राहदानीबाट मात्रै दुई करोड बढी राजश्व संकलन



लमजुङ।

जिल्ला प्रशासन कार्यालय लमजुङले एक आर्थिक वर्षको अवधिमा राहदानीबाट मात्रै दुई करोड भन्दा बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको श्रावण देखि असार सम्म राहदानी सेवा प्रवाहबाट मात्रै दुई करोड ६७ लाख ९३ हजार रुपियाँ  राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले जानकारी दिए ।

कार्यालयले एक आर्थिक वर्षमा करिब तीन करोड रुपैयाँ राजश्व सङ्कलन गरेको समेत मिश्रले बताउनु भयो । आर्थिक वर्ष २०७८÷७९ मा विभिन्न शीर्षकमा दुई करोड ८७ लाख २७ हजार दुई सय ५३ रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका अनुसार एक वर्षको अवधिमा कार्यालयबाट ६ हजार आठ सय ५१ राहदानी सिफारिस सेवा भएको छ । सो अवधिमा राहदानीका लागि पाँच हजार तीन सय ५० साधारण सिफारिस भएको छ भने एक हजार पाँच एक द्रुत सिफारिस भएको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत जगदीश मिश्रले बताउनुभयो ।

राहदानी सेवा बाहेक प्रशासन कार्यालयले अन्य प्रशासनिक र एजेन्सी दर्ता शुल्क बाट पाँच लाख, ९५ हजार चार सय दुई रुपैयाँ राजश्व सङ्कलन गरेको छ । प्रशासनिक दण्ड जरिवाना जफतबाट आठ लाख २० हजार ६ सय १० रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ । यस्तै हातहतियार इजाजत पत्र दस्तुबाट पाँच लाख ११ हजार ३५ रुपैयाँ सङ्कलन भएको छ भने परीक्षा दस्तुरबाट एक हजार एक सय रुपैयाँ राजश्व सङ्कलन भएको प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा मात्रै जिल्ला प्रशासन कार्यालयमा ८२ वटा संस्था दर्ता भएका छन् । त्यसै गरी कार्यालयले दुई सय १६ नाबालक परिचय पत्र, ७१ ठाडो उजुरी, दुई सय ८५ हातहतियार नवीकरण, २२ हातहतियार नामसारी गरेको जनाएको छ । त्यस्तै एक हजार ६ सय ६५ भुपु सैनिक पेन्सन सिफारिस, एक हजार २८ विविध सिफारिस गरेको कार्यालयको वार्षिक प्रगतिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले एक आर्थिक वर्षको अवधिमा सात हजार पाँच सय ५८ जनालाई वंशजको आधारमा नागरिकता वितरण गरेको जनाएको छ । सो बहेक चारहजार पाँच सय ५४ जनाको नागरिकता प्रतिलिपि र चार जनालाई वैवाहिक अगिकृत नागरिकता वितरण गरेको कार्यालयको वार्षिक प्रगतिमा उल्लेख छ । सो बाहेक कार्यालयले १० हजार एक सय २४ जनाको राष्ट्रिय परिचय पत्र दर्ता गरेको पनि वार्षिक प्रगतिमा उल्लेख छ ।

गत आर्थिक वर्षमा पुँजीगत तर्फ ११ लाख ३० हजार रुपैयाँ खर्च गरेको प्रशासन कार्यालयले चालु तर्फ एक करोड ४६ लाख ६८ हजार पाँच सय ७७ रुपैयाँ ९० पैसा खर्च भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्