कहिले शुरु होला ‘देश बचाऊ’ अभियान



पूर्वराजा महेन्द्रलाई ‘तानाशाह’ भनिन्छ र उनका क्रियाकलापहरूलाई लिएर अनेक निन्दा पनि गरिन्छ । जस्तै– उनले दलहरूमाथि प्रतिबन्ध लगाएर निरङ्कुश पञ्चायती व्यवस्था ल्याए । जननिर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी जेल हाले । उनको शासनकालमा अनेक काण्डहरू भए ।

पञ्चायती व्यवस्थाको विरोध गर्ने थुप्रै देशभक्त नागरिकहरू मारिए इत्यादि । खोज्दै जाने हो भने जोसुकै गुणी व्यक्तिमा पनि केही न केही अवगुण अवश्यै पाइन्छ । यस क्रममा, राजा महेन्द्रमा पनि महत्वाकाङ्क्षा बढ्दा उनले गर्न नहुने कामहरू गरेकै हुन् । तर उनका पालामा धेरै उल्लेखनीय कामहरू पनि भएका छन् । उनकै पालामा १४ अञ्चल ७५ जिल्लाको विभाजन भयो । नेपालमा भारतीय पुस्तक प्रतिबन्ध, भारतीय मुद्राको चलनमा रोक, भारतीय सेनाको नेपालमा उपस्थिति रोक तथा जलस्रोतमा भारतीय हस्तक्षेप रोक लगाउन सक्नु निश्चय नै प्रशंसनीय काम थियो ।

पञ्चवर्षीय योजनाको शुरुवात, राष्ट्र बैंकको स्थापना, भूमिसुधार ऐन, विकेन्द्रीकरणको थालनी, गाउँ फर्क राष्ट्रिय अभियान र मोहियानी हकको सुरक्षा पनि उनकै पालामा भयो । नयाँ मुलुकी ऐनको घोषणा उनकै पालामा भयो भने छुवाछूत, जातिभेद र लिंगभेदविरुद्धको नीति, भूमिसुधार ऐन, सर्वोच्च अदालतको स्थापना, सेना र प्रहरीमा आधुनिकीकरण, नेपाली मन्त्रिमण्डलको बैठकमा भारतीय प्रतिनिधित्वमाथि रोक र पूर्व–पश्चिम राजमार्गको शिलान्यास पनि उनकै पालामा भयो ।

त्यति मात्र होइन, वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसबारी छालाजुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योग पनि महेन्द्रकै पालामा स्थापना गरिएका थिए । अमेरिका, भारत र बेलायतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्धलाई बढाएर ५३ देशसँग पु¥याउने काम पनि उनैले गरे । उनको पालामा, भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध रहेको थियो । यी सब कुराहरू सम्झँदा, राजा महेन्द्रकै पालामा वैदेशिक सम्बन्धमा सुधार र विकासको चौतर्फी आधारशिला शुरु भएको मान्न जोसुकैलाई पनि कर लाग्छ ।

पछि, क्रान्ति र विकासका कुराहरू चर्का–चर्का आए । समयको खेल ! पञ्चायती व्यवस्था मासेर बहुदलीय व्यवस्था ल्याइयो । त्यसले पनि काम दिएन भन्दै, अब विकासको बाधक राजतन्त्रलाई ठानियो । विकास, समृद्धि र सुशासनमा ‘क्रान्ति’ ल्याउने भनेर निर्धा–निमुखा र सोझा–सीधा जनतालाई उकासेर ‘जनयुद्ध’मार्फत हजारौंलाई मर्न बाध्य पारियो । अर्बाैंको भौतिक सम्पत्ति पनि नष्ट गरियो ।

तर व्यवस्था, नेता, सरकार जेसुकै फेर्दा पनि देशले आफ्नै खुट्टामा उभिएर विकास गर्न पाएन । आफ्नै माटोमा उब्जेको खान पाएन । गणतन्त्र र संघीयतासँगै स्थानीय तह सक्रिय भएपछि त भ्रष्टाचारले देशका सबै अंग–अंगमा यसरी आक्रमण ग¥यो कि ठूलै उपचारात्मक व्यवस्था नगरिएसम्म अब यसले देशलाई मृत्युको मुखमा नपु¥याई नछाड्ने देखिन्छ ।

