यकता, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा, कोरोनाका कारणले व्यवसायमा परेको प्रभाव आदि जस्ता कुराहरूले गर्दा ३७ बर्षको इतिहास भएको नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भई सैद्धान्तिक सहमति प्राप्त भइसकेको अध्यक्ष शाहले बताउनुभयो ।

मेगा बैंककी कायममुकायम सीईओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रूपमा स्थापित भएको बताउनुभयो । ‘संस्थापकहरूको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वाशिलो र अग्रणी बैंकको रूपमा स्थापित भएको छ । बैंकको सञ्चालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरू खडा गर्दै गन्तव्यको उचाईतर्फ अग्रसर भएको छ । स्थापनाको १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरिरहँदा संस्थापकहरू सँगसँगै यस बैंकका लागि कर्मचारी, ग्राहक र सरोकारवाला सम्बद्ध सबैको निकै ठूलो योगदान रहेको छ ।

हलोदेखि हाइड्रोसम्म भन्ने नाराका साथ यो बैंकको यात्रा अगाडि बढेको थियो । आजसम्म आइपुग्दा थुप्रै वित्तीय सूचकहरूमा बैंकको अवस्था उत्साहमुलक देखिएको छ ।’– उहाँले भन्नुभयो ।कामु सीईओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताउनुभयो ।

साथै, स्थापनाकालदेखि नै मेगा बैंकले सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको उहाँले बताउनुभयो । कामु सीईओ श्रेष्ठले भन्नुभयो – ‘शिक्षामा बालिकाहरूको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सिर्जना गर्न हाम्रो बैंकले ‘एक शाखा दुई छोरी’ कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि १२ सम्म अध्ययनरत छात्राहरूलाई छात्रवृत्ति उपलब्ध गराएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत् वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्सन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत् १४ लाख ७५ हजारभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

समता अस्पताललाई पाँच लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले १२औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपियाँ सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तम सञ्जेललाई पाँच लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो । एक सय रूपियाँमा सर्वसाधारणको उपचार गराउँदै आएको उक्त अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्