फोहोरको चिन्ता



राजधानीको फोहोर व्यवस्थापनमा फेरि समस्या देखिएको छ । राजधानी मुलुकको अनुहार हो, विश्वले त्यही अनुहार हेरेर मुलुकको सभ्यता परिमापन गर्दछ ।

हाम्रो सन्दर्भमा काठमाडौं उपत्यकाको सांस्कृतिक, धार्मिक तथा वास्तुकला अनुहारमा जडिएका सुन्दर गहना हुन् । उपत्यकाको फोहोर विसर्जन हुँदैआएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साता बन्द भएपछि त्यस गहनामा दाग लाग्नेछ । बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने सबैभन्दा बढी हिस्सा काठमाडौं महानगरपालिकाले लिएको छ । त्यसैले बढी चिन्ता पनि यसैले लिनु आवश्यक छ ।मुलकको राजधानी काठामाडौमा दैनिक करिब एकहजार टन फोहोर संकलन हुनेगरेको छ । शहरी विकास तथा भवन निर्माण विभाग ल्याण्डफिल साइट आयोजना कार्यालयले एक साता सबै किसिमका सवारी साधन चल्न नदिने निर्णय गरी कामपालाई जानकारी गराएको थियो ।

लगत्तै सो पत्रको कार्यान्वयन गर्दै कामपाले बुधबार साँझ एक साता फोहोर बिसर्जन बन्द गर्ने निर्णय गरेको छ । सो जानकारी लगत्तै कामपाले बुधबार बञ्चरेडाँडा ल्याण्डफिल साइटको सडक मर्मत गर्नुपर्ने कारण देखाउँदै कामपाले एकसाता घरमै फोहोर व्यवस्थापन गर्न अपिल गरेको छ । सो अपिल कार्यान्वयन गर्न महानगरले अनुगमन पनि शुरु गरेको छ । भर्खर केही सफा देखिन थालेको महानगर क्षेत्रको सडक गल्लीमा फेरि फोहोर थुप्रिने अवस्था बढेको छ ।

महानगरको टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहोरको डुंगुर थुप्रिएकोछ । ट्रान्सफर स्टेशनमा रहेको फोहोर उठाउन नसकेपछि महानगरले फोहोर छोपेर राखेको छ । कामपाले ६ दिनअघि गते–बार अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण गरी संकलन शुरु गरेको थियो । कुहिने फोहोर वडास्तरमै व्यवस्थापन गर्ने र नकुहिने फोहोर मात्र उठाउने नियम कार्यान्वयन गर्न शुरु भएको थियो ।

कामपा वातावरण व्यवस्थापन विभागले एक सातासम्म फोहोर वर्गीकरण गरेर घरमै व्यवस्थापन गर्न आग्रह गरिसकेको छ । आयोजनाले तीनपिप्ले–बन्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरोन्नतिको काम अघि बढाएको छ । कामपाले सडक निर्माण सँंगसँंगै साना सवारी साधन सञ्चालन गरिरहेको थियो । त्यसो हुँदा पनि काम गर्न समस्या उत्पन्न भएको भन्दै पूर्ण रुपमा निर्माणाधीन सडक बन्द गर्न कामपालाई आग्रह गरेको थियो ।

फोहोर उठाउन नसक्ने भएपछि महानगरले फोहोर व्यवस्थापन गर्न विकल्प खोजिरहेको छ । फोहोर कारखानाको सञ्चालन नै भरपर्दो विकल्प हुनसक्छ । किनभने फोहोरले भरिभराउ भएको ट्रान्सफर स्टेशनमा फोहोर राख्नसक्ने अवस्था छैन । वर्षा र थुप्रिएको फोहोरको कारण राजधानीमा फेरि हैजाको प्रकोप फैलनसक्ने आँंकलन गरिएको छ । एकदुई दिनसम्म घरमै फोहोर व्यवस्थापन भएपनि त्यसपछि के गर्ने भन्ने समस्या बल्झिएको छ । कामपा मात्रै होइन ललितपु्र महानगरपालिकालाई पनि यो समस्याले पिरोलेको छ ।

ललितपुरले केही दिनको लागि बालकुमारीस्थित वातावरण विभागको परिसरमा फोहोर व्यवस्थापन गर्ने गरेको देखिन्छ । फोहोर व्यवस्थापन समस्यालाई तत्काल समाधान गर्न तोकिएकै समयभित्र सडक निर्माण कार्य सम्पन्न गर्नुको विकल्प छैन । त्यसको लागि सबैले निगरानी गर्नुपर्छ भने फोहोरलाई उद्योगका रुपमा अघिबढाउने कारखानाको स्थापनामा पनि सक्रियता बढाउनु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्