यस्तै कुराको सन्दर्भ चल्दा एकजना बुद्धिजीवी भन्नुहुन्थ्यो, ‘बरु प्रशान्त महासागरको पानी उघाएर अर्कोतिर पोखाउन सकिएला, हाम्रो देशको भ्रष्टाचार निर्मूल पार्ने कुनै सम्भावना छैन ।’ नभन्दै, संघीयताले अनेक नवराजाहरूको सङ्ख्या ह्वात्तै बढाएका कारण देशको विकास खर्च ‘राजनीतिक खर्च’मा खर्च हुन थालेको छ । नेतागणलाई उपलब्ध गराइने सेवा–सुविधा र तिनले बाँचेको विलासी जीवनशैलीले सीमा नाघेको छ ।

महाभारतमा युधिष्ठिरलाई यक्षले गरेको एउटा प्रश्न छ– ‘संसारमा आश्चर्य के हो ?’ उत्तरमा युधिष्ठिर भन्छन्– ‘दिनदिनै मानिसहरू मरिरहेका देखिन्छन् तर बाँकी मानिस लोभपापसहित बाँचिरहने इच्छा गर्छन् । योभन्दा अर्को आश्चर्य छैन ।’ छिमेकी देश श्रीलंकामा नेतागणले निर्घात कुटाइ खाएको कुरा सामाजिक सञ्जालमा देखिएकै हो । अन्त्यमा राष्ट्रपति निवास जनताले कब्जा गरेपछि राष्ट्रपति नै देश छाडेर भाग्नुपरेको पनि थाहा पाइएकै हो ।

तर यो कुराले हाम्रा नेताका लाखौं चेतना–प्वालमध्ये एउटा छिद्र पनि खुलेको छैन । उनीहरू झन्–झन् धुन्धुकारी शैलीमा आफ्नो सङ्ख्या र आफ्ना लागि सुविधा थप्ने ध्याउन्नमा आँखै नहेरी लागेका छन् । जनता पनि ब्वाँसोले कन्याएको गाईजस्तो सन्च मानेर चुपचापसँग नेताको सीमाहीन भ्रष्टाचार, मतिहीन क्रियाकलाप र गतिहीन व्यवहार आनन्दसँग हेर्नमै मग्न छन् । उनीहरूसँग विकल्प नै नभएजस्तो छ । सञ्चारमाध्यममा दिनदिनै भ्रष्टाचारका नयाँ–नयाँ र अझ डरलाग्दा, डरलाग्दा कुराहरू प्रसारण–प्रकाशन हुन्छन् । तर तिनलाई कुनै ‘खास’ मान्नुको साटो देशको दिनचर्याका रूपमा स्वीकारेर सामान्य ठानिन्छ ।

संसद्मा नेमकिपाका एकजना माननीय प्रेम सुवालको प्रतिनिधित्व छ । उहाँ हरेक बैठकमा सुरिलो स्वर, प्रस्ट विचार र निर्भीक शैलीमा देश र जनताको पक्षमा तर्क राख्नुहुन्छ । तर ‘एक्लो बृहस्पति झुटा’ भनेझैँ एकजना असल व्यक्तिको असल विचारलाई खराबहरूको झुन्डले निस्तेज पारिदिन्छ । हुन त अर्का माननीय भीम रावल पनि माननीय सुवालकै जसरी देश र जनताका पक्षमा कुरा राख्नुहुन्छ ।

तर उहाँ स्वयं खराबहरूको समूहबाट बाहिर निस्कन सक्नुभएको छैन । जनता लुटिएका छन् । देश खोक्रिएको छ । देश बेचिएको छ । देश बेहोस र अधमरो अवस्थामा छ । यसलाई जगाउने, बचाउने अभियान कहिले थालिने हो ? देश, त्यो समयको प्रतीक्षामा अधीर छ ।

प्रतिक्रिया दिनुहोस्