कोभिड सतर्कता



कोरोना भाइरसको संक्रमण पुनः बढेको छ । सबै प्रकारका व्यापार–व्यवसायदेखि भिडभाडका साथ सञ्चालन हुने भोजभतेर र फन–पार्कहरु पूर्ण गतिका साथ चल्न थालेपछि संक्रमणले टाउको उठाएको देखिन्छ । हताहतको संख्या खासै नदेखिए पनि संक्रमितको संख्या बढेको छ ।

तर यतिखेर डाक्टर तथा विज्ञहरु पहिलाजस्तो घरमै बस्ने र व्यापार–व्यवसायलाई रोक्ने किसिमको परामर्श दिइरहेका छैनन् । उनीहरु सतर्कताका साथ व्यापार–व्यवसायदेखि दैनिक गतिविधिसम्मका कार्य यथावत अघिबढाउन र खोपको संख्या बढाउन सुझाव दिइरहेका छन् । खोकी, ज्वरो, घाँटीको दुखाइजस्ता कोरोनाका लक्षण देखिए ‘मलाई कोभिड भयो’ भन्ने ठानेर सामाजिक दुरी अपनाउँने, मास्क लगाउने र उपचारात्मक विधि अपनाउने सुझाव चिकित्सकको छ ।

कोभिडका लक्षण देखिए नआत्तिनुस्, मौसमी रुघाखोकीका लक्षण पनि समान हुन्छन्, तर कोभिड भएसरह सुरक्षा उपाय अपनाएर आफू, परिवार र समाज सबैलाई सघाउनुस् भन्ने सुझाव दिंदै कोभिडका सम्बन्धमा विगत तीन वर्षदेखि आम नागरिकलाई सेवा पु-याउँदै आएका डा. शेरबहादुर पुनले दिएको सुझाव मननीय छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार दैनिक चार सयभन्दा बढीको संख्यामा संक्रमित थपिएका छन् । हाल देशभर सक्रिय संक्रमित तीन हजार रहेका छन् ।

विशेषज्ञ चिकित्सकहरुले अब कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा पर्ने क्रम रहिरहने हुनाले अतिरिक्त (बुष्टर डोज) खोपमा सरकारले चासो दिनुपर्नेमा जोड दिएका छन् । नेपालमा हालसम्म ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा खोप भित्रिएकोमा ४ करोड ८० लाख ९५ हजार ६ सय १७ मात्रा खोप लगाइसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालको कुल जनसंख्याको ७० प्रतिशतले मात्र कोरोना विरुद्धको खोप लगाएको र खोप ल्याउने र लगाउने कार्य जारी रहेको छ ।

सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ कोरोनाको नयाँ भाइरस बी एफ वान भेटिएको संकेत गर्दछन् । नयाँ, बी एफ फोर पनि पहिला नै भेटिएको हो । कोरोना भाइरसले नयाँ–नयाँ रुप लिइरहन्छ । यसको पछिलाग्ने हैन, अन्ततः खोपको पछि लाग्ने हो भन्ने भनाइ उहाँहरुको छ ।खोप दुई मात्रा नलगाएकाले खोप लगाउने र अतिरिक्त मात्रा (बुष्टर डोज) नलगाएकाले बुष्टर डोज खोप लगाने विज्ञको सुझावलाई सर्वोपरी राख्नु आजको आवश्यकता हो । खोपको मात्रा पूरा गर्दैजाने र नयाँ समस्याको समाधान खोज्दै जाने, अर्को विकल्प छैन ।

नयाँ भेरियन्ट कति छिटो फैलन्छ भन्ने बिषयमा अनुसान्धान नै भै नसकेकोले खोप लगाउनमा नै विज्ञहरु जोड दिन्छन् । कोरोना भाइरसले स्वरुप परिवर्तन गरिरहन्छ, त्यसबाट जोगिने अर्थात् समस्यालाई जटिल नबनाउने एउटै उपाय खोप लगाउनु मात्र हो ।

जसलाई संकेत वा लक्षण देखिएको छ, उसले परीक्षण गराउँने र कोभिड भए सरह सुरक्षा अपनाउने सुझाव दिइएको छ । उता, छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ भने भारतको सिमानासँग जोडिएका जिल्लाहरुमा थप कोरोना संक्रमितको संख्या बृद्धि भएको छ । यस्तो बेला विज्ञको सुझाव मान्र्दै सतर्कताका साथ दैनिकी चलाउनुको विकल्प देखिन्न ।

प्रतिक्रिया दिनुहोस